सञ्चालनमा आयो १३२ केभी प्रसारण लाइन

सुर्खेत: कोहलपुर–सुर्खेत १३२ केभी विद्युत प्रसारण लाइन पुनः सञ्चालनमा आएको छ । चार महिनाअघि सञ्चालनमा आएको प्रसारण लाइन एक महिनादेखि अवरुद्ध भएको थियो । हावाहुरीका कारण दुई वटा टावरमा क्षति पुगेपछि प्रसारण लाइन अवरुद्ध थियो । गत वैशाख ३० गतेदेखि अवरुद्ध लाइन आइतवारदेखि सञ्चालनमा आएको छ ।

निर्माण थालिएको एक महिनामा टावर बनेसँगै आइतवारदेखि सञ्चालनमा आएको आयोजनाले जनाएको छ । आइतवार ३ बजेबाट लाइन सुचारु भएको आयोजना प्रमुख रवि चौधरीले बताए । वैशाखमा आएको हुरीले बाँकेको चिसापानी नजिक कृष्ण सामुदायिक वनभित्रका दुई वटा टावर पोल पूर्णरूपमा क्षतिग्रस्त बनाएको थियो । कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाका अनुसार क्षतिग्रस्त भएका पोल हटाई नयाँ पोल निर्माण गरिएको हो । हुरीले ४४ र ४५ नम्बरका पोलमा क्षति पु¥याएको थियो । हावाहुरीले २२ मिटर टाढाको ३८ मिटर लामो र तीन मिटर मोटाइ भएको रुख ढालेपछि लाइनमा पर्दा दुई वटा पोल पूर्णरूपमा भाँच्चिएको थियो । निर्माण थालिएको एक महिनामा नै नयाँ टावर निर्माण गरेर पुनः सञ्चालन गरिएको हो ।

 

निर्माण थालिएको एक महिनामा टावर बनेसँगै आइतवारदेखि प्रसारण लाइन सञ्चालनमा आएको हो । गत वैशाखमा आएको हावाहुरीले बाँकेको चिसापानी नजिक कृष्ण सामुदायिक वनभित्रका दुई वटा टावर पोल पूर्ण रूपमा क्षतिग्रस्त बनाएको थियो । क्षतिग्रस्त भएका पोल हटाएर नयाँ पोल निर्माण गरिएको हो ।

 

सुर्खेतसहित कर्णालीको विद्युत अपुगको समस्या समाधानका लागि कोहलपुर–सुर्खेत एक सय ३२ केभी विद्युत प्रसारण लाइनलाई हेरिएको छ । बेला–बेला भइरहने प्राकृतिक विपद्का कारण विद्युत प्रसारण लाइनमा समस्या हुँदा थप निराश थपिँदै गएको छ । लाइन विस्तार कार्यको सुरुवात २०७७ असारदेखि गरिएको थियो । भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रा.लि.ले ७० करोड रूपैयाँमा आयोजनाको ठेक्का पाएको थियो । २०८२ फागुनमा काम सम्पन्न गरेर आयोजना सञ्चालन भएको हो । तर एक महिनामै अवरुद्ध हुन पुगेको थियो । पुनः सञ्चालनमा आएपछि भने सुर्खेतसहितका जिल्लामा विद्युत आपूर्ति सहज भएको छ ।

कर्णाली प्रदेशमा विद्युतको समस्या छ । सबै ठाउँमा विद्युत लाइन पुगेको छैन । पुगेको ठाउँमा पनि पर्याप्त छैन । अनियमित लोडसेडिङको मारमा नागरिक छन् । तर यसको सुधार र स्तरोन्नतिको काममा भने ढिलाइ भइरहेको छ । विद्युतको सहज पहुँच नहुँदा यहाँ विकासका अन्य पूर्वाधार निर्माण र विस्तारमा समेत समस्या भइरहेको छ । जसका कारण कर्णाली प्रदेशको विकास पछि परेको छ । यति हुँदाहुँदै पनि कर्णालीको विद्युतिकरणमा गति आउन सकेको छैन । ढिलाइ भइरहेको छ । राज्यले गम्भिरतापूर्वक लिएको छैन । कर्णालीमा विद्युतीकरणको गति बढ्न नसक्नु यहाँको विडम्बना हो । यसले यहाँको विकासलाई थप पछि धकेलिरहेको छ । गर्मीयामसँगै सुर्खेतसहित कर्णालीका जिल्लामा अघोषित विद्युत कटौती र भोल्टेज कम हुँदा उद्योग व्यवसाय सञ्चालनमा समेत समस्या हुन थालेको छ ।

अनिमियत विद्युतले उद्योग सञ्चालनमा बाधा पुगेको उद्योगी रमा आचार्यले बताइन् । उनले भनिन्, ‘पानी प¥यो गयो, हुरी चल्यो हरायो, रूखका हाँगा भाँचिए भने कर्णाली अँध्यारो भयो, यहाँ बिजुली गायब हुन त्यस्तो ठूलै कारण चाहिँदैन, झरी परे पुग्यो, चर्को घाम लागिदिए भयो, कर्णालीमा विद्युत अनियमित भइरहन्छ ।’ एक सय ३२ केभी प्रसारण लाइनसमेत भरपर्दो नभएको उनको बुझाइ छ । कहिले दिनभर बत्ती नहुने कहिले रातभर बत्ती नहुने समस्याले उद्योग नै धरासायी बनेको उनले जनाइन् । उनले भनिन्, ‘दिनमा मुश्किलले चार–पाँच घण्टा नियमित हुने बिजुली पनि नाम मात्रको छ, लाइन हुन्छ, भोल्टेज हुँदैन । यतिबेला कर्णालीमा बिजुलीको समस्या अति भएको छ, असामान्य बनेको छ ।’ एक सय ३२ केभिए प्रसारण लाइनलाई भरपर्दो बनाउनुपर्ने उनको सुझाव छ ।

प्रकाशित मितिः   १ असार २०८३, सोमबार ०९:४१