भेटिएन कर्णालीमा खसेको गाडी

सुर्खेत: यात्रुसहित कर्णाली नदीमा खसेको गाडी अझै भेटिएको छैन । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ सांगेतडा (चिसापानी) बाट बिहीवार कर्णाली नदीमा खसेको गाडी शुक्रवार राति यो समाचार तयार पार्दासम्म पनि फेला परेको छैन ।

सुर्खेतको वीरेन्द्रनगरबाट कालीकोटको रास्कोट जाँदै गरेको कर्णाली प्रदेश–०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी बिहीवार बिहान करिब साढे ११ बजे कर्णाली नदीमा खसेको थियो । सुर्खेत बसपार्कबाट ५ जना यात्रु बोकेर छुटेको गाडीमा कतिजना सवार थिए भन्नेबारे पनि यकिन छैन । नदीमा जलसतह बढेको र गाडी डुबेकाले उद्धार कार्यमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा एक जनाको शव भेटिएको छ । प्रहरीका अनुसार कालीकोटको पचालझरना गाउँपालिका–९ का जेखे तिरुवाको शव भीरमा अड्किएको अवस्थामा भेटिएको थियो । अन्य सबै यात्रु बेपत्ता छन् । बिहीवार साँझ अबेरसम्म उद्धारमा सफल नभएपछि शुक्रवार बिहानबाट गोताखोरको टोलीलाई घटनास्थलमा परिचालन गरिएको थियो । तर शुक्रवार रातिसम्म पनि गाडी र यात्रुको अवस्था पत्ता लागेको छैन ।

प्रकाशित मितिः   २० असार २०८३, शनिबार १२:५६