पञ्चपुरीलाई पर्यटकीय नगर बनाइने

पञ्चपुरी (सुर्खेत), ३० जेठ ।
पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकालाई पर्यटकीय नगर बनाइने भएको छ । सोमवार बावियाचौरमा सम्पन्न नगर कार्यपालिकाको पहिलो बैठकले यस्तो निर्णय गरेको हो ।
नगरपालिकाभित्र थुप्रै पर्यटकीय स्थलहरू भएकाले तिनको विकास गर्न सके नगरपालिको आर्थिक समृद्धि हुने जनाइएको छ । त्यसकारण पनि नगरपालिकाले पर्यटन विकासलाई पहिलो प्राथमिकतामा राखेको हो । नगरपालिकाको पहिलो बैठकले नै पञ्चपुरीलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने निर्णय गरेको हो ।
पञ्चपुरी नगरपालिकामा रहेको भेरी–कर्णाली दोभान, जाजुरा दह, गुप्ती ताल, चमेरे गुफा, कुण्डलिनी गुफा, मादले गुफा, सभा गुफा लगायतका पर्यटकीय स्थलहरूको संरक्षण, विकास र प्रचार–प्रसारमा योजनाबद्ध रूपमा लाग्ने नगरपालिकाले निर्णय गरेको छ । पञ्चपुरीमा श्रीताल, शिवधाम, र पञ्चपुरी माई सांस्कृतिक हिसाबले महŒवपूर्ण क्षेत्र हुन् । पर्यटन आर्थिक विकासको मेरुदण्डको रूपमा रहेकोले यहाँको पर्यटनको विकास गर्न सकेमा मात्रै नागरिकले रोजगारीका पर्याप्त अवसर पाउनुका साथै नगरपालिकाको आर्थिक स्रोतमा पनि वृद्धि हुने नगरपालिकाले जनाएको छ ।
त्यसैगरी बैठकले जनता आवास कार्यक्रमलाई निरन्तरता दिने र प्रभावकारी कार्यान्वयनमा जोड दिने निर्णय गरेको छ । यस्तै गत आर्थिक वर्षको बजेट तथा काम समयमा नै सम्पन्न गर्ने, एक घर पाँच बिरुवा, नगरपालिकाको बजारीकरण, सडक व्यवस्थापन जस्ता विषयलाई प्राथमिकतामा राखेको नगरपालिकाका कार्यकारी अधिकृत कृष्णबहादुर पन्तले जानकारी दिए ।
बैठकमा बोल्दै नगर प्रमुख उपेन्द्रबहादुर थापाले नवनिर्वाचित प्रतिनिधिहरूले कुनै दलको पक्षमा नभइ जनताको मन जितेर काम गर्नुपर्नेमा जोड दिए । साथै वडा कार्यालयको व्यवस्थापनका लागि सामग्री खरिद गरिसकिएको हुँदा तत्काल वडाबाट सेवा दिनको लागि तयार हुन सबैलाई आग्रह समेत गरे । बैठक नगर प्रमुख उपेन्द्रबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो ।
यसैबीच पञ्चपुरी नगरपालिकाका जनप्रतिनिधिहरूलाई सम्मान गरिएको छ । ग्रामीण एकता युवा सञ्जाल पञ्चपुरी सुर्खेतले नवनिर्वाचित जनप्रतिनिधिहरूलाई सम्मान गरेको हो । सञ्जालले आफ्नै कार्यालयमा आयोजना गरेको कार्यक्रममा पञ्चपुरी नगरपालिका वडा नं. ४, ५ र ६ का अध्यक्ष र सदस्यहरूलाई सम्मान गरेको हो । नगरपालिकाको विकासका लागि सदैव प्रतिनिधिहरूको शिर उच्च रहोस् भनेर नेपाली ढाका टोपी र दोसल्ला ओढाइ सम्मान गरिएको थियो ।
कार्यक्रममा सुन्दर नेपालका युवा अधिकृत रविन्द्रकुमार चन्दले बावियाचौरको युवा सञ्जालले हरेक काम नयाँ ढङ्गले गर्ने गरेको र जिल्लास्तरमा नै उदाहरणीय रहेको समेत बताए । जनप्रतिनिधिहरूले युवा सञ्जाललाई आवश्यक सहयोग गर्ने र सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका थिए ।

प्रकाशित मितिः   ३० जेष्ठ २०७४, मंगलवार १५:३९