‘मलाई बुझ्ने जीवनसाथी पाएँ’
जीवनको मोडमा अनगिन्ती साथीहरू भेटिन्छन् अनि छुटिन्छन् । तर, जीवन सँगसँगै काट्नको लागि एउटा यस्तो साथीको आवयश्कता पर्छ जो साथीले जीवनको हरेक सुख दुःखमा साथ दिन सकोस् । हाँसोमा हाँसो, आशुमा आशु झार्न सक्ने साथीको आवश्यक हरेक व्यक्तिको जीवनमा पर्छ । त्यो साथी हो जीवनसाथी । जीवनसाथी भनेको शरीरको आधा भाग या अभिन्न अङ्ग हो । यस्तै लाग्ने गर्छ युवराज शर्मालाई पनि । जीवन एक्लै काट्न सहज नभएको भन्दै शर्मा भन्छन्, ‘जीवन काट्न एक्लै गाह्रो छ, जीवनलाई सहज रूपमा बिताउनको लागि जीवनसाथीको आवश्यकता पर्छ ।’
पिता चन्द्रदेव शर्मा र माता जगतकुमारी शर्माको कोखबाट २०३५ सालमा सिम्ता गाउँपालिका सिमलगाउँमा जन्मिएका युवराज शर्माको बाल्यकाल रमाइलोसँग बित्यो । खेल्दै, पढ्दैमा बाल्यकाल बिताएका शर्मा बाल्यकालमा शान्त, धेरै कसैसँग नबोल्ने स्वभावका थिए । उनले कक्षा एकदेखि पाँचसम्म गाउँकै स्कुल भानु प्राविमा पढे । कक्षा ६ देखि ८ सम्म जनता आर्दश मावि बाँकेमा पढेका शर्माले कक्षा ९ देखि एसएलसी पास भने जीवन ज्योति मावि दशरथपुरमा पढे ।
कक्षा १२ पास भने उनले वीरेन्द्र बहुमुखी क्याम्पसबाट गरे । स्नातक पाटन संयुक्त क्याम्पस ललितपुरबाट पास गरेका शर्माले स्नातकोत्तर भने समाजशास्त्र विषयमा वीरेन्द्र बहुमुखी क्यापसबाट पास गरे । शर्माले पत्रकारिता विषयमा कान्तिपुर सीटीपुर काठमाण्डौंबाट स्नातकोत्तर गरे ।
शर्मा बाल्यकालदेखि नै सबैसँग मिलनसार स्वभावका थिए । कक्षा पाँचमा पढ्दादेखि नै उनले कविता लेख्ने गर्थे । साहित्यमा अलि बढी नै रुची भएका शर्माले स्नातक पढ्दा गजल लेख्न पनि सिके । शर्माको रुची साहित्य त्यसमा पनि पत्रकारिता पेसा झनै बढी रुचीको विषय थियो । त्यसैले उनले स्नातकोत्तरमा पत्रकारिता पढे । २०५४ सालदेखि उनी साहित्य विधाबाट पत्रकािरता पेसामा जोडिन पुगे । कविता, गीत, गजल लेख्ने उनको रुचीको विषय भएकाले उनले आफ्ना ती लेख रचनालाई पत्रिकामा छाप्ने गर्थे । कहिलेकाहीं लेख रचना लेख्ने गरे पनि व्यवसायिक रूपमा पत्रकारिता पेसामा भने उनी २०६० सालदेखि आवद्ध भए । रेडियो भेरी एफएममा उनले गजल लेख्न सिकाउने कार्यक्रम साहित्य र सिर्जना, गीत गजल कार्यक्रम सञ्चालन गर्ने गर्थे । उनले भने, ‘त्यस समयमा सुर्खेतमा गजल लेख्ने धेरै थिएनन् साहित्य र सिर्जना कार्यक्रममार्फत् धेरै गजलकारहरू जन्मिए ।’ सुर्खेतमा गजल लेख्ने सुरुवात शर्माले सञ्चालन गरेको कार्यक्रमले ग¥यो ।
तीन वर्ष रेडियो भेरीमा काम गरेका शर्माले एक वर्ष जागरण एफएममा स्टेशन म्यानेजर भएर काम गरे । चार वर्ष युग आव्हान पत्रिकाको सम्पादक भएर काम गरेका शर्माले त्यसपछि भने शिक्षक पेसामा लागे । हुन त पत्रकारिता भन्दा अघि नै उनले शिक्षण पेसामा आवद्ध भएका थिए । उनी शिक्षण पेसामा भए पनि पत्रकारिता विषयसँग नै जोडिएको आमसञ्चार तथा पत्रिकारिता विषय नै पढाए । अहिले उनी मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा नेपाल÷पत्रकारिता र आमसञ्चार विभाग प्रमुखको रूपमा छन् । त्यस्तै उनी पत्रकार महासंघको केन्द्रीय पार्षद् पनि हुन् । भेरी साहित्य समाज, गजल मञ्चको सल्लाहकार र वाङमय चौतारी नेपालको उपाध्यक्ष भएर काम गरिरहेका छन् । उनी भन्छन्, ‘शिक्षक भएर पनि पत्रकारिता विषय पढाउने भएकाले पत्रकारिता क्षेत्रबाट टाढा छैन ।’
शर्मा विश्वविद्यालयमा पढाउँथे । दशैंको समय थियो । उनको फुपुको घर दाङ थियो । ठूलोबुबाको छोरा उनको दाइको ससुराली पनि दाङ मै थियो । दशैंमा शर्मा दाइ भाउजुसँगै दाङ गए । उनलाई फुपुको घरभन्दा पहिला उनको दाइ भाउजुले आफ्नो माइतीमा टिका लगाउन लगे । दाइको ससुरालीमा टिका लगाएर फुपुको घर फर्कंदा शर्माको भेट उनको दाइकी सालीसँग भयो । त्यस समयमा दुवै जनाले एकअर्काेलाई देखे नाता के पर्छ भन्ने चिने मात्र तर, बोलचाल भने भएन । शर्मा दशैंको टिका लगाएर सुर्खेत फर्किए र आफ्नै काममा व्यस्त भए ।
केही दिनपछि शर्मालाई उनको भाउजुले जिस्याउँदै भनिन्, ‘उमेर गइसक्यो अब बिहे गर्ने हैन बाबु ?’ शर्माले केटी खोज्नुस् न हजुरले खाजेको केटीसँग बिहे गर्छु भन्ने उत्तर हाँसेर दिएका थिए । शर्मालाई लागेको थियो भाउजुले जिस्याउनु भएको होला केटी खोज्नु हुन्न भन्ने । शर्माको भाउजुले हाँसेरै भनेकी थिइन्, ‘त्यसो भए मेरो बहिनीसँग विहे गर्नु हुन्छ कुरा चलाम ?’ भाउजु जिस्कएको जस्तो मानेर शर्माले पनि चलाउनु न त भनेको थिए साँच्चिकै भाउजुले शर्माको बिहेको कुरा चलाइन् । शर्माको बिहेको कुरा चलाएको केटी अरु कोही नभएर उनको भाउजुको ठूलो बुबाको छोरी थिइन् सुनिता ।
शर्माले सुनितालाई पहिला एक पटक मात्र देखेका थिए । बिहे नै गर्छु भन्ने रूपमा सोचेका भने थिएनन् । सुनितासँग बिहेको कुरा दुवैको घरपरिवारबाट चल्यो । शर्माले सोचे बिहे गर्ने उमेर नि भएको त्यसमा पनि केटी पनि राम्रै भएकाले उनले बिहेको लागि सहमति जनाए । उता सुनिताको घरपरिवारले केटो पढे लेखेको भने छोरी दिने निर्णय गरे । शर्माको बारेमा सबैसँग बुझेर सुनिताको बिहे शर्मासँग गरिदिने निर्णय सुनिताको बुबा आमाले गरे । सुनिताले पनि बिहे भन्दा अघि शर्मालाई एक पटक मात्र देखेकी थिइन् बोलचाल भने भएको थिएन । बुबाआमाले भने पछि र केटो पनि राम्रो नै मानेर सुनिताले पनि बिहेको लागि सहमति नै जनाइन् ।
बिहेको कुरा फोनमार्फत् नै चल्यो । शर्मा फेरि केटी हेर्न भने गएनन् । बिहेको कुरा चलेको सात दिनमा नै जन्ती लिएर शर्मा सुनिताको घरमा गए । २०६८ सालमा उनीहरूको मागी विवाह भयो । दुवैले एकअर्काेलाई नजिकबाट जान्ने र चिन्ने मौका बिहेपछि नै पाए । सुनिता सुर्खेत बिहे भन्दा अघि पनि आएकी थिइन् । उनलाई सुर्खेतको ठाउँ मन पनि परेको थियो । बिहे पछि त उनको बासस्थान नै सुर्खेत भयो ।
विवाहपछि हरेक छोरीलाई बुहारी हुनु नै पर्छ । छोरी र बुहारीबीच कहीं न कतै विभिन्नता पनि हुन्छ । माइतीमा सबैको माया ममतामा हुर्किएको छोरी बिहेपछि घरमा सबैलाई माया दिएर आफ्नो बनाउनुपर्छ । माइतीमा स्वतन्त्र रूपमा हिँडेकी छोरी बिहेपछि घरबाहिर निस्किन घरमा अनुमति लिनुपर्ने यस्तै विभेद छन् छोरी र बुहारी
हुनुमा । सुनिताले पनि छोरी र बुहारी हुँदाको यस्तै अनुभव लिइन् ।
पिता युवराज धिताल र माता देवा धितालको कोखबाट २०४३ सालमा दाङमा जन्मिएकी सुनिताको बाल्यकाल रमाइलोसँग बित्यो । हाँस्दै, खेल्दै र रमाउँदैमा उनको बाल्यकाल बित्यो । शान्त र धेरै नबोल्ने स्वभावकी सुनिताले कक्षा एकदेखि एसएलसी पास दाङको बाल्ब मितिरी माविबाट गरिन् । कक्षा १२ पास भने तुल्सीपुबाट गरिन् । त्यस्तै स्नातक भने
दाङको राप्तीपुरबाट पास गरेकी सुनिताले डिग्री भने बिहे पनि अहिले मध्यपश्चिम विश्वविद्यालयमा नेपाली विषयबाट पढ्दै छिन् ।
विवाह पछिका दिनमा यो जोडीको अहिलेसम्म झगडा भएको छैन । दुवै एकअर्काेलाई विश्वास गर्ने भएकाले पनि यो जोडीको झगडा हुँदैन । जहाँ शंका उपशंकाहरू उब्जिन्छ । त्यो सम्बन्धमा मात्र झगडा हुने उनीहरूको भनाइ छ । उनीहरू भन्छन्, ‘हामी एकअर्काेलाई विश्वास गर्छौं, शंका उपशंका हामी बीचमा हुँदैन त्यसैले झगडा पनि हुँदैन ।’
बिहेपछि यो जोडी समय र फुर्सद भएसम्म घुम्न पनि जान्छन् । शर्माले सुनितालाई आफू जन्मेको गाउँ पनि घुमाए । उनीहरू एकअर्काेको प्रशंसा पनि खुलेरै गर्छन् । शर्मालाई सुनिताको सहनशीलता र आफूलाई विश्वास गर्ने बानी मनपर्ने गर्छ । कहिले काहीं सुनिताको काम गर्न थालेपछि काम नसके सम्म नबस्ने बानी भने शर्मा हटाउनुपर्ने देख्छन् । त्यस्तै सुनितालाई शर्माको जुनसुकै काम ग¥यौ भन्दा नाइ नभन्ने बानी मनपर्ने गर्छ ।
यो जोडी एकअर्काेको जन्म दिन र विवाह गरेको वर्ष त मनाउँदैनन् । तर, एकअर्काेको जन्म दिन र विवाह वर्षको दिन एकअर्काेमा गिफ्ट भने आदानप्रदान गर्ने गर्छन् । उनीहरूका अनुसार दाम्पत्य सम्बन्धलाई दिगोपना दिनको लागि एकअर्काेमा एकअर्काेमा विश्वास हुन जरुरी छ । जीवन एक्लै काट्न सकिदैंन । जीवन लामो छ त्यही जीवन सुख र रमाइलोसँग बिताउनको लागि जीवनसाथीको आवश्यकता पर्छ । उनीहरूको बुझाइमा जीवन भनेको संघर्ष हो । जो व्यक्ति संघर्षदेखि डराउँदैन त्यो व्यक्ति नै सफलतामा पुग्ने उनीहरूको भनाइ छ । उनीहरूका अनुसार जीवनसाथी भनेको एकअर्काेको परिपूरक हुन् । जसरी एउटा शरीर पूरा हुन सबै अङ्गको आवश्यकता पर्छ । जीवनलाई सहज रूपमा बिताउनको लागि पनि जीवनसाथी त्यही शरीरको आधा भाग हो, अभिन्न अङ्ग हो । जो अङ्ग विना शरीर पूर्ण हुन सक्दैन । हरेक सुख दुःख बिसाउने चौतारी हुन् जीवनसाथी ।
यो जोडीका अनुसार विवाह र प्रेम अलग कुरा हुन् । प्रेम जोसँग जा र जहिले पनि हुनसक्छ । आफ्नो बाबुआमा, दिदी बहिनी, दाजुभाइ, आफन्त, साथीभाइ लगायत आफूले प्रयोग गर्ने चिज वस्तुसँग पनि प्रेम हुन्छ । तर, विवाह भनेको एउटा सँग मात्र गरिन्छ । विवाहमा पनि प्रेम त चाहिन्छ तर, श्रीमान् श्रीमती बीचमा गरिने प्रेम र अरुलाई गरिने प्रेममा पनि फरक हुन्छ । श्रीमान् श्रीमतीसँगको प्रेम अटुट हुन्छ यो टुट्न सक्दैन । जो विश्वासमा अडिएको हुन्छ ।
उनीहरू नव युवाहरूलाई पहिला उमेर पुगेपछि मात्र विवाह गर्न सुझाव दिन्छन् । पढाई सकेर, आफ्नो खुट्टामा उभिन सक्ने भएर मात्र विवाह गर्दा राम्रो हुने उनीहरूको भनाइ छ ।
साझा बिसौनी संवाददाता ।