तीस हजार घुससहित पक्राउ

सुर्खेत, २ असार ।
सेवाग्राहीबाट घुस लिदैं गर्दा सुर्खेतमा एक जना कर्मचारी पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सुर्खेतस्थित कार्यालयले जिल्ला मालपोत कार्यालय सुर्खेतका निमित्त प्रमुख गणेशप्रसाद आचार्यलाई उनको कार्यकक्षबाटै पक्राउ गरेको हो । सेवाग्राहीबाट घुस लिदैं गरेको तीस हजार नगदसहित आचार्यलाई रङ्गेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारको सुर्खेतस्थित कार्यालयबाट खटिएको अनुसन्धान टोलीले मालपोत कार्यालयका सूचना अधिकारीसमेत रहेका आचार्यलाई बिहीवार दिउँसो रङ्गेहात समातेको हो । घरजग्गा कारोबार अन्तर्गत जग्गा रोक्का र पास गर्ने काम गरिदिए वापत आचार्यले सेवाग्राहीसँग घुस मागेका थिए । सेवाग्राहीले घुस मागेको सूचना दिएपछि अख्तियारले छापा मारेको हो । सोहीक्रममा घुस लिदैं गरेका आचार्यलाई तीस हजार नगदसहित उनको कार्यकक्षमै समातिएको अख्तियारले जानकारी दिएको छ ।
अख्तियारको सुर्खेतस्थित कार्यालयका निमित्त प्रमुख जंगबहादुर डाँगीले आचार्यलाई घुससहित रङ्गेहात समातिएको जानकारी दिए । उनका अनुसार नियन्त्रणमा रहेका आचार्यमाथि थप अनुसन्धान भइरहेको छ । रङ्गेहात पक्राउ परेका आचार्यमाथि अनुसन्धान भइरहेको र आफूहरूले थप प्रमाण संकलनको काम गरिरहेको डाँगीले बताए । प्रमाण संकलन र कागजपत्र पूरा भएपछि आचार्यविरुद्ध मुद्दा दायर गर्ने अख्तियारले जनाएको छ ।

प्रकाशित मितिः   २ असार २०७४, शुक्रबार ११:१६