उद्यम सहायता कक्ष उद्घाटन

सुर्खेत: सुर्खेत उद्योग वाणिज्य संघ र वीरेन्द्रनगर नगरपालिकाको लागत साझेदारीमा सञ्चालित व्यवसाय प्रवद्र्धन कार्यक्रमअन्तर्गत स्थापना गरिएको साना तथा मझौला उद्यम सहायता कक्ष तथा एकल सेवा केन्द्रको उद्घाटन गरिएको छ । संघका अध्यक्ष हर्षविक्रम खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले सेवा केन्द्रको औपचारिक उद्घाटन गरेकी हुन् ।
उद्घाटन समारोहमा वीरेन्द्रनगर नगरपालिकाको सहयोगमा सञ्चालन गरिएको उत्पादकत्व अभिवृद्धिका लागि कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोगसम्बन्धी तालिममा सहभागीहरूले कृत्रिम बुद्धिमत्ताको प्रयोग गरी तयार गरेका भिडियोहरू प्रदर्शन गरिएको थियो । साथै, नवस्थापित साना तथा मझौला उद्यम सहायता कक्ष तथा एकल सेवा केन्द्रमार्फत प्रदान गरिने सेवा, उद्देश्य तथा आगामी गतिविधिबारे विस्तृत जानकारी गराइएको थियो ।
सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष खड्काले सहायता कक्षमार्फत उद्यमी तथा व्यवसायीहरूलाई उद्योग तथा व्यवसाय दर्ता प्रक्रियामा सहजीकरण, अनलाइनमार्फत आवेदन भर्ने सेवा, स्थानीय, प्रदेश तथा संघीय सरकारले लिने करसम्बन्धी परामर्श, व्यावसायिक साक्षरता अभिवृद्धि, उद्यमशीलता प्रवद्र्धन तथा तीव्र विकास कार्यक्रम सञ्चालन तथा नवीन व्यावसायिक अवधारणाहरूलाई व्यवसायमा रूपान्तरण गर्न आवश्यक मार्गदर्शन तथा संरक्षण गरिने जानकारी दिए ।
एकल सेवा केन्द्रमार्फत् स्थायी लेखा नम्बर (प्यान) दर्ता सहजीकरण, कर विवरण तथा लेखापरीक्षण सम्बन्धी सेवा, निःशुल्क कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहजीकरण, बैंक तथा वित्तीय संस्था र विभिन्न अनुदानदाता निकायका लागि आर्थिक तथा परियोजना प्रस्ताव तयार गर्ने सेवा, साथै भारतलगायत तेस्रो मुलुकमा स्थानीय रूपमा उत्पादित वस्तु निर्यातका लागि आवश्यक उत्पत्तिको प्रमाणपत्र प्राप्त गर्न सहजीकरण लगायतका सम्पूर्ण सेवा एकै स्थानबाट निःशुल्क उपलब्ध गराइने जनाइएको छ ।
नगर प्रमुख ढकालले निजी क्षेत्रबाट सञ्चालन गरिएको यस्तो पहल अत्यन्त प्रशंसनीय रहेको बताउँदै यस्ता कार्यक्रमहरूले व्यवसायीहरूलाई एउटै स्थानबाट सहज रूपमा सेवा प्राप्त हुने विश्वास व्यक्त गरिन् । उनले उद्योग वाणिज्य संघले व्यवसायीहरूको हितका लागि अझ प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गर्दै यस अभियानलाई निरन्तरता दिन वीरेन्द्रनगर नगरपालिकाले आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाइन् ।
प्रकाशित मितिः २७ असार २०८३, शनिबार १६:०४
साझा बिसौनी ।