शैक्षिक विकासमा नागरिक समाजको क्षमता अभिवृद्धि

सुर्खेत: जाजरकोट र सल्यान जिल्लामा शिक्षा क्षेत्रमा कार्यरत नागरिक समाज संस्थाको क्षमता विकासका लागि तालिम प्रदान गरिएको छ । सबैका लागि शिक्षाको सुनिश्चिततामा नागरिक समाजको भूमिकालाई तीव्र बनाउने (एक्सेस) परियोजनामार्फत संस्थाहरूको क्षमता विकासका लागि तालिम प्रदान गरिएको हो ।

नेपालको कर्णाली, सुदुरपश्चिम र मधेश प्रदेशमा शिक्षा क्षेत्रमा पहुँच, समावेशीता र गुणस्तर अभिवृद्धि गर्न सञ्चालित एक्सेस परियोजना युरोपियन युनियनको सहयोग, पिपुल इन निडको नेतृत्वमा एकान्टेबिलिटी ल्याब, नेपाल अपाङ्ग महिला संघ र शिक्षाका लागि राष्ट्रिय अभियानद्वारा सञ्चालित परियोजना हो । एकान्टेबिलिटी ल्याबका कार्यक्रम प्रबन्धक शुभेच्छा चापागाईंका अनुसार परियोजनामा आवद्ध जाजरकोटका पाँच र सल्यानका चार वटा संस्थाहरूलाई १४ वटा अनलाइन र एउटा दुई दिने क्षमता विकास तालिम प्रदान गरिएको हो ।

नौ वटा नागरिक समाज संस्थाका पदाधिकारी तथा कर्मचारीहरूको उपस्थितिमा सुर्खेतको वीरेन्द्रनगर दुई दिने क्षमता विकास तालिम समेत सम्पन्न गरिएको उनले जानकारी दिइन् । समावेशी शिक्षासम्बन्धी साझेदार नागरिक समाज संस्थाहरूको क्षमता अभिवृद्धि गरी उनीहरूलाई स्थानीय तह तथा विद्यालयस्तरमा समतामुलक र समावेशी शिक्षा नीति, अभ्यास तथा प्रणालीहरूको प्रभावकारी वकालत, प्रवद्र्धन र कार्यान्वयनमा योगदान गर्न सक्षम बनाउने उद्देश्यले तालिम आयोजना गरिएको प्रबन्धक चापागाईंले बताइन् ।

तालिम समापन समारोहमा कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको शिक्षा महाशाखाका प्रमुख सुवर्ण कुमार खड्काले शिक्षा क्षेत्र सरकारको प्राथमिकताको विषय भएकोले एक्सेस परियोजनासँग कर्णाली सरकारको आवश्यक सहकार्य र समन्वय भइरहेको बताए । उनले जहाँ सरकार जान सक्दैन त्यहाँ परियोजनाहरू जान्छन् भन्ने मान्यताअनुसार विकास साझेदार निकायहरूसँग कार्य भइरहेको उल्लेख गरे । एक्सेस परियोजनामार्फत एकिकृत रूपमा अगाडि बढ्नलाई छलफल र सहकार्य भइरहेको महाशाखा प्रमुख खड्काले बताए । खड्काले तालिममा सहभागी संस्थाहरूले अब आफै प्रस्ताव तयार गरेर सोहिअनुसार काम पाउने र कार्यान्वयन गर्न सक्ने अवस्थामा पुगेको विश्वास जागेको जनाए ।

कार्यक्रममा पिपुल इन निडका प्रवन्धक अनुरोध साहले स्थानीय सरकार र नागरिक समाज संस्थाहरूको प्राविधिक र संस्थागत क्षमता अभिवृद्धि तथा प्रणाली सुदृढीकण गरेर सबैलाई शिक्षाको पहुँचमा ल्याउन एक्सेसले कार्य गरिरहेको बताए । सीमान्तकृत तथा वञ्चित बालिका, अपाङ्गता भएका बालबालिका तथा अन्य बहिष्कृत समुदायहरूलाई सुरक्षित, सहयोगी र समावेशी वातावणमा गुणस्तरिय शिक्षामा समान पहँुच सुनिश्चित गर्ने उद्देश्यका साथ एक्सेस परियोजनाले कार्य गरिरहेको उनले जानकारी दिए ।

प्रकाशित मितिः   २९ जेष्ठ २०८३, शुक्रबार १६:००