‘अपाङ्गता परिचयपत्रमा विभेद भयो’

सुर्खेत, ३० जेठ ।
वास्तविक अपाङ्गता भएका व्यक्तिहरूलाई मात्र अपाङ्गता परिचयपत्र वितरण गर्न सरोकारवालाले सुझाव दिएका छन् । हाल अपाङ्गता परिचयपत्र वितरणमा विभेद भइरहेको भन्दै उनीहरूले यस्तो सुझाव दिएका हुन् ।
अपाङ्ग सशक्तीकरण केन्द्रले सोमवार वीरेन्द्रनगरमा आयोजना गरेको अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्राप्तीका लागि स्थानीय तहका कर्मचारी र सरोकारवालाको भूमिका सम्बन्धी अन्तरक्रियाका सहभागीहरूले यस्तो सुझाव दिएका हुन् । सो अवसरमा चिंगाड गाउँपालिका वडा नम्बर १ का सचिव तपप्रसाद कोइरालाले अपाङ्गता भएका धेरैले परिचयपत्र नपाएको बताए ।
यस्तै चिङ्गाड गाउँपालिका वडा नम्बर २ का वडा सचिव पीताम्बर पौडेलले पनि अब गाउँपालिका र नगरपालिकामै पुगेर निःशुल्क परिचयपत्र वितरण गरेमा अपाङ्गता भएकालाई सहज हुने बताए । कार्यक्रममा लेकवेशी नगरपालिका वडा नम्बर १ का सचिव तेजबहादुर रोकायले प्रत्येक गाउँ र नगरमा छाता संगठन बनाइ सहकार्य गरेर काम गर्न सुझाव दिए । अपाङ्गता सशक्तीकरण केन्द्रका सल्लाहकार लोमन बुढाले अपाङ्गमैत्री कार्यक्रमका लागि उचित बजेट छुट्याएर दीर्घकालीन योजनाका साथ काम गर्नुपर्ने औंल्याए ।
आईएनएफ सुर्खेतका मंगल थारुले अपाङ्गता भएका व्यक्तिहरू पनि इमान्दार बन्नुपर्ने बताए । आयोजक संस्थाका अध्यक्ष विष्णुप्रसाद शर्माले सुर्खेतका कुनै पनि स्थानीय तहमा अपाङ्गता भएका व्यक्तिको सहभागिता नभएको भन्दै असन्तुष्टी जनाए । आगामी दिनमा यस्तो अवस्था आउन नदिनका लागि
अपाङ्ग सशक्तीकरण केन्द्रले गाउँ÷नगरसँग सहकार्य गरेर काम गर्ने बताए । कार्यक्रमका सहभागीले सुर्खेतमा अब बन्ने हरेक सेवा प्रदायक कार्यालय अपाङ्गमैत्री बनाउनुपर्ने, अपाङ्गता भएका व्यक्तिका लागि आयआर्जनका कार्यक्रम ल्याउनुपर्ने बताएका थिए ।

प्रकाशित मितिः   ३० जेष्ठ २०७४, मंगलवार १५:३८