मानव–वन्यजन्तु सहअस्तित्व

कर्णाली प्रदेशमा वन क्षेत्र ठूलो छ । धेरै बस्तीहरू वन क्षेत्रसँग जोडिएका छन् । ग्रामीण क्षेत्रका यस्ता बस्तीहरूमा जंगली जनावरले दुख दिने गरेका छन् । विशेष गरेर बाँदर र बँदेलले खेतीबाली नष्ट गरिदिँदा किसानहरू हैरान छन् । कर्णालीका ग्रामीण क्षेत्रका किसानहरू बाँदर र जंगली बँदेलका कारण विस्थापित हुनुपर्ने अवस्थामा पुगेका छन् । आहाराको कमी हुँदा पछिल्लो समय वन्यजन्तु समस्यामा पर्दै गएका छन् । आहाराको खोजीमा वन्यजन्तु बस्तीहरूमा छिर्न थालेपछि खेतीबाली तथा मानिसलाई आक्रमण गर्नेक्रम बढेको हो । पछिल्लो समय निर्माण भइरहेका भौतिक संरचनाका कारण वन्यजन्तुको बासस्थान नै गुम्ने अवस्था बन्दै गइरहेको छ । यसरी आफ्नो बासस्थान र आहारा नै जोखिममा परेपछि वनजंगलमा बस्दै आएका जनावरहरू बस्ती छिरेर क्षति निम्त्याउन थालेका छन् ।

मानिसहरूले लगाएका बालीनाली खानेदेखि मानिसलाई नै आक्रमण भइरहेका छन् । यसले मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दै गएको छ । यही द्वन्द्व न्यूनीकरण गर्न कर्णाली प्रदेश सरकारले करिडोर कनेक्टिभिटी संरक्षण कार्यक्रम कार्यान्वयन गर्दै आइरहेको छ । उक्त कार्यक्रमलाई स्थानीय तहसम्म नै जोडेर कार्यान्वयन गर्न लागिएको हो । प्रदेश सरकारले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण योजना बनाएको छ । आगामी वर्षदेखि उक्त कार्यक्रमलाई थप प्रभावकारी कार्यान्वयनका गरिने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ । अघिल्ला आर्थिक वर्षहरूबाटै कार्यक्रम कार्यान्वयनमा छ । तर प्रभावकारिता न्यून देखिएको छ । त्यसैले आगामी वर्षमा थप प्रभावकारी बनाउन योजना निर्माण गर्न लागिएको हो । यो कार्यक्रम गत आर्थिक वर्ष २०८१/०८२ बाट सुरु गरिएको हो । कार्यक्रम प्रभावकारी मानिएपछि परिवर्तन गरेर आगामी वर्षमा समेत थप प्रभावकारी रूपमा कार्यान्वयन गर्न लागिएको हो । वन्यजन्तुको आहारा बढावा दिने प्रजातिका बिरुवाहरूको वृक्षरोपण गरेर करिडोर कनेक्टिभिटी संरक्षण गर्न लागिएको छ ।

बँदेलले मात्र होइन पछिल्लो समय बाघको आक्रमणसमेत बढिरहेको छ । आक्रमणबाट मानवीय क्षतिसमेत भइरहेको छ । सुर्खेतका दक्षिणी भेगका थुप्रै बस्ती बाँके र बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएका छन् । निकुञ्ज क्षेत्रका बस्तीमा पछिल्ला वर्षहरूमा बाघको आक्रमण बढेको छ । बाघको आक्रमणबाट नागरिकहरू घाइते हुनुका साथसाथै ज्यानै गुमाउने घटनासमेत भइरहेका छन् । जसका कारण बस्तीहरूमा बाघको त्रास बढेको छ । यो क्रम पछिल्लो समय अझ बढेको छ । प्रदेश सरकारले भने बाँदर र बँदेलको आंतक नियन्त्रणको योजना थालेको छ । आगामी आर्थिक वर्षबाट थप प्रभावकारी रूपमा कार्यान्वयनको योजना बनाएको हो । आर्थिक वर्ष २०८३÷०८४ को नीति तथा कार्यक्रममा समेटेर योजना निर्माण गरेको छ । मानव–वन्यजन्तु द्वन्द्व न्यूनिकरण गरी सहअस्तीत्व कायम गर्न जरुरी देखिएको छ ।

प्रकाशित मितिः   २९ जेष्ठ २०८३, शुक्रबार ०९:१२