इन्धन अभावको बहानामा लुटः गाडी भाडामा मनपरी

साझा बिसौनी संवाददाता
सुर्खेत, २८ पुस । 
सहचालकले वीरेन्द्रनगरदेखि हुर्केसम्मका लागि एक सय रूपैयाँ मागेपछि तरंगा–६ का बलदेव गुरुङले विना हिचकिचाहट दिए । तर उनी त्यतिबेला छक्क परे जब उनीसँगै एउटै सीटमा बसेका अर्का यात्रुबाट सहचालकले बड्डिचौरसम्मको भाडा पनि एक सय रूपैैयाँ नै लिए । 
त्यति मात्र होइन हुर्के र बड्डिचौरको बीचमा पर्ने ओदालतालसम्म जाने यात्रुहरूबाट समेत जीपका सहचालकले एक सय रूपैयाँ नै लिएपछि गुरुङले सहन सकेनन् र झगडामै उत्रिए । अन्ततः एक सय रूपैयाँ लिएका सहचालकले उनलाई ५० रूपैयाँ फिर्ता गरे भने ओदालतालसम्म जाने यात्रुले ८० रूपैयाँ मात्र तिरे । एक सय रूपैयाँ गाडी भाडा वीरेन्द्रनगरदेखि बड्डिचौरसम्मका लागि निर्धारण गरिएको हो । तर सार्वजनिक यातायातले वीरेन्द्रनगरदेखि करिब १२ किलोमिटरको दूरीमा रहेको हुर्केसम्म पनि सोही रकम असुल्ने गरेका छन् । 
इन्धन अभावको बहाना देखाउँदै सवारी साधनले मनपरी रूपमा भाडा असुल्ने गरेको गुनासो यात्रुहरूबाट आउन थालेको छ । इन्धनको अभाव हुँदा केही मात्रामा भाडा बढ्नु स्वभाविक भए पनि अस्वभाविक रूपमा लुट नै मच्चाइरहेको उनीहरूको आरोप छ । तरंगाका गुरुङ पनि यसअघि हुर्केसम्म ५० रूपैयाँमा जाने आउने गर्दथे । तर यसपटक सहचालकले एक सय रूपैयाँ मागेपछि उनले पनि इन्धन अभावको समय ख्याल गर्दै दिन तयार भए । तर वीरेन्द्रनगरदेखि हुर्केसम्मको जतिकै थप दूरी भएको बड्डिचौरसम्मको भाडा पनि एक सय रूपैयाँ नै हुँदा उनलाई आफू ठगिएको महसुस भएको उनी बताउँछन् । 
इन्धन अभावको बहाना बनाउँदै सार्वजनिक यातायातमा यात्रुहरूलाई लुट्ने कार्य भइरहेको छ । विशेषगरी छोटो दूरीसम्म जाने यात्रुहरूबाट सवारी साधनले दोब्बर भाडा असुल्ने गरेका हुन् । पीडित यात्रुहरूका अनुसार छोटो दूरीका लागि टिकट दिइन्न तर गाडीमा बस्न लगाइन्छ । यसरी कोलियामा उभिएर यात्रा गर्नुपर्ने कष्ट एकातिर छ भने अर्कोतर्फ भाडा समेत दोब्बर तिर्नु परेको गुनासो यात्रुहरूले गर्ने गरेका छन् । छोटो दूरीका लागि नियमित सवारी साधन समेत सञ्चालन नहुने भएकाले पनि यात्रुहरू ठगिन बाध्य भएका हुन् । त्यसमाथि भारतीय नाकाबन्दीपछि भएको इन्धनको चरम अभावले गर्दा यात्रुहरू ठगिने क्रम थप बढेको छ । नाकाबन्दी सवारी साधनलाई याात्रु ठग्ने र पैसा असुल्ने गतिलो बहाना बनेको गुरुङले बताए । ‘हुर्केसम्मका लागि टिकट माग्दा दिदैंनन् तर गाडीमा गएर बस्नुस् भन्छन्’ गुरुङले भने, ‘टिकट नकाटेपछि चलानीमा देखिदैन गाडीवालाहरूले मनपरी रूपमा भाडा असुल्छन् ।’
नाकाबन्दी लगायतका समस्याले सहज रूपमा इन्धन भित्रिन सकेको छैन । त्यसैले सरकारले निजीलाई भन्दा सार्वजनिक सवारी साधनलाई इन्धन उपलब्ध गराउँदै आएको छ । जसका कारण सार्वजनिक यातायातको दादागिरी बढेको र मनपरी भाडा उठाएको आरोप समेत यात्रुहरूले लगाउने गरेका छन् । 
सडकमा सार्वजनिक सवारी साधनहरूले याात्रुहरूलाई खुलेआम लुटे पनि सम्बन्धित निकायले ध्यान नदिएको नागरिकको गुनासो छ । ‘न ट्राफिक प्रहरीले नियमति अनुगमन र नियमन गर्छ न स्थानीय प्रशासनले नै कुनै कदम चालेको छ’ कुनाथरी–८ दमारका सन्देश गौतमले भने, ‘मनपरी रूपमा उठाउने गरिएको भाडा नियन्त्रण गर्न सम्बन्धित निकायले समयमै ध्यान दिन जरुरी छ ।’
प्रकाशित मितिः   २९ पुष २०७२, बुधबार १२:०३