पर्यटन प्रवर्द्धन कार्यक्रम

कर्णाली प्रदेश मुलुककै प्रमुख पर्यटकीय गन्तव्य बन्नसक्ने सम्भावना बोकेको क्षेत्र हो । तर छिटफुटबाहेक ठूलो संख्यामा पर्यटक भिœयाएर कर्णालीले लाभ उठाउन सकिरहेको छैन । आवश्यक पूर्वाधारको अभावदेखि प्रचार–प्रसारको कमीका कारण पर्यटन प्रवद्र्धन योजनाले सफलता पाएको छैन । पछिल्लो समय भने त्यसका लागि केही प्रयास भइरहेका छन् । तुलनात्मक रूपमा कर्णाली प्रदेशका दशवटै जिल्लामध्ये सुर्खेत जिल्ला त्यसको लाभ लिइरहेको छ । विशेष गरेर वीरेन्द्रनगर नगरपालिकाले पर्यटन प्रवद्र्धनका योजना बनाएर सोही बमोजिम काम गरिरहेको छ । वीरेन्द्रनगरका प्रमुख पर्यटकीय गन्तव्यको सूचि नै निर्माण गरेर पर्यटन प्रवद्र्धनको काम गरिरहेको हो । पछिल्लो समय घण्टाघर, बुलबुले उद्यान, काँक्रेविहार, सहिद पार्कको अवलोकन गर्न विभिन्न जिल्लाबाट आन्तरिक पर्यटकहरू आउने गरेका छन् ।

सम्भावित पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माण गर्न लागिएको वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ । नागरिकको रोजाईमा परेका परेटकीय क्षेत्रको पहिचान गरेर पूर्वाधार निर्माणको काम थालिएको हो । चालु आर्थिक वर्षमा पनि केही पूर्वाधार निर्माणका काम गरिएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर समेत योजना कार्यान्वयन गरिने जनाइएको छ । जसअनुसार वीरेन्द्रनगरको घण्टाघर क्षेत्रलाई व्यवस्थित र विकसित बनाउने योजनासहित ‘ग्रेटर घण्टाघर’ निर्माणको काम धमाधम भइरहेको छ । वीरेन्द्रनगर नगरपालिकाले विभिन्न संरचनासहितको ग्रेटर घण्टाघर योजना अघि सारेको हो । अहिले धमाधम संरचना निर्माणको काम भइरहेको छ । घण्टाघर पार्क र पार्कभन्दा बाहिरको क्षेत्रलाई समेत समेटेर पूर्वाधार निर्माणको काम थालिएको हो । कर्णालीका दश जिल्लाको सांस्कृतिक तथा पर्यटकीयस्थलको झल्को दिने गरी वीरेन्द्रनगर नगरपालिकाले ‘ग्रेटर घण्टाघर’ योजना अघि सारेको छ । ग्रेटर घण्टाघर बनाउन व्यवस्थित पार्क, फोरलेन सडक, पार्टी र अन्य कार्यका लागि सभाहल, पारिवारिक रूपमा बस्न पार्कलाई व्यवस्थापन गर्ने लक्ष्य राखेको छ ।

पर्यटन पूर्वाधारलाई अन्य क्षेत्रसँग समेत जोडेर विकास गर्न थालिएको छ । वीरेन्द्रनगर उपत्यकाभित्रको पानी व्यवस्थापनको उचित प्रबन्ध छैन । ढल तथा नदी नियन्त्रणका लागि पर्याप्त योजना र कार्यक्रम पनि छैनन् । प्रदेश राजधानी संरक्षण योजनाअन्तर्गत नदी नियन्त्रणको काम अघि बढाइएको छ । यो योजनाअनुसार बुलबुले तालदेखि काँक्रेविहार जंगलसम्म करिब एक किलोमिटरमा नदी नियन्त्रणको काम गरिनेछ । बुलबुले तालबाट आएको पानीलाई बुलबुले तालको किनारबाटै काँक्रेविहार जंगलको किनारसम्म पु¥याउने गरी निर्माणको काम अघि बढाइएको आयोजनाले जनाएको छ । मानिसहरूलाई बुलबुलेदेखि काँक्रेविहारसम्म सहज रूपमा पुग्नका लागि समेत यस योजनाले सहयोग पु¥याउनेछ । यसरी विभिन्न योजनाहरूमार्फत पर्यटन प्रवद्र्धनका कार्यक्रम कार्यान्वयन हुने भएका छन् ।

प्रकाशित मितिः   ९ असार २०८३, मंगलवार १८:०८