पूर्वतयारीमा कमजोरी

कर्णाली प्रदेशमा बर्सेनि प्राकृतिक विपद्बाट ठूलो धनजनको क्षति हुन्छ । त्यसमाथि सवारी दुर्घटनाले पनि कर्णालीलाई उत्तिकै सताइरहन्छ । प्राकृतिक विपद्मा होस् या सडक दुर्घटनामा हुने क्षति न्यूनीकरणका लागि राज्यको पूर्वतयारी भने निकै कमजोर सावित हुँदै आएको छ । बिहीवार दैलेखमा भएको दुर्घटना यसैको पछिल्लो दृष्टान्त हो । सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको यात्रुबाहक (हाइस) गाडी दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ स्थित सडकबाट कर्णाली नदीमा खसेको थियो । सडकबाट झन्डै चार सय मिटर तलको कर्णाली नदीमा खसेको गाडी र त्यसमा सवार यात्रुहरू पाँच दिन बितिसक्दा पनि भेटिएको छैनन् । बिहीवारदेखि नै खोजी कार्य भइरहे पनि कुनै पत्ता नलागेको खोजीमा खटिएका सुरक्षा निकायले जनाएका छन् ।

गाडी र त्यससँगै बेपत्ता भएका यात्रु खोज्न तीनवटै सुरक्षा निकाय परिचालन गरिएको छ । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको टोलीले लगातार चार दिनदेखि कर्णाली नदीमा खोजी गरिरहेको छ । खोजीका लागि गोताखोरदेखि ड्रोन र हेलिकप्टरसमेत प्रयोग गरिएको छ । हेलिकप्टर र ड्रोनसमेत परिचालन गरिएको छ । सेनाले गोताखोरसहितको आफ्नै टोली समेत परिचालन गरेको छ । तालिमप्राप्त सैनिकहरू खोजीमा लगाइएको हो । त्यसैगरी सशस्त्र प्रहरीको टोलीले पनि लगातार खोजी कार्य गरिरहेको छ । सशस्त्रको गोताखोरसहितको टोली पनि बिहीवारदेखि नै घटनास्थलमा खटिएको छ । सुर्खेतबाट पुगेको गोताखोरको ६ जनाको विषेश टोलीले निरन्तर खोजी गरिरहेको छ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट विषेशज्ञको अर्को टोली पनि खोजी कार्यमा खटिएको छ । उक्त टोलीले पानीभित्र खोजीका लागि प्रयोग हुने सोनार क्यामेरा, रिभर भेहिकल म्याग्नेट, बोरस्कोप क्यामेरा, ड्रोन लगायतका उपकरण पनि प्रयोग गरेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी सयभन्दा बढी सुरक्षाकर्मी प्रत्यक्ष रूपमा खोजी कार्यमा खटिइरहेका छन् ।

वर्षाका कारण कर्णालीको वहाब बढेको र पानी धमिलो हुँदा खोजी कार्यमा कठिनाइ भएको छ । वर्षा भइरहेका कारण कर्णालीमा पानीको वहाब घटेको छैन, थप बढेको छ । यो एउटा कारण भएपनि यो घटनाले सडक दुर्घटना होस् या प्राकृतिक विपदको समयमा तत्काल उद्दार संरचना बनाएको छैन भन्ने देखाएको छ । घटना भएलगत्तै उद्धार सामग्रीसहितको टोली खटाउन अवस्था नबन्दा दैलेख घटनामा यात्रुसहितको गाडी कर्णाली नदीमा बेपत्ता भएको पाँच दिनसम्म फेला पर्न नसकेको हो । समयमै हेलिकप्टर प्रयोग गरेर गोताखोरसहितको टोली खटाएको भए खोजी र उद्धारमा केही सहज हुन सक्दथ्यो । तर त्यसो हुन सकेन । ढिलाइले गर्दा गाडी फेला पार्न कठिनाइ सिर्जना भएको छ ।

प्रकाशित मितिः   २३ असार २०८३, मंगलवार १३:१४