जनप्रतिनिधिलाई सम्मान

सुर्खेत, २८ जेठ ।
वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्था लि. र वातावरण सुधार समाज सुर्खेतले गत वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित आफ्ना पदाधिकारी तथा शेयर सदस्यहरूको सम्मान गरेको छ । आइतवार बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरेर स्थानीय तहमा वडा सदस्यदेखि मेयरसम्म गरी ८५ जना शेयर सदस्यहरूलाई सम्मान गरेको हो ।
स्थानीय निर्वाचनमा संस्थाका कार्यवाहक अध्यक्ष देवकुमार सुवेदी वीरेन्द्रनगर सुर्खेतको नगर प्रमुख तथा सञ्चालक समिति सदस्य खेमराज वली गुराँस गाउँपालिका दैलेखको अध्यक्ष पदमा निर्वाचित हुनुको साथै सुर्खेत, दैलेख, सल्यान र जाजरकोटका विभिन्न स्थानीय तहमा संस्थाका करिब ८५ जना शेयर सदस्यहरू जनप्रतिनिधिको रूपमा नगर प्रमुख, अध्यक्ष, नगर उपप्रमुख, उपाध्यक्ष तथा वडा सदस्यमा निर्वाचित भएका थिए । सम्मान कार्यक्रममा राष्ट्रिय सहकारी संघका सञ्चालक सदस्य पदम दाहालले एउटै सहकारी संस्थाका करिब ८५ जना शेयर सदस्यहरूले स्थानीय तहमा सफलता पाउनु सहकारी क्षेत्रका लागि खुशीको कुरा भएको उल्लेख गर्दै निर्वाचित जनप्रतिनिधिहरूलाई स्थानीयस्तरमा सहकारीको विकासलाई अझ जोड दिन आग्रह गरे ।
संस्थाका संस्थापक सल्लाहकार कमलराज रेग्मीले संस्थाको लघुवित्त कार्यक्रममा आवद्ध महिला दिदीबहिनीहरूले आफ्नो आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासको साथै नेतृत्व सीपको समेत विकास गर्न सक्षम भएको बताए । उनले आगामी निर्वाचनमा यो सफलतामा अझ वृद्धि हुनुपर्नेमा जोड दिए । वातावरण परिसर विकास समितिका अध्यक्ष नेत्रा रेग्मीको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष डम्बरप्रसाद अर्याल, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी, उपप्रमुख मोहनमाया ढकाल, गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुन, डिभिजन सहकारी कार्यालय सुर्खेतका प्रमुख देवीप्रसाद पौडेल लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।

प्रकाशित मितिः   २९ जेष्ठ २०७४, सोमबार १४:३४