दैलेखमा यात्रुबस भीरबाट खस्यो

सुर्खेत, १ असार ।
कर्णाली राजमार्ग अन्तर्गत दैलेखमा यात्रुबस दुर्घटना हुँदा ११ जनाको ज्यान गएको छ । दुर्घटनामा १९ जना यात्रु घाइते भएका छन् । कालिकोटको जितेगडाबाट कञ्चनपुरको महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको ना ४ ख २९९८ नम्बरको यात्रु बस बुधवार दिउँसो साढे तीन बजे भीरबाट खसेको हो ।


उक्त यात्रुबस सडकबाट करिब तीन सय मिटर तल कर्णाली नदीको किनारमा खसेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । दुर्घटनामा परी १० जनाको घटनास्थलमै ज्यान गएको थियो । यस्तै एक महिलाको भने स्थानीय मेडिकलमा उपचार गर्दागर्दै ज्यान गएको हो । भीरबाट खसेको उक्त बस टुक्राटुक्रा बनेको छ । मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतका अनुसार दुर्घटनामा सात जना पुरुष, तीन जना महिला र एक बालिकाको ज्यान गएको छ ।
यस्तै दुर्घटनामा घाइते भएका १९ जनाको उद्धार गरिएको मध्यपश्चिमका प्रहरी प्रमुख डीआईजी विजयलाल कायस्थले जानकारी दिनुभयो । उहाँका अनुसार दुई जना गम्भीर घाइतेलाई बुधवार साँझ हेलिकोप्टरमार्फत थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा लगिएको छ । हेलिकोप्टर सानो भएको र अर्को हेलिकोप्टर पठाउन सम्भव नभएपछि गम्भीर घाइते भएका बाँकी सात जनालाई भने बुधवार नै एम्बुलेन्सबाट कोहलपुर लगिएको हो । अन्य घाइतेहरूको स्थानीय मेडिकल र स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठबीस नगरपालिका वडा नम्बर–४ नैन्यालथान नजिक बस भीरबाट खसेको थियो । दुर्घटनापछि इलाका प्रहरी कार्यालय राकमकर्णालीबाट पुगेको प्रहरी र स्थानीय बासिन्दाले उद्धार गरेका थिए । यस्तै सदरमुकामबाट प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी र डीएसपी केदार रजौरेसहितको टोली बुधवार नै घटनास्थलमा पुगेको थियो । घाइतेहरूको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरिएको थियो । स्थानीय बासिन्दाका अनुसार बसका चालक र सह–चालकले भने हाम फालेर ज्यान जोगाएका थिए । उनीहरू दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको वास्तविक कारण खुलेको छैन । यद्यपि भार थेग्न नसकेर चालकले नियन्त्रण गुमाएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । बसमा ३२ जना यात्रु सवार थिए ।
प्रहरीका अनुसार दुर्घटनामा अछाम भैरवस्थानका २५ वर्षीय धिरेन्द्र बिसी, विनायक नगरपालिका घर भएकी ३१ वर्षीया सिंहा नेपाली र उनकी १० वर्षीया छोरी रूपा नेपालीको ज्यान गएको छ । यस्तै दुर्घटनामा कालिकोटको रास्कोट नगरपालिका वडा नम्बर ६ का ४० वर्षीय युवराज शाही, वडा नम्बर ५ का २५ वर्षीय धर्मराज शाही, २३ वर्षीय प्रकाश शाही र २१ वर्षीय कविता शाहीको पनि ज्यान गएको प्रहरीले जनाएको छ । यस्तै कालिकोटकै सान्नीत्रिवेणी गाउँपालिका घर भएका २५ वर्षीय सुनिल शाहीको पनि दुर्घटनामा ज्यान गएको छ । मृत्यु भएका तीन जनाको भने सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक एकेन्द्र खड्काले जानकारी दिए । दुर्घटना भएको घण्टौंसम्म पनि उद्धार नभएको र हेलिकोप्टरको व्यवस्था नभएको भन्दै स्थानीयले आक्रोश पोखेका छन् । दुर्घटनाको तीन घण्टापछि पुगेको हेलिकोप्टरले पनि दुई जनाको मात्र उद्धार गरेको थियो ।
बारम्बार दुर्घटना हुँदा मृत्युमार्गको रूपमा परिभाषित कर्णाली राजमार्गमा पछिल्लो दुई वर्षमा भने ठूला दुर्घटना भएका थिएनन् । यही राजमार्गमा
साढे दुई वर्ष पहिले सुर्खेतको पोखरीकाँडामा यात्रुबस भीरबाट खस्दा दुई दर्जन यात्रुको ज्यान गएको थियो । उक्त दुर्घटनापछि यो राजमार्गमा रात्री बस सञ्चालनमा रोक लगाइएको छ । यस्तै प्रहरीले यात्रुबसमा टाईमकार्डसमेत लागू गरेको थियो । चेकजाँचमा कडाइ हुँदा साढे दु्ई वर्षको अवधिमा यो राजमार्गमा ठूला दुर्घटना भएका थिएनन् । तर पछिल्लो समय चेकजाँचमा कडाइ हुन छोडेपछि बुधवार पुनः यो राजमार्गमा ११ जनाको ज्यान जाने गरी दुर्घटना हुन पुगेको स्थानीयको भनाइ छ ।

प्रकाशित मितिः   १ असार २०७४, बिहीबार १७:१५