सडक सुधारका प्रतिवेदन मन्त्रालयमै थन्किए
सुर्खेत, १ असार ।
वर्षौंको प्रयासपछि राजमार्ग खुल्यो । कर्णालीका जिल्लामा मोटर पुगे । कर्णालीका नागरिकले गाडी चढ्न पनि पाए । गाउँमै उपभोग्य सामान पाउँदा स्थानीय बासिन्दामा खुशीको सीमा नै रहेन । तर बिडम्वना हालसम्म पनि राजमार्गको स्तरोन्नति नहुँदा यात्रुले अकालमै ज्यान गुमाउनु परेको छ ।
१० वर्ष पहिला नेपाली सेनाले खोलेको साँघुरो ट्रयाकमा नै अहिले सवारी सञ्चालन भइरहेका छन् । राजमार्गको सुधार र स्तरोन्नति नहुँदा बारम्बार सवारी दुर्घटना भइरहेका छन् । दुर्घटनापछि गठन भएका छानविन समितिले राजमार्गको अवस्था नाजुक भएको र स्तरोन्नति नहुँदासम्म सवारी सञ्चालन नगर्न धेरै प्रतिवेदन पनि बुझाए । तर ती प्रतिवेदनलाई लत्याउँदै त्यही साँघुरो ट्रयाकमा नै जबरजस्ती सवारी गुडाइएको छ । अर्कोतर्फ सडक सुधार र दुर्घटना न्यूनीकरणका लागि बुझाइएका प्रतिवेदनहरू हालसम्म पनि स्थानीय प्रशासन, विभाग र मन्त्रालयमै थन्किएका छन् ।
कर्णाली राजमार्गमा खेलाँची गरिएकै कारण यो राजमार्गको परिभाषा नै मृत्युमार्ग बन्न पुगेको छ । वर्षेनी हुने ठूला सवारी दुर्घटनाले हिजोआज सर्वसाधारण यो राजमार्गमा यात्रा गर्नसमेत डराउनुपर्ने अवस्था छ । सडकको अवस्था नाजुक भएकै कारण बुधवार मात्र दैलेख खण्डमा यात्रुबस भीरबाट खस्यो । ११ जनाले ज्यान गुमाए । सुर्खेतदेखि जुम्ला जोड्ने कर्णाली राजमार्ग सञ्चालनमा आएको करिब १० वर्ष मात्र भयो । तर यो राजमार्गमा हालसम्म साना ठूला गरी एक सय ७० वटा दुर्घटना भइसकेका छन् । जसमा दुई सय ३० जनाले ज्यान गुमाइसकेका छन् भने दुर्घटनामा दुई सय ८० जना भन्दा बढी घाइते भएको मध्यपश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयको तथ्यांक छ । सयौं नागरिकको अकालमै ज्यान गइसक्दासमेत कर्णाली राजमार्गमा खेलाँची भइरहेको छ ।
यो राजमार्गमा दुर्घटना भइरहने, दुर्घटनापछि छानविन टोली गठन हुने र छानविन टोलीले चालकको लापरबाही तथा इन्जिनको खराबीले दुर्घटना भएको भनेर प्रतिवेदन सार्वजनिक गर्ने बाहेकका अन्य काम भएका छैनन् । विभिन्न समयमा भएका अध्ययन र अनुसन्धानले समेत यो राजमार्गको अवस्था नाजुक भएको र सडकको अवस्था सुधार नहुँदासम्म गाडी चलाउन योग्य नभएको प्रतिवेदन सरकारलाई बुझाएका छन् । तर ती प्रतिवेदनहरू मन्त्रालयमै थन्किएका छन् । २०७१ मंसिरमा यो राजमार्ग अन्तर्गत सुर्खेतमा भएको बस दुर्घटनापछि छानविनका लागि प्रहरी प्रधान कार्यालयबाट तत्कालीन प्रहरी नायव महानिरीक्षक पूर्णसिंह खड्का नेतृत्वको टोलीले स्थलगत अनुगमन ग¥यो । उक्त टोलीले राजमार्गको अवस्था एकदमै नाजुक रहेको प्रतिवेदनसहित दैलेखको राकम भन्दा माथिल्लो क्षेत्रमा सडक सुधार नहुँदासम्म यात्रुबहाक सवारी चलाउन रोक्नुपर्ने सुझाव दियो ।
तर अहिले पनि त्यही सडकमा जबरजस्ती गाडी सञ्चालन भइरहेका छन् । सुर्खेतदेखि जुम्लासम्म दुई सय ३२ किलोमिटर लम्बाइ रहेको यो राजमार्गको अधिकांश भाग द्वन्द्वका बेला नेपाली सेनाले निर्माण गरेको थियो । सेनाले खोलेको ट्रयाकलाई हालसम्म पनि थप सुधार, विस्तार र मर्मत नै नगरी जबरजस्ती सञ्चालनमा ल्याइएको छ । सामान्यतया सडकको चौडाइ न्यूनतम ६ मिटर हुनुपर्ने भए पनि यो राजमार्गको अधिकांश भागमा केवल तीन मिटर मात्र चौडाइ छ । साँघुरो ट्रयाकमा जबरजस्ती गाडी चलाइएको र हालसम्म पनि सुधार नहुँदा आफूहरूले ज्यान हत्केलामा राखेर यात्रा गर्नुपर्ने बाध्यता रहेको कालिकोट रास्कोटका भरतबहादुर शाहीले बताए ।
जुम्लाबाट यात्रुबसमा सुर्खेत पुगेका जुम्ला नराकोटका श्यामलाल रोकायले भने, ‘हचुवाको भरमा सडक सञ्चालनमा ल्याइएको छ, राजमार्ग नाम दिएर के गर्नु ? साँघुरो भएकाले दोहोरो गाडी चल्न सक्ने अवस्था छैन ।’ उनले थपे, ‘अहिलेकै अवस्थामा गाडी चलाउनु भन्दा त सरकारले राजमार्ग नै बन्द गरे हुन्छ, बरु हामी पैदल हिँडेरै दिन काटौला ।
यसरी ज्यानको बाजी थापेर कहिलेसम्म यात्रा गर्ने ? अहिले त परिवारका सदस्यहरू एउटै गाडीमा यात्रा गर्न पनि डर लाग्छ ।’ विगतदेखि नै राजमार्गको गुणस्तरमा प्रश्न उठेको भए पनि मर्मत तथा सुधारको काम भने हुन सकेको छैन । कर्णाली राजमार्गमा राज्यले खेलाँची र
बेवास्ता गरेकै कारण बढी दुर्घटना भइरहेको यातायात व्यवसायीहरू बताउँछन् ।
साझा बिसौनी संवाददाता ।