पुरानै प्रवृत्ति

जेन–जी आन्दोलनपछि मुलुककै राजनीतिक दिशा परिवर्तन भयो । गत फागुनमा भएको निर्वाचनले अकल्पनीय नतिजा दियो । नेपाली राजनीतिका परम्परागत र ठूला शक्तिहरू कमजोर सावित भए । नयाँ राजनीतिक शक्तिको उदय भयो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झण्डै दुई तिहाइको जनमत पाएर एकल सरकार चलाइरहेको छ । तर चुनावी नतिजामा पछारिएका पुराना दल भने अझै पनि पुरानै प्रवृत्तिबाट बाहिर निस्किन सकिरहेका छैनन् । भागबण्डा र सत्तास्वार्थको राजनीतिकै वरीपरी घुमिरहेका छन् । जसको पछिल्लो दृष्टान्त हो, कर्णाली प्रदेश सरकार फेरबदलका लागि भएको कसरत ।

कर्णाली प्रदेशमा नेकपा (एमाले) र नेपाली कांग्रेसबीचको सत्ता साझेदारी संकटमा परेको छ । गठबन्धनमा खटपट सिर्जना भएपछि नेपाली कांग्रेस सरकारबाट बाहिरिएको छ । कांग्रेसबाट सरकारमा सहभागी चार जना मन्त्रीले सामुहिक राजीनामा दिएका छन् । आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाह, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले बुधवार बिहान संयुक्त रूपमा राजीनामा दिएका हुन् । कांग्रेस–एमाले गठबन्धनले सरकार बनाएपछि उनीहरू २०८१ साउनमा मन्त्री बनेका थिए । पछिल्लो समय दुई दलबीच सरकार सञ्चालनको विषयमा मतभेद देखिएको थियो । अहिले सरकारको नेतृत्व गरिरहेको एमालेले पालैपालो सरकारको नेतृत्व गर्ने पूर्वसहमति कार्यान्वयन नगरेको भन्दै कांग्रेस चिढिएको हो । कांग्रेस सरकारको नेतृत्व हस्तान्तरण गर्न एमालेलाई आग्रह गर्दै आएको थियो । तर मुख्यमन्त्री यामलाल कँडेल तत्काल सरकार छोड्न तयार नभएपछि राजीनामा दिनु परेको कांग्रेस नेताहरूको भनाइ छ । मन्त्रीहरूले राजीनामा दिएपनि कांग्रेसले कँडेल नेतृत्वको सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन । त्यसैले पनि सरकार परिवर्तनका लागि दबाब सिर्जना गर्न राजीनामा दिएको बताइएको छ ।

नेताहरूकाअनुसार कांग्रेसका मन्त्रीको राजीनामा एक्कासी आएको होइन । बजेट ल्याइनुभन्दा पूर्व नै राजीनामा गर्न भनिएको थियो । आर्थिक वर्ष २०८३÷०८४ को बजेट ल्याउनुअघि नै कांग्रेसबाट सरकारमा सहभागी मन्त्री हटाइनुपर्ने र नयाँ पठाइनुपर्ने चर्चा दलभित्र उठेको थियो । यद्यपि, बजेट ल्याइसकेपछि मन्त्रीहरू बाहिरिएका छन् । मन्त्रीहरूको राजीनामासँगै कर्णालीमा कांग्रेस–एमाले गठबन्धन टुटेको चर्चा गरिएको छ । यद्यपि, अहिलेसम्म दुवै दलका नेताहरूले सहकार्य कायमै रहेको बताएका छन् । त्यसो त मन्त्रीहरूले राजीनामा दिए पनि सरकारलाई दिएको समर्थन भने कांग्रेसले यथावत् नै राखेको छ । यो घटनाक्रमले कांग्रेस र एमालेजस्ता पुराना दलहरू अहिले पनि पुरानै राजनीतिक व्यवहार र चरित्रबाट उम्किन नसकेको देखाउँछ । जसकोविरुद्ध नागरिक सडकमा उत्रिएर उनीहरूकै सत्तापरिवर्तन गरिदिएका थिए ।

प्रकाशित मितिः   १ श्रावण २०८३, शुक्रबार ०९:३८