‘बुबाआमाले माया नै गर्नुहुन्न कि जस्तो लाग्थ्यो’

कविन्द्र केसी सुर्खेतको सिम्ता गाउँपालिकाका अध्यक्ष हुन् । गत वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा उनी नेकपा एमालेबाट अध्यक्षमा निर्वाचित भएका हुन् । वि.सं. २०२८ पुस ५ गते बुबा दलबहादुर केसी र आमा कौशीला केसीको कोखबाट जन्मिएका उनी विद्यार्थीकालदेखि नै राजनीतिमा लागेका हुन् । सुर्खेतका चर्चित युवा नेता केसीले आफ्नो बाल्यकालको सम्झना हाम्रा सहकर्मी मुना हमालसँग यसरी साटेका छन्ः

मेरो जन्म कृषक परिवारमा भएको हो । म सिम्ता गाउँपालिका (तत्कालीन बजेडीचौर गाविस) मा जन्मिएँ । हामी धेरै भाइबहिनी थियौं । आठ भाई र दुई बहिनी थिए । म सातौं छोरा हुँ । बुबाआमाले खेतीकिसानी गर्नुहुन्थ्यो । त्यही भएर बाल्यकाल घरायसी काम र पढाइ–लेखाइमा नै बित्यो । मेरो बाल्यकाल संघर्षमा बित्यो । बाल्यकालमा धेरै अभावहरू झेल्न पनि प¥यो । हामी त्यति सम्पन्न परिवारका थिएनौं । त्यसकारण पनि केही अभावहरू झेल्नुप¥यो ।
त्यतिबेला अहिलेको जस्तो सानै उमेरमा विद्यालय जाने हुँदैनथ्यो । ५÷६ वर्षको पुगेपछि मात्र म विद्यालय जान थालेको हुँ । मैले कक्षा १ देखि भानु प्रावि बजेडीचौरमा पढें । मेरो पढाइ राम्रै थियो । भानु प्राविमा पाँच कक्षासम्म पढेपछि म निमावि साहुखोलामा पढ्न सुरु गरें । बाल्यकालमा के सही के गलत भन्ने छुट्याउन गाह्रो नै हुन्छ । बाल्यकाल अन्जान नै हुन्छ । पढ्ने भन्दा पनि खेल्न, समाजिक क्रियाकलापमा सहभागी हुन मन लाग्ने हुने रहेछ । अहिले सम्झदा लाग्छ बाल्यकाल त अनौठो रहेछ । कक्षा ७ मा पढ्दा सुरुमा नै विद्यालयमा जसले राम्रो नम्बर ल्याएर प्रथम हुन्छ उसलाई राम्रो पुरस्कार व्यवस्था गरिनेछ भनेर घोषणा गरिएको थियो । मलाई त्यस दिनबाट पढेर म प्रथम हुन्छु अनि पुरस्कार मैले नै पाउँछु भनेर मेहेनत गरेर पढें । पछि सातमा प्रथम भएँ । र कापी कलम पुरस्कार पाएको थिएँ । घरको अवस्थाले त्यसबेलामा कापी कलम किन्न पनि समस्या नै हुन्थ्यो । पुरस्कार पाउँदा मलाई संसार नै जितेको महसुस भएको थियो ।
बिहान घाँस काट्ने अनि खाना खाएर एकडेढ घण्टाको बाटो हिँडेर विद्यालय जानुपथ्र्यो । विद्यालयबाट साँझ फर्किएर गाइ गोठालो जानुपथ्र्यो । गाइ गोठालो जाँदा डन्डिबियो, कपर्दी खेलेको सम्झना अझै पनि छ । हाम्रो घर, लेक र वेशी दुवै ठाउँमा भएको कारणले लेकमा नै हाम्रो बसाइँ हुन्थ्यो । लेकमा काफल, चुत्रो पाइन्थ्यो । गोठालो जाँदा काफल, चुत्रो खाँदा छुट्टै रमाइलो लाथ्यो । बाल्यकालमा नराम्रो गर्ने साथीको लहलहैमा लागेर नराम्रो काम त गरिएन् तर एक दिन एक जना दाईले गाउँबाट फर्सी चोरेर ल्याउनु भनेर सिकाउनुभयो । उहाँले चोर्न सिकाउँदा मलाई रिस उठेको थियो । पछि मैले उहाँकै बारीबाट फर्सी चोरेर ल्याइदिएँ । उहाँले पकाउनुभयो । खाना खाने बेलामा फर्सी त हाम्रो बारीको जस्तै मिठो रहिछ भन्नुभयो । अहिले पनि त्यो सम्झदा रमाइलो लाग्छ ।
म सानो छँदा अलि लजालु स्वभावको थिएँ । कम बोल्ने तर चाहिने कुरामा मात्र बोल्ने गर्थें । म प्राय मान्छेहरूसँग बोल्न लजाउने गर्थें । अझ केटीहरूसँग बोल्न लगाउँथे । मलाई पढाइको बाहेक सामाजिक काममा लाग्न रुचि हुन्थ्यो । गाउँघरमा हुने सार्वजनिक कामहरूमा सहभागी हुन्थें । धारा गराउने, बाटो खन्ने, पाटीपौवा गराउने काममा सहभागी हुन मनपथ्र्यो । मलाई संगीतमा पनि रुचि थियो । मैले खुब बाँसुरी बजाउँथे । गाउँने नाच्न मनपथ्र्यो । गाउँघरमा हुने पूजा, विवाहमा जाने रमाइलो गर्ने, विद्यायमा हुने अतिरिक्त क्रियाकलापहरूमा सहभागी हुने, खेलहरू खेल्ने अनि त्यसको नेतृत्व लिने गर्थें ।
बाल्यकालमा यो नै बन्छु भनेर लक्ष्य भने हुने रहेनछ । कहिलेकाहीँ बुबाआमाले पढ भन्दा पनि किन पढ भनेको होला जस्तो लाग्ने हुने रहेछ । बुबाको सपनामा मलाई वित्तीय क्षेत्रमा जागिर खानुपर्छ भनेर भन्नुहुन्थ्यो । तर मलाई सामाजिक क्षेत्र मनपथ्र्यो । हामी धेरै भाइबहिनी भएकोले पनि मलाई त बुबाआमाले माया नै गर्नुहुन्नकि भन्ने सोच पनि आउँथ्यो । तर सन्तानको लागि बुबाआमाले जहिले पनि आफू हारेर छोराछोरीलाई जिताउँनु हुँदोरहेछ भन्ने अहिले लाग्छ । म सानो छदाँ २०४२ सालमा अखिल छैठौंको कार्यक्रममा लुकेर गएँ । कार्यक्रम राती थियो । किनकी मेरो बुबा कांग्रेस हुनुहुन्थ्यो । बुबाले मलाई पनि कांग्रेस बनाउन धेरै कोशिस गर्नुभयो तर अन्तिममा उहाँ मेरो लागि एमाले बन्नुभयो । बुबाले यो संसार छोड्नु अघि ‘मैले त सँग हारें, तैले लागेको अभियानलाई निरन्तरता दिनु, सबैले मिलाएर लैजानु’ भनेर उपदेश दिनुभयो । सानोमा मलाई माया गर्नुहुन्न भन्ने लाग्थ्यो तर बुझ्दै गएपछि त्यस्तो रहेनछ भन्ने लाग्यो ।
मैले २०४५ सालमा आन्नद मावि गुमीबाट एसएलसी गरेपछि म पढ्नका लागि नेपालगन्ज गएँ । मैले राजनीतिमा २०४५ बाट सुरु गरेको हुँ । अनेरास्वयुको ईलाका कमिटी सदस्य हुँदै जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य भए । पार्टीको जिल्ला सदस्य र सचिवालय सदस्य भइसकेर अहिले सिम्ता गाउँपालिकाको अध्यक्ष भएको छु ।