ग्रामीण क्षेत्रमा हाते ट्रयाक्टर

दैलेख, २९ जेठ ।
पछिल्लो समय कृषिमा आधुनिकीकरणमा जोड दिने उद्देश्यका साथ विभिन्न ग्रामीण क्षेत्रहरूमा हाते ट्रयाक्टरको प्रयोग बढ्दै गएको छ । साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजनाको अनुदान तथा शिवालय बहुउदेश्य सहकारी संस्था द्वारा सञ्चालित (आलु तथा ताजा तरकारी केन्द्र उप–आयोजना) लाँकुरीमार्फत् डुङ्गेश्वर गाउँपालिकाको वडा नं. २ लाँकुरीका कृषकहरूलाई तीन वटा हाते ट्रयाक्टर उपलब्ध गराएको छ । दुई वटा ट्रयाक्टर एक लाख ७५ हजार र एक वटालाई एक लाख ८७ हजार गरी कूल पाँच लाख ३७ हजारमा तीन वटा हाते ट्याक्टर खरिद गरिएको तेजबहादुर थापाले जानकारी दिएका छन् । हाते ट्याक्टर (पावर टिलर) उपलब्ध भएपछि स्थानीय कृषकहरू हाते ट्रयाक्टरबाट खेत जोत्न थालेपछि खुशी भएका छन् ।

विगतमा गोरुबाट खनजोत गर्ने स्थानमा अहिले ट्रयाक्टरबाट खेत जोत्न पाउँदा आफूमा खुशी भएको स्थानीय महेन्द्र बुढाले बताए । ग्रामीण क्षेत्रमा पेट्रोलका माध्यमबाट सञ्चालन गर्न खर्चिलो हुने र भिरालो ठाउँमा लैजानका लागि समस्या आउने भए पनि खेतवारी जोत्नका लागि सहज भएको लाकुरीका स्थानिय बासीले बताएका छन् । हाते ट्रयाक्टर चलाउनका लागि आवश्यक सीप कम भएका कारण समस्या परेको स्थानीय कृषक महेन्द्र बुढाले बताए । तीन वटा हाते ट्रयाक्टर सहकारीमा आवद्ध भएका कृषक सदस्यहरूले प्रयोग गर्नेछन् ।

 

प्रकाशित मितिः   २९ जेष्ठ २०७४, सोमबार १४:३२