नसर्ने रोगबाट मृत्यु हुने बढ्दै

सुर्खेत, २६ जेठ ।
सुर्खेतमा नसर्ने रोगबाट मृत्यु हुनेहरूको संख्या बढ्दै गएको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका अनुसार जिल्लामा पछिल्लो समय नसर्ने रोगबाट मृत्यु हुनेहरूको दर बढ्दो छ । खानपिनमा ध्यान दिए र नियमित ब्यायाम गर्नसके प्राणघातक नसर्ने रोगबाट जोगिन सकिने चिकित्सकहरूले बताएका छन् ।
राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र र सञ्चार विभाग तथा अनुसन्धान केन्द्रको आयोजनामा शुक्रवार वीरेन्द्रनगरमा नसर्ने रोगबारे पत्रकार अन्तरक्रियामा चिकित्सकहरूले नसर्ने रोग लाग्नबाट बच्न शतर्कता अपनाउन आवश्यक रहेको बताए । जोशीपुर स्वास्थ्य केन्द्र कैलालीका मेडिकल अधिकृत डाक्टर सञ्जयकुमार जैशवालले विश्वभर विभिन्न रोगबाट मृत्यु हुनेमध्ये क्यान्सर, मुटु तथा रक्त नली सम्बन्धी रोग, मधुमेहजस्ता नसर्ने रोगको कारण हुने गरेको बताए । नियमित अभ्यास, खानपिनमा सुधार गर्न सके यी रोग लाग्नबाट बच्न सकिने उनको भनाइ थियो । मदिरा, धुमपान, सूर्तीजन्य पदार्थको प्रयोग, अस्वस्थ खाना नसर्ने रोग लाग्नुका प्रमुख कारण रहेकोले यी चिजको प्रयोग गर्न नहुने डाक्टर जैशवालले बताए । व्यक्तिगत शतर्कताले नसर्ने रोग लाग्ने सम्भावना ८० प्रतिशत कम गर्न सकिने उनको भनाई थियो । उनले विश्वभर सबै भन्दा बढी मानिस मृत्युको प्रमुख कारण नसर्ने रोग रहेको बताए ।
जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख शम्भुप्रसाद ज्ञवालीले नियमित ब्यायाम गर्न सके स्वस्थ रहन सकिने बताए । उनले सुर्खेत जिल्लामा नसर्ने रोगबाट मृत्यु बढ्दै गइरहेको बताए । नसर्ने रोग मध्ये उच्च रक्तचाप, मधुमेह र मानसिक रोगको उपचार हुने र औषधि पाइने हुँदा समयमा नै ती रोगको पहिचान गरी उपचार गराउनुपर्ने उनको भनाइ थियो । उनका अनुसार जिल्लामा यो वर्षमा ५१ जनामा क्यान्सर देखिएको छ ।
स्वास्थ्य पत्रकार पदमराज जोशीले सडक छेउछाउ पाइने विभिन्न रसायन मिसाइएका खाने कुरा स्वास्थ्यका लागि हानिकारक हुने गरेको बताए । पशु तथा कृषिजन्य उपजमा रासायनको प्रयोग बढ्दै जानु चिन्ताको विषय भएको र यसले मानव स्वास्थ्यलाई गम्भीर असर पर्ने बताए ।

प्रकाशित मितिः   २७ जेष्ठ २०७४, शनिबार १५:१४