बजेट ल्याउँदै प्रदेश सरकार
सुर्खेत: कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३२ देखि ३३ अर्बको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । सोमवार दिउँसो बस्ने प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री राजीबविक्रम शाहले आगामी वर्षको बजेट प्रस्तुत गर्दैछन् ।
प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार ल्याएको छ । यो अघिल्लो आर्थिक वर्ष २०८१/०८२ को तुलनामा पाँच प्रतिशतले बढी हो । आगामी आर्थिक वर्षमा समेत प्रदेश सरकारले सोही हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ ।
चालु आर्थिक वर्षमा पुँजीगततर्फ १९ अर्ब ९८ करोड २७ लाख विनियोजन गरिएको छ । चालु खर्चतर्फ सात अर्ब ७९ करोड ९१ लाख रूपैयाँ विनियोजन गरिएको छ । चालु आर्थिक वर्षकै हाराहारीमा आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरिएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।
सरकारले विगतका बजेटमा भेटिने टुक्रे योजनाहरूलाई कटौती गरेर ठूला आयोजनाहरूलाई प्राथमिकतामा राखेको मन्त्रालयका सचिव लीलाप्रसाद शर्माले बताए । विकासमा जोड्नेगरी ठूला आयोजना कार्यान्वयनमा सरकारले जोड दिएको जानकारी दिए । सोहीअनुसार बजेट तयार पारिएको उनको भनाइ छ । विगतमा जस्तै आगामी बजेटले पनि भौतिक पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेको छ । त्यसैले कुल बजेटका एक तिहाई हिस्सा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका लागि छुट्याइएको छ । भौतिक पूर्वाधार सँगसँगै कृषिलाई पनि उच्च प्राथमिकतामा राखिएको शर्माले बताउनुभयो । यसैगरी उद्योग र पर्यटनतर्फको बजेटमा पनि वृद्धि भएको छ ।
प्रकाशित मितिः १ असार २०८३, सोमबार ०९:४३
साझा बिसौनी ।