विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सुर्खेत: नेपाल बैंक लिमिटेड सुर्खेत शाखाले विद्यार्थीहरूलाई शैक्षिक सामग्रीसहित झोला वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत वीरेन्द्रनगर–१० दिपनगरमा रहेको मंगलगढी प्राथमिक विद्यालयमा अध्ययनर विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
शैक्षिक सामग्री वितरण कार्यक्रममा बैंकका शाखा प्रबन्धक गायत्री भट्टराईले विगतदेखि नै बैंकले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको बताए । नेपालको पहिलो बैंक भएको नाताले पनि सामाजिक कार्यमा नेपाल बैंक सदैव अगाडि रहेको उनको भनाइ थियो । विद्यालयका एक सय १६ जना विद्यार्थीहरूलाई झोला र अन्य शैक्षिक सामग्री वितरण गर्नुका साथसाथै वित्तीय जनचेतनामूलक कार्यक्रम समेत गरिएको थियो ।
उक्त कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका वडा नं. १० का अध्यक्ष डिलबहादुर रखालले नेपाल बैंकबाट अन्य बैंक तथा संघसंस्थाले समेत सामाजिक उत्तरदायित्व सिक्न जरुरी रहेको उल्लेख गरे ।
बाल विकासदेखि कक्षा ५ सम्म अध्ययन हुने उक्त विद्यालयमा दलित सशक्तिकरण केन्द्र नेपालको आयोजना तथा नेपाल बैंक लिमिटेडको आर्थिक सहयोगमा झोला र शैक्षिक सामग्रीहरू वितरण गरिएको हो । विद्यालयका प्रधानाध्यापक हितकुमारी खड्काले दलित, जनजाति, विपन्न वर्गका विद्यार्थीहरू अध्ययनरत विद्यालयले आधारभूत शिक्षाबाट कसैलाई पनि वञ्चित नगराउन विभिन्न संघ संस्थाहरूको सहयोगमा शैक्षिक सामग्रीहरू जुटाइरहेको बताइन् ।
कार्यक्रममा नेपाल बैंक लिमिटेड कर्णाली प्रादेशिक कार्यालय सुर्खेतका उपप्रबन्धक बालाराज बुढा, विद्यालय अविभावक संघका अध्यक्ष पदमबहादुर चलाउनेका साथै आयोजक संस्थाका प्रतिनिधि लक्ष्मी विकको समेत उपस्थिति रहेको थियो ।


साझा बिसौनी ।