‘एमालेसँग मिलेर कब्जा गरौं’


साझा बिसौनी संवाददाता
सुर्खेत, २८ पुस । 
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले अबको दुई वर्षभित्रमा आफ्नो पार्टी देशको पहिलो पार्टी बन्ने दाबी गरेका छन् । संविधान बनाउने काम सम्पन्न भएको भन्दै उनले अब पार्टी निर्माणमा सम्पूर्ण ध्यान केन्द्रित गर्न समेत कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । 
प्रदेश नम्बर ६ अन्तर्गतका भेरी र कर्णाली अञ्चलका पार्टीका कार्यकर्ताहरूको भेलालाई मंगलवार वीरेन्द्रनगरमा सम्बोधन गर्दै प्रचण्डले यस्तो निर्देशन दिएका हुन् । युद्धकालमा समेत भेरी र कर्णाली आफ्नो पार्टीको कब्जामा रहेको भन्दै अध्यक्ष प्रचण्डले अब पनि प्रदेश नम्मर ६ कब्जामा राख्न कार्यकर्ताहरूलाई निर्देशन दिए । कुनै पनि हालतमा यो प्रदेशमा एमाओवादीलाई पहिलो शक्तिको रूपमा स्थापित गर्न समेत उनले कार्यकर्तासँग आग्रह गरे ।
छैठौं प्रदेश अन्तर्गतका विभिन्न जिल्लाका अगुवा कार्यकर्ताहरू सहभागी रहेको भेलामा प्रचण्डले भने, ‘यो क्षेत्र पहिला पनि हाम्रो कब्जामा थियो, अब पनि हाम्रो कब्जामा हुनुपर्छ । यो क्षेत्र हाम्रो आधार इलाका हो, कुनैपनि हालतमा पार्टीको साख जोगाउनेतर्फ जुटौं ।’ पार्टीलाई पहिलो शक्तिको रूपमा स्थापित गर्ने अभियानमा आफूहरू होमिएको भन्दै प्रचण्डले बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्तिको कुनै अर्थ नभएको बताए । साथै उनले विचलित नहुन समेत कार्यकर्ताहरूलाई आग्रह गरे । पूर्व प्रधानमन्त्री समेत रहेका एमाओवादी अध्यक्ष प्रचण्डले एमालेसँगको सत्ता साझेदारीलाई निरन्तरता दिइने बताउँदै थपे, ‘अब चाँडै स्थानीय निकायको निर्वाचन हुँदैछ, त्यो निर्वाचनमा कुनै पनि हालतमा हामी पहिलो पार्टी बन्नुपर्छ । सकभर एकलौटी रूपमा चुनाव जितौं, सम्भव नभए एमालेसँग मिलेर भए पनि कब्जा गर्नेतर्फ लागौं ।’ यस्तै उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अब पुरानै तरिकारले पार्टी चल्न नसक्ने बताए । पार्टीलाई नयाँ स्वरूपमा अगाडि बढाउनुपर्ने भन्दै उनले पार्टी निर्माणमा जुट्न कार्यकर्ताहरूलाई निर्देशन दिए । कार्यकर्ताहरूमा वैचारिक विचलन आएमा पार्टी नै कमजोर हुने बताउँदै उनले सहिदको सपना साकार पार्नका लागि पनि सबै एकजुट हुनुपर्ने बेला आएको बताए । संविधान निर्माणको मुद्दामा आफ्नो पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै उनले अब पार्टीलाई नमूना र पहिलो शक्तिका रूपमा स्थापित बनाउनका लागि गाउँस्तरसम्म पुग्न समेत कार्यकर्तालाई आग्रह गरे । पार्टीका केन्द्रिय नेताहरूले प्रशिक्षण दिएको उक्त भेलामा सहभागि माओवादीका जिल्ला नेताहरूले सबै माओवादीहरूको एकता हुनुपर्नेमा जोड दिएका छन् । 
प्रकाशित मितिः   २९ पुष २०७२, बुधबार १२:०१