स्वार्थको चंगुलमा विश्वविद्यालय
सुर्खेत, ३१ जेठ ।
करिब १५ वर्षसम्म सुर्खेतमा विश्वविद्यालय माग्दै आन्दोलन चल्यो । स्थानीयले सडक संघर्ष मात्र गरेनन्, बन्द र हड्तालसमेत गरे । सरकारले सुनुवाइ नगर्दा स्थानीय जनता आफै आर्थिक संकलनमा जुटे । विश्वविद्यालयको सपना पूरा गर्न यस क्षेत्रका नागरिकले आफ्नो छाक कटाएरै रकम जम्मा गरे । जनताको तत्परता र संघर्षसामु बाध्य हुँदै तत्कालीन सरकारले २०६७ असारमा सुर्खेतमा विश्वविद्यालय स्थापनाको घोषणा ग¥यो ।
सुरुवातमा सबैको एउटा मात्र स्वार्थ थियो, सुर्खेतमा कुनै पनि हालतमा विश्वविद्यालय स्थापना गरेर सर्वसुलभ रूपमा उच्च शिक्षा प्रदान गर्ने । सबैका स्वार्थ मिल्दा विश्वविद्यालय स्थापना गर्न पनि सहज भयो । तर स्थापना भइसकेपछि भने स्वार्थहरू बाझिन पुगेका छन् । जसको परिणाम विश्वविद्यालयले अपेक्षा अनुसारको गति लिन सकेको छैन । स्थापना भएको आठ वर्षसम्म पनि यो विश्वविद्यालय राम्रोसँग तंग्रिन सकेको छैन । आन्दोलनको बलमा स्थापित यो विश्वविद्यालयमा बारम्बार तालाबन्दी र हड्ताल हुनेक्रम रोकिएको छैन । यसले विश्वविद्यालयको छविमा नै आँच आउन थालेको भन्दै चिन्ता गर्न थालिएको छ ।
पछिल्लो समय विभिन्न माग राख्दै केही विद्यार्थी संगठनहरूले सोमवार विश्वविद्यालयमा तालाबन्दी गरे । विश्वविद्यालयका पदाधिकारीले आफूखुशी आंगिक क्याम्पस स्वीकृत गर्न थालेको र निजी संस्थालाई सम्बन्धन दिन थालेकाले तालाबन्दी गरिएको विद्यार्थी संगठनहरूको दाबी छ । तर अनावश्यक माग राख्दै विश्वविद्यालयको विस्तारमा अवरोध गर्ने स्वार्थले आन्दोलन गरिएको भन्दै विश्वविद्यालयका विद्यार्थीहरूले नै मंगलवार संगठनले लगाएको ताला फोडिदिएका छन् । केन्द्रीय कार्यालय, विस्तारित कार्यालय र क्याम्पस प्रमुखका कार्यालयमा लगाइएका ताला विद्यार्थीहरूले फोडिदिएपछि विश्वविद्यालयमा थप टकराव उत्पन्न भएको हो ।
स्थापनाकालदेखि नै यो विश्वविद्यालय विभिन्न व्यक्ति, समूह र संगठनहरूको स्वार्थको चंगुलमा फस्दै आएको छ । स्थापनाकालका पदाधिकारीहरू भ्रष्टाचारको आरोपमा निलम्बनमा परेपछि थला परेको यो विश्वविद्यालय अहिले पनि तंग्रिन सकेको छैन । प्राध्यापक, शिक्षक र कर्मचारीहरूले स्थायित्वको माग गर्दै बारम्बार विश्वविद्यालयमा हड्ताल गर्दै आएका छन् । विभिन्न शैक्षिक माग राखेर विद्यार्थी संगठनहरूले बारम्बार तालाबन्दी गर्ने गरेका छन् । अर्कोतर्फ पूरा गर्न नसकिने माग राखेर विश्वविद्यालयमा पूर्वाग्रही रूपमा आन्दोलन हुँदा विश्वविद्यालयको विकासमा नै अवरोध गर्न खोजिएको पदाधिकारीहरू बताउँछन् । रजिस्ट्रार डा. महेन्द्रकुमार मल्लले भने, ‘जायज माग पूरा गर्दै आएका छौं, शैक्षिक मागमा छलफल गर्न पनि तयार छौं । तर कसैका व्यक्तिगत स्वार्थ पूरा गर्न सकिदैंन, पूर्वाग्रह राखेर आन्दोलनका नाममा विश्वविद्यालयको समग्र विकासमा नै अवरोध गर्न खोजिदैछ ।’
अहिले प्रथम दीक्षान्त समारोहको तयारी भइरहेका बेला विश्वविद्यालयमा विद्यार्थी संगठनले आन्दोलन थालेका छन् । ‘यो आन्दोलनको उपयुक्त समय होइन, तालाबन्दीले निकास दिँदैन’ विश्वविद्यालयका स्ववियु अध्यक्ष झक्कबहादुर शाहीले भने, ‘विद्यार्थीका शैक्षिक मागमा स्ववियु लड्न तयार छ, तर अहिले संगठनलाई देखाएर व्यक्तिगत स्वार्थ पूरा गर्न खोजिएको छ । यसमा हाम्रो समर्थन हुन सक्दैन, छलफल र वार्तामार्फत् समस्या समाधान गरेर विश्वविद्यालयको स्थायीत्वमा
लागौं ।’ दुःख गरेर स्थापना भएको विश्वविद्यालयलाई हतियार बनाएर आफ्ना स्वार्थ
पूरा गर्न खोज्नेहरू सक्रिय रहेको भन्दै उनले यसले विश्वविद्यालयको साख कमजोर हुने उल्लेख गरे । बारम्बारका आन्दोलनले विश्वविद्यालयको साख पनि खस्कदैं गएको भन्दै चन्दादाता र संस्थापकहरूले पनि चिन्ता व्यक्त गरेका छन् ।
तालाबन्दी र आन्दोलनले समस्या समाधान नहुने भन्दै अनेरास्ववियुले आन्दोलनमा आफ्नो सहभागिता नरहेको जनाएको छ । अनेरास्ववियु सुर्खेतका अध्यक्ष प्रेम खड्काले भने, ‘हामी अहिलेको आन्दोलनमा सामेल छैनौं, तालाबन्दीले विश्वविद्यालयको हित गर्दैन । मुद्दामा बहस गर्न सकिन्छ, तर कसैको स्वार्थ पूरा गर्न संगठन सहभागी हुँदैन ।’ उनले विश्वविद्यालय र विद्यार्थीको हितका लागि सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गरे । विगतमा भएको सम्झौता अनुसार काम गर्नसमेत उनले पदाधिकारीहरूलाई आग्रह गरे । आन्दोलनकै विषयमा नेविसंघभित्र तीव्र विवाद भएको छ । कांग्रेस सभापति देउवा पक्षले अहिले आन्दोलनको कुनै औचित्य नभएको भन्दै आन्दोलनमा सहभागी नहुने र विश्वविद्यालयको विकासमा सहयोग गर्ने जनाएको छ ।
तर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भने आन्दोलन जायज भएको भन्दै माग पूरा गर्न भनेको छ । विद्यार्थी संगठनभित्रको गुटगत टकराव पनि विश्वविद्यालयमा पोखिएको छ । यही विश्वविद्यालयको विषयलाई लिएर नेविसंघ केन्द्रबाट पनि मंगलवार आन्दोलनको पक्ष र विपक्षमा छुट्टाछुट्टै विज्ञप्ती सार्वजनिक भएका छन् । गुटगत टकराव र व्यक्तिगत स्वार्थका कारण तालाबन्दी गरिएको भन्दै विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूले आफूहरूले ताला फोडिदिएको बताए । साथै उनीहरूले विद्यार्थी संगठनहरू शैक्षिक मागमा भन्दा पनि राजनीतिक पूर्वाग्रहमा लागेर आन्दोलनमा जुटेको आरोप लगाए । यता आन्दोलनरत अनेरास्ववियु क्रान्तिकारी सुर्खेतका अध्यक्ष महेश जिसीले माग पूरा नहुँदासम्म आन्दोलन जारी रहने बताए । निजी संस्थालाई सम्बन्धन दिएर पदाधिकारीहरू व्यापारमा लागेको भन्दै उनले यसलाई रोक्न आन्दोलनमा उत्रिएको दाबी गरे । विभिन्न माग राख्दै विभिन्न विद्यार्थी संगठनहरू सोमवारबाट आन्दोलनमा उत्रिएका छन् ।
यसैबीच विश्वविद्यालयका पदाधिकारीहरूको बैठकले वार्ता र संवादमा आउन आन्दोलनरत विद्यार्थी संगठनहरूलाई आग्रह गरेको छ । मंगलवार सम्पन्न बैठकले विश्वविद्यालयको विस्तार विकासका लागि साझा दृष्टिकोण बनाउन बृहत छलफल आयोजना गर्ने निर्णय गरेको हो । व्यवस्थापन संकायका डीन डा. मस्तबहादुर गरञ्जाको संयोजकत्वमा वार्ता टोलि गठन भएको भन्दै विश्वविद्यालयले स्ववियुमार्फत् पनि संवादको प्रयास भइरहेको जनाएको छ ।
साझा बिसौनी संवाददाता ।