‘जनतालाई सँगै लिएर नमुना वडा बनाउनेछु’

स्थानीय तहमा करिब २० वर्षपछि नयाँ जनप्रतिनिधि आएका छन् । लामो समयपछि जनताले पनि अभिभावक पाएको महसुस गरेका छन् । जनप्रतिनिधिसँग विकासको अपेक्षासँगै सामाजिक कुरितीको अन्त्य र सुधारका योजनाहरू जनताले अपेक्षा गरिरहेका छन् । निर्वाचित भएको एक महिना पुग्नै लाग्दा जनप्रतिनिधिले कस्तो अनुभूति गरिरहेका छन् ? जनताको अपेक्षा कस्तो रहेको छ ? जनप्रनिधिका आगामी योजना के छन् ? यही विषयमा केन्द्रित रहेर सहकर्मी मुना हमालले वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ४ का अध्यक्ष निलकण्ठ खनालसँग अन्तरसम्वाद गरेकी छन् । प्रस्तुत छ, कुराकानीको सारांशः

वडा अध्यक्षमा निर्वाचित भइसकेपछि कस्तो लागिरहेको छ ?
वडा अध्यक्षमा निर्वाचित हुँदा जनताले मलाई अभिभावक महसुुस गरे भन्ने लागेको छ । २०५४ सालमा भएको निर्वाचनमा पनि म वडा सदस्य थिए । २० वर्षपछि पनि त्यही वडामा वडा अध्यक्षमा पार्टीले विश्वास मानेर उम्मेदवारी दियो र जनताहरूले पनि विश्वास मानेर धेरै मत दिइ विजयी गराउनुभयो । जनताले पनि अभिभावक खोजेको र मैले पनि अपनत्व महसुस गरेको छु । म जनताको अभिभावक हुँ, अब मैले जनताकै लागि केही गर्नुपर्छ भन्ने लागेको छ ।
निर्वाचन भएपछि आजको दिनसम्म वडामा केही काम गर्नु भयो कि ?
अहिले मैले भेटघाटको काम सुरु गरेको छु । ज्येष्ठ नागरिकहरूसँग, त्यसैगरी त्यहाँ समुदायसँग भेट्ने उहाँहरूको समस्या बुझ्ने गरेको छु । वडामा हुने झै–झगडा मिलाइ दिनुप¥यो भनेर आउनु हुन्छ । मैले त्यसमा सहजीकरण गर्ने काम गरेको छु । अहिले वडाका कामहरू नगरपालिकामा भएका छन् । सरकारले वडा कार्यालय सञ्चालनका लागि व्यवस्था मिलाएपछि साउन १ गतेबाट वडामा गर्नेछौं । हामीले भर्खरै मात्र नगरकार्यपालिकाको बैठकबाट केही महŒवपूर्ण निर्णय पनि गरेका छौं । यसै अनुसार हामीले काम गर्नेछौं ।
चुनाव अघि यहाँले मतदाताको बीचमा गरेका प्रतिबद्धता सम्झनामा छन् ?
छ, मैले चुनाव अघि जनताको माझमा जाँदा केही प्रतिबद्धता जाहेर गरेको थिए । वडा नम्बर ४ खोर्केखोलाबाट प्रभावित हुने क्षेत्र छ । त्यसका लागि दीर्घकालीन योजना गराएर खोलामा तटबन्धन गराउने, वडामा रहेका सुकुम्बासीहरूलाई जग्गाको मालिक बनाउने प्रतिबद्धता गरेको थिए । थोरै भए पनि आफ्नो जग्गा छ भन्ने अनुभूति दिलाउने मेरो प्रतिबद्धता थियो । त्यस्तै छैठौं प्रदेश स्थापनाको माग गर्दै भएको आन्दोलनमा साधक प्राप्त गरेका सहिदहरूको सम्झनामा उहाँहरूको सम्मानका लागि वडा नम्बर ४ मा सहिदबाटिका निर्माण गर्ने कुरा मैले जनताको माझमा राखेको थिए । त्यस्तै वडामा जथाभावी बाटोको प्लानिङ्ग भएको छ । यसलाई रोक्ने र व्यवस्थित गर्ने, जथाभावी प्लटिङ्ग गर्ने कार्य रोक्ने मैले प्रतिबद्धता गरेको थिए ।
यस्तै वडा नम्बर ४ का बासिन्दाले स्वच्छ खानेपानी पाएका छैन् । मैले प्रशोधन गरेर खानेपानी वितरण गर्ने, शैक्षिक क्षेत्रका लागि वडा नम्बर ४ मा रहेका भैरव मावि र छवि निमावि दुई वटा विद्यालयलाई स्तरोन्नति गराउने । छोराछोरी कहाँ पढाउने भन्दा सरकारी स्कुलमा पढाउने र त्यसमाथि पनि कहाँ पढाउने भन्दा सरकारी विद्यालयमा पढाउने भन्ने सोचको विकास गराउने मेरो प्रतिबद्धता थियो । दलित बस्ती न्यून आय भएका बेरोजगारी छन् । कम्तीमा पनि एसएलसी पास गरेपछि केही गर्न सकुन् । रोजगारी बनाउने मैले प्रतिबद्धता व्यक्त गरेको थिएँ ।
यहाँको वडाका जनताले अबको तीन महिना भित्रमा नयाँ के अनुभूति गर्न पाउँलान् ?
अबको तीन महिनामा जनताले वडाबाट पाउने सेवा सुविधाहरू छिटो छरितो पाउनेछन् । अर्को कुरा त्यहाँ भएका ज्येष्ठ नागरिकहरूसँग, त्यहाँका जनतासँग डे टू डे भेट्ने र उहाँको समस्या सुन्ने र समधानतर्फ लाग्ने जसले गर्दा हामीले चुनेको जनप्रतिनिधिले हाम्रा समस्याहरूको समाधानप्रति लागेछ भन्ने अनुभूति दिलाउनेछु । सामाजिक सुरक्षा भत्ता ज्येष्ठ नागरिकलाई घरमै गएर वितरण गरिनेछ । अबको तीन महिनाभित्रमा प्रशोधन गरेको खानेपानी पाउनेछन् । यसका लागि खोर्केखोलामा काम सुरु भएको छ । अर्को तत्काललै यरीचौकदेखि रेडियो नेपालसम्मको सडकसम्म डुबान हुन्छ र यसै बर्खादेखि नै हामी अब डुबानमा छैनौ भन्ने अनुभूति गराउने कुरामा सम्बन्धित निकायसँग पहल गर्नेछु ।
यहाँले आफ्नो वडामा मुख्य के–के समस्या औंल्याउनु भएको छ नि ?
वडा नम्बर ४ मा मुख्य खानेपानीको समस्या छ । बाटोको समस्या छ । अर्को हिजो बनेका बाटोहरू अहिले जीर्ण अवस्थामा छन् । क्षेत्रीय अस्पताल जाने बाटो वडा नम्बर ४ बाट हुँदै जान्छ । बाटो राम्रो नहुँदा आरामसँग बिरामी लैजान समस्या छ । त्यस्तै यो समाजमा जटिल समस्याको रूपमा देखापरेको लागू औषध र मदिरा प्रयोग बढी छ । जाँड रक्सी खाने साँझ घरमा गएर झगडा गर्ने समस्याले गर्दा बालबालिका पीडित छन् ।
ती समस्यालाई समाधान गर्न यहाँका योजना के छन् ?
यी समस्यालाई समाधान गर्नका लागि म वडा अध्यक्ष नहुँदा पनि पहल गरिरहेको थिएँ । अहिले पनि लाग्नेछु । मदिरा र लागू औषधलाई नियन्त्रण गर्न सकियो भने समाजमा हुने घरेलु हिंसा, विभिन्न विकृतिहरू हटाउन सकिन्छ । यसका लागि आवश्यक कानुन बनाउन पहल गर्नेछौं । मैले यिनी समस्याहरूलाई नगर परिषद्मा एजेण्डाका रूपमा लैजानेछु र आफ्नो वडामा भएका समस्याहरू समधानका लागि जनताहरूलाई पनि सँगै सहभागी बनाउनेछु । आफूले घर बनाउँदा बाटो अथवा नाली बिग्रेको छ भने त्यो बनाउने जिम्मा स्थानीय निकायको मात्र होइन हामीको पनि हो भन्ने भावना जनतामा जगाउनेछु ।
अबको पाँच वर्षभित्र कस्तो वडा बनाउने परिकल्पना गर्नुभएको छ ?
वडालाई कस्तो बनाउने भन्ने परिकल्पना मैले मात्र गरेको छैन् । सबैले गर्नुभएको छ । निर्वाचनमा हार्ने र जित्ने सँगै रहेछन् भन्ने कुरा अनुभूति दिलाउनेछु । वडामा हुने राम्रा काममा सबैलाई सहभागी हुनुपर्छ भन्ने भावनाको विकास गर्न जरुरी छ । जनतामा हाम्रो भोट गलत ठाउँ हालेछौं कि भन्ने गराउने छैन । सरसफाइ र हरियाली, फोहोर व्यवस्थापनका कारणले अरु भन्दा वडा नम्बर ४ ठीक छ, राम्रो छ है भन्ने लायक बनाउनेछु ।
तपाईं निर्वाचित भइसकेपछि जनताले के अपेक्षा गरिरहेका छन्, के भन्छन् ?
कहिलेदेखि कार्यालय सञ्चालन गरेर वडामा नै बस्नुहुन्छ भनेर सोध्नुहुन्छ । स्वास्थ्य, शिक्षा, वन, बाटोको विषयमा अपेक्षा गर्नुभएको छ । अर्को लामो समयदेखि वडामा बनेका बाटोहरू बन्द थिए । ती बाटाहरू खुलाउन आग्रह गर्नुभएको छ । जग्गाको समस्या छन् । त्यसको समाधान गरिदिनुस् भन्नुभएको छ । मैले त्यसै अनुसार पहल पनि गरेको छु । म फेरि नयाँ मान्छे पनि होइन ५४ सालमा पनि जनप्रतिनिधि भएर काम गरेको छु । के समस्या छन् भन्ने कुरा हामी सबैलाई थाहा छ । सबैले मिलेर गर्नुपर्छ । मैले कुनै पनि काम गर्दा सबैलाई सहभागी गराएर गर्नेछु ।
वडाका जनताबाट यहाँले चाहिँ के अपेक्षा गर्नुभएको छ ?
मैले एक्लै योजना बनाउने होइन । हामीले साझा योजना बनाउनुपर्छ । उहाँहरूको सक्रिय सहभागिताको आशा गरेको छु । राम्रो योजना सबै मिलेर गरायौं भने कार्यान्वयन गर्न पनि सजिलो हुन्छ । स्थानीय तहको कार्ययोजना बनाउन सबैको साथ हुन जरुरी छ । त्यसले मात्र अपनत्व हुन्छ ।
अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
साझा बिसौनी दैनिकको टिमलाई धन्यवाद दिन चाहन्छु । मैले चुनावअघि जनताको माझमा प्रस्तुत गरेका प्रतिबद्धता र जनताले अपेक्षा गर्नुभएका विषयमा साक्षात्कार गराउने मौका दिनुभयो । मैले जनताको विश्वासलाई आत्मसात् गर्दै अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु ।

 

प्रकाशित मितिः   १ असार २०७४, बिहीबार १६:४६