आर्थिक रूपमा सवल बनाउन सुझाव

सुर्खेत, २९ जेठ ।
समुदायस्तरमा सञ्चालन भएका सञ्चार माध्यमलाई आर्थिक रूपमा दिगो बनाउन चुनौती रहेको एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । सञ्चार माध्यम आर्थिक रूपमा दिगो नभएसम्म नागरिकका आवाज सशक्त हुन नसक्ने उनीहरूको भनाइ छ ।
यूएसएआईडीको आयोजनामा सोमवार वीरेन्द्रनगरमा भएको स्थानीय विकास तथा सुशासनमा रेडियोको भूमिका र दिगोपना विषयक अन्तरक्रियाका सहभागीहरूले यस्तो चिन्ता व्यक्त गरेका हुन् । उनीहरूले सञ्चार माध्यमलाई आर्थिक रूपमा सवल बनाउनुपर्नेमा जोड दिए । लेकवेशी नगरपालिकाका मेयर गगनसिं सुनारले ग्रामीण क्षेत्रका नागरिक सूचनाको पहुँचमा अझै पुग्न नसकेको भन्दै विकास निर्माणका काममा सञ्चार माध्यमहरूले खबरदारी गर्नुपर्ने सुझाव दिए ।
उनले स्थानीय सञ्चार माध्यमहरूले स्थानीय विकासलाई नै प्राथमिकता दिनुपर्ने उल्लेख गरे । यस्तै सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीले सञ्चार माध्यमलाई आर्थिक रूपमा सवल बनाउन सकिए विकास र सुशासन थप प्रभावकारी हुने बताए । सञ्चार माध्यमलाई दिगो कसरी बनाउन सकिन्छ भनेर स्थानीय तहमा पनि सोच्न आवश्यक रहेको उनले जनाए । वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ का अध्यक्ष निलकण्ठ खनाल, वडा नं. ६ का अध्यक्ष मोतीप्रसाद कँडेल लगायतले स्थानीय विकास निर्माणमा सञ्चार माध्यमले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हितप्रसाद पौडेलले सञ्चार माध्यमले सरकारी लगायत सबैका सेवाहरूको बारेमा जानकारी दिनुपर्ने बताए । कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष अमृत बिसी, झुप्रा खानेपानीका अध्यक्ष कुलमणि देवकोटा, गैरसरकारी महासंघका अध्यक्ष हरिप्रसाद अधिकारी लगायतले पनि सञ्चार माध्यमलाई दिगो कसरी बनाउन सकिन्छ भन्नेमा धारणा राखेका थिए ।

प्रकाशित मितिः   ३० जेष्ठ २०७४, मंगलवार १५:३७