कुपोषणविरुद्ध आमाहरू
सुर्खेत: सुर्खेतका महिलाहरूले आफ्नै करेसाबारीलाई पोषण, स्वास्थ्य र आम्दानीको आधार बनाएका छन् । जिल्लाका पाँच पालिकाका महिलाहरूले स्वास्थ्य आमा समूह गठन गरेर पोषण सुधारमा सक्रिय बनेका हुन् ।
सुनौलो हजार दिनका आमाहरूले विभिन्न स्वास्थ्य आमा समूह गठन गरी विषादीरहित प्राङ्गारिक तरकारी उत्पादन सुरु गरेपछि उनीहरूको दैनिकी मात्र होइन, सोच र जीवनशैलीसमेत परिवर्तन हुन थालेको छ । वीरेन्द्रनगर वडा नं. ९ की कृष्ण चौधरी केही वर्ष अघिसम्म घरायसी प्रयोजनका लागि सीमित मात्रामा तरकारी उत्पादन गर्थिन् । अहिले भने आफ्नै बारीमा फलाएका तरकारी बजारसम्म पु¥याउन सफल भएको उनले सुनाइन् । उनी महिला जागरण स्वास्थ्य आमा समूहमा आवद्ध छिन् । घरपरिवारलाई ताजा र पोषणयुक्त खाना उपलब्ध गराउनुका साथै अतिरिक्त उत्पादन बिक्री गरेर आम्दानी गर्न थालेपछि आत्मविश्वास पनि बढेको उनले सुनाइन् ।
यस्तै लेकवेशी नगरपालिका वडा नं. ९ की दिपा पौडेलको बारी अहिले हराभरा छ । सिर्जनशील स्वास्थ्य आमा समूहकी सदस्यसमेत रहेकी दिपाका अनुसार समूहले पोषण, महिला स्वास्थ्य र सरसफाइसम्बन्धी विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । विशेष गरी पोषण मेलाले महिलाहरूलाई आफ्नै उत्पादन प्रदर्शन तथा बिक्री गर्ने अवसर प्रदान गरेको उनको अनुभव छ ।
स्थानीय तह, प्रदेश सरकार तथा विभिन्न संघसंस्थाहरूले समेत विभिन्न समयमा मेला लगाउने गरेका छन् । मेलामा स्थानीय महिला स्वास्थ्य आमा समूहहरूले उत्पादन गरेका तरकारी, फलफूल, गेडागुडी, पोषणयुक्त खाद्य सामग्री तथा घरायसी बगैँचाका उत्पादनहरू प्रदर्शनी तथा बिक्रीका लागि सहज भएको भेरीगंगा नगरपालिका वडा नं. १२ की भूमिसरा बिसीले बताइन् । विशेष गरी विषादीरहित र स्थानीय रैथाने उत्पादनलाई प्राथमिकता दिइने मेलामा बजार मूल्यभन्दा केही सस्तो दरमा सामग्री बिक्री हुने भएकाले उपभोक्ताको आकर्षण पनि बढ्दो रहेको उनको भनाइ छ । उनी देउती स्वास्थ्य आमा समूहमा आवद्ध छिन् ।
सुन्दर नेपाल संस्थाअन्तर्गत कियर नेपाल र आइडीई नेपालको प्राविधिक सहयोगमा सुर्खेतका पाँच वटा पालिकाका स्वास्थ्य आमा समूहरूले पोषणा सुधारका लागि अर्गानिक कृषि उत्पादन गर्ने गरेका छन् । ‘स्वस्थ नागरिक, समृद्ध समाज, दिगो कृषि र पोषणयुक्त आहार’ भन्ने नारासहित सञ्चालन हुँदै आएको यो अभियानले स्थानीय उत्पादनको प्रवद्र्धन, पोषण सुधार र अर्गानिक खेती विस्तारमा जोड दिइएको पोषण परियोजनाका कार्यक्रम संयोजक चन्द्रबहादुर थापाले बताए । स्वास्थ्य आमा समूहका रूपा विकका अनुसार पहिले घरायसी प्रयोजनका लागि मात्र उत्पादन गरिने करेला, बोडी, भिन्डी र टमाटरजस्ता तरकारी अहिले आम्दानीको स्रोत बन्न थालेका छन् ।
सुर्खेतका पाँच वटा पालिकामा परियोजना लागू गरिएको छ । वीरेन्द्रनगर नगरपालिका, बराहताल गाउँपालिका, भेरीगंगा नगरपालिका, लेकवेशी नगरपालिका र गुर्भाकोट नगरपालिकामा पोषण परियोजना लागू भएको हो । थापाडेरा स्वास्थ्य आमा समूहका पदमा पुन मगरका अनुसार परियोजनाबाट प्राप्त सहयोगले कृषिमा पहुँच विस्तार हुनुका साथै कुपोषण न्यूनीकरणमा समेत सकारात्मक प्रभाव पारेको छ ।
विशेष गरी गर्भवती महिला, सुत्केरी आमा र बालबालिकामा पोषणको कमी नहोस् भन्ने उद्देश्यले परियोजना सञ्चालन गरिएको सुन्दर नेपाल संस्थाका कार्यकारी निर्देशक भूपेन्द्र कँडेलले बताए । पोषणयुक्त भोजनको महŒव घर–घरमा पु¥याउन यस्ता कार्यक्रम प्रभावकारी बनेको उनको भनाइ छ । गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुनले पालिकाका सबै वडामा कुपोषणको समस्या देखिएकाले आगामी नीति तथा कार्यक्रममार्फत यस्ता कार्यक्रम विस्तार गरिने बताए । उनका अनुसार प्राङ्गारिक खेतीप्रति किसानको आकर्षण बढाउने, स्थानीय उत्पादनलाई बजारसँग जोड्ने तथा पोषणसम्बन्धी जनचेतना विस्तार गर्ने उद्देश्यले गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । सानो करेसाबारीबाट सुरु भएको यो अभियान महिला सशक्तीकरण, पोषण सुधार र दिगो कृषिको सफल नमुनाका रूपमा स्थापित हुँदै गएको उनले जानकारी दिए ।





रजनी याेगी ।