प्रदेश भेलामा अनलाइन उद्घाटन

सुर्खेत, २६ जेठ । (साबिस)
क्रियाशील पत्रकार मञ्च नेपाल प्रदेश नम्बर ६ को भेला वीरेन्द्रनगरमा सम्पन्न भएको छ । शुक्रवार सम्पन्न उक्त भेलाले नौं बुँदे घोषणापत्र समेत जारी गरेको छ । भेलाले यो प्रदेशमा कार्यरत क्रियाशील पत्रकारहरूको पेशागत सुरक्षा तथा हकहित संरक्षणका लागि सम्बन्धित निकायहरूसँग समन्वय गर्ने प्रतिबद्धता जाहेर गरेको हो । यस्तै अनुसन्धानमूलक समाचार उत्पादन तथा प्रकाशन, पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गर्ने, पत्रकारहरूको न्यूनतम पारिश्रमिकको व्यवस्थाका लागि राज्य तथा सञ्चार गृहसँग समन्वय गर्ने, पत्रकारहरूको पेशागत तथा व्यक्तिगत सुरक्षाको प्रत्याभूत गराउने वातावरण सिर्जना गर्न पहल गर्ने र सञ्चार माध्यमको संस्थागत विकास तथा व्यवसायिकताका लागि पहल गर्ने घोषणापत्रमा उल्लेख छ ।
यस्तै प्रदेश नं. ६ का विभिन्न जिल्लाहरूमा सञ्चालित सञ्चार माध्यममा कार्यरत क्रियाशील पत्रकारहरू र सञ्चार माध्यमहरूको तथ्यांक संकलन गर्ने र नियमित रूपमा सहकार्यको वातावरण सिर्जना गरिने भएको छ । सोही अवसरमा क्रियाशील पत्रकार मञ्चका गतिविधी तथा खोजमूलक समाचार प्रकाशन गर्ने मुख्य उद्देश्यले www.jafn.org.np अनलाइनको पनि उद्घाटन गरिएको छ । सो अवसरमा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले आर्थिक रूपमा विपन्न रहेको प्रदेश नं. ६ लाई विकास उन्मूख बनाउन पत्रकारको सकारात्मक भूमिका हुनुपर्ने बनाइन् ।
खोजमूलक समाचारहरूले प्रदेशको विकासमा मार्गनिर्देशन गर्ने भन्दै उनले पत्रकारिताको विकासमा नगरपालिका सहयोग गर्न तयार रहेको बताइन् । सोही भेलाबाट दैलेख, कालिकोट, जाजरकोट र जुम्ला जिल्लामा शाखा विस्तारका लागि जिल्ला संयोजकसमेत तोकिएका छन् ।
प्रदेश भेला तथा अनलाइन उद्घाटन कार्यक्रममा चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही, वीरेन्द्रनगर नगरकार्यपालिकाका सदस्य यामुना नेपाली, पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारती, प्रेस चौतारी सुर्खेतका अध्यक्ष सूर्यप्रकाश कँडेल, झुप्रा बृहत खानेपानी तथा उपभोक्ता समितिका अध्यक्ष उपाध्यक्ष कुलमणी देवकोटा, सिमान्तकृत महिलाका लागि महिला संस्था (वाम) का कार्यकारी निर्देशक मधुरानी ढकाललगायतले आ–आफ्नो भनाइ राखेका थिए ।

प्रकाशित मितिः   २७ जेष्ठ २०७४, शनिबार १५:१३