प्रधानमन्त्री फेरिंदा पछाडि सर्यो
साझा बिसौनी संवाददाता
सुर्खेत, २९ जेठ ।
सुर्खेतमा केन्द्रीय कार्यालय रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोह सरेको छ । यसअघि आउँदो असार ३ गतेका लागि दीक्षान्त समारोह तोकिएको थियो । तर देशमा प्रधानमन्त्री फेरिएपछि विश्वविद्यालयको प्रथम दीक्षान्त समारोह पनि पछाडि सरेको हो ।
स्थापना भएको करिब आठ वर्षसम्म यो विश्वविद्यालयको दीक्षान्त समारोह हुन सकेको छैन । पहिलोपटक दीक्षान्त समारोह आउँदो असार ३ गतेका लागि निर्धारण गरिएको थियो । समारोहका लागि सम्पूर्ण तयारी पूरा भए पनि देशमा प्रधानमन्त्री परिवर्तन हुँदा दीक्षान्त समारोह प्रभावित भएको हो । पूर्व निर्धारित मितिमा नवनिर्वाचित प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति शेरबहादुर देउवा उपस्थित हुन नसक्ने भएपछि दुई साता पछाडि सारिएको छ ।
अब दीक्षान्त समारोह असार १९ गतेका लागि तोकिएको छ । अब प्रधानमन्त्री देउवाको उपस्थितिमा विश्वविद्यालयको पहिलो दीक्षान्त समारोह आयोजना गर्न लागिएको हो । प्रधानमन्त्री देउवाले असार ३ गतेको समयमा उपस्थित हुन नसक्ने बताएपछि पछाडि सारिएको हो । विश्वविद्यालय प्रशासनले आइतवार पत्रकार सम्मेलन गरेर दीक्षान्त समारोह पछाडि सारिएको जनाएको छ । विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री देउवाको व्यस्तताको कारण पछाडि सारिएको विश्वविद्यालयको भनाइ छ । असार १९ गते कुनै पनि हालतमा दीक्षान्त समारोह र विश्वविद्यालयको सभा (सिनेट) सम्पन्न गर्ने तयारी भइरहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
विश्वविद्यालयका रजिस्ट्रार डा. महेन्द्रकुमार मल्लले जेठ २६ गते प्रधानमन्त्री देउवाले असार १९ गतेका लागि दीक्षान्त समारोह आयोजना गर्न स्वीकृत प्रदान गरेको जानकारी दिए । उनले भने, ‘हामीले पूर्वनिर्धारित मितिमा नै सम्पन्न गर्ने तयारी गरेका थियौं, तर हालै निर्वाचित प्रधानमन्त्रीको कार्यतालिका व्यस्त रहेछ । प्रधानमन्त्री नै उपस्थित हुन नसक्ने भएपछि दीक्षान्त समारोहको अर्थ नहुने भयो, प्रधानमन्त्रीकै आग्रहमा असार १९ गतेका लागि सारिएको हो ।’ रजिस्ट्रार मल्लका अनुसार प्रधानमन्त्री देउवाको उपस्थितिमा विश्वविद्यालय केन्द्रीय प्रशासनिक भवन निर्माणस्थल कुइनेपानी परिसरमा दीक्षान्त समारोह आयोजना हुनेछ । साथै मध्यपश्चिमाञ्चल विश्वविद्यालयको सातौं सभाको साधारण बैठक पनि उक्त दिन हुनेछ ।
पहिलो दीक्षान्त समारोह सफल बनाउन अन्तिम तयारी भइरहेको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयका मानविकी तथा सामाजिकशास्त्र, शिक्षाशास्त्र, व्यवस्थापन र विज्ञान तथा प्रविधि संकाय गरी चार वटा संकायका विद्यार्थीलाई दीक्षित गरिनेछ । सो अवसरमा करिब चार सय विद्यार्थीहरू दीक्षित हुनेछन् । उक्त दीक्षान्त समारोहमा देशभित्र र बाहिरका विश्वविद्यालयहरूका प्रमुखहरूको समेत उपस्थिति रहने जनाइएको छ । यस क्षेत्रका जनताको आन्दोलन र त्यागबाट स्थापित यो विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहलाई चासोका साथ हेरिएको छ । विश्वविद्यालयका कुलपतिको उपस्थितिमा हुने उक्त समारोहलाई सफल बनाउनका लागि आवश्यक सहयोग गर्न विश्वविद्यालयका पदाधिकारीले आग्रह गरेका छन् ।
यसैबीच विश्वविद्यालयले आगामी योजनाहरू पनि सार्वजनिक गरेको छ । विश्वविद्यालयको स्वरूपलाई पूर्णता दिनका लागि यस क्षेत्रका विभिन्न क्याम्पसलाई आंगिक क्याम्पसमा विकास गर्न लागिएको हो । यस्तै केही क्याम्पसलाई सम्बन्धन प्रदान गर्ने तयारी भइरहेको डा. मल्लले बताए । उनले भने, ‘अब केन्द्रीय क्याम्पस चलाएर मात्र हुँदैन, विश्वविद्यालयले आकार लिन जरुरी छ । त्यसका लागि हामीले प्रयास जारी राखेका छौं, हाम्रो कार्यकालमा विश्वविद्यालयले आफ्नो स्वरूप लिनेछ ।’ उनका अनुसार अबको केही वर्षमा कम्तीमा २० वटा क्याम्पसलाई आङ्गिक र २० वटा जतिलाई सम्बन्धन दिइनेछ । मल्लले आर्थिक भार कम गर्न र जनशक्ति व्यवस्थापन गर्नका लागि निजी प्रतिष्ठानलाई सम्बन्धन दिइने बताए । यस्तै सरकारले बजेट र दरबन्दी उपलब्ध गराएमा मात्र आङ्गिक क्याम्पसहरू स्वीकृत गरिने उनको भनाइ छ ।
दक्ष जनशक्ति नहुँदा इन्जिनियरिङ्ग संकाय सञ्चालनमा कठिनाइ भइरहेको विश्वविद्यालयले जनाएको छ । त्यसका लागि आफूहरूले प्रतिष्ठित संस्थालाई सम्बन्धन दिने तयारी गरेको डा. मल्लको भनाइ छ । यस्तै अबको केही महिनाभित्र विश्वविद्यालयले पीएचडी सञ्चालनको तयारी गरेको छ । पहिलो चरणमा
व्यवस्थापन संकायमा पीएचडी सुरु गर्ने तयारी भइरहेको छ । विश्वविद्यालयले विस्तारै गति लिन लागेको भन्दै रजिस्ट्रार मल्लले आन्दोलन र विरोध गर्ने भन्दा पनि रचनात्मक सहयोग गर्न सबैसँग आग्रह गरे । साझा बुझाइ र सहकार्यबाट मात्र विश्वविद्यालयको विकास र स्थायित्व हुने भन्दै उनले जनभावना अनुसार नै आफूहरू अगाडि बढ्ने बताए ।
साझा बिसौनी संवाददाता ।