‘उनको हाँसोले लोभ्यायो’
नवराज बस्नेत सानैदेखि बोटबिरुवालाई प्रेम गर्थे । घर वरिपरि करेसा बारी बनाउने उनको बाल्यकालदेखिको रुची थियो । उनले बाल्यकालमा भविष्यमा के बन्ने भन्ने त सोचेका थिएनन् तर, बाल्यकालको छापले उनलाई भविष्यमा पनि त्यहि बोटबिरुवाले नै तान्यो । बस्नतेको बोटबिरुवालाई माया गर्ने र आफ्नो करेसाबारीमा बोटबिरुवा रोप्ने बाल्यकालको स्वभावले भविष्यमा नर्सरी फर्म खोल्ने प्रेरणा पनि मिल्यो । कृषि कार्यालयमार्फत् तालिम लिएर बस्नेत नर्सरी फर्म सञ्चालन गरे । उनले अहिले आफ्नो नर्सरीबाट दैलेख, नेपालगन्ज, बर्दिया, कालिकोट लगायतका जिल्लाहरूमा बिरुवाहरू पठाउने गर्छन् । बिरुवा बेचेरै उनले वार्षिक रूपमा तीन लाख भन्दा बढीको कारोबार गर्ने गर्छन् । उनलाई बिरुवाहरूसँग रमाउन खुबै मन पराउँछन् । बिरुवाहरूसँग रमाउँदाको पल नै आनन्द लाग्ने उनी बताउँछन् ।
पिता टोपबहादुर बस्नेत र माता इन्द्रा बस्नेतको कोेखबाट वि.सं. २०२२ सालमा सुर्खेतको कटकुवामा जन्मिएका नवराज बस्नेतको बाल्यकाल रमाइलोसँग बित्यो । कटकुवामा जन्मिए पनि उनले वीरेन्द्रनगरमा बाल्यकाल बिताए । कक्षा एकदेखि चारसम्म ईत्राम स्कुलमा पढेका बस्नेतले कक्षा पाँचदेखि एसएलसीसम्म जन मावि वीरेन्द्रनगरबाट उत्र्तीण गरे ।
बस्नेत एसएलसी दिएपछि नर्सरी फर्मतिर लागे । उनलाई जीवनमा साथ दिने साथीको आवश्यक थियो । विवाहका लागि उनी केटी हेर्ने गए । आफन्तको सिफारिसमा उनले लाटीकोइलीकी डिलकुमारीको हात माग्न गए । त्यतिबेला डिलकुमारी कक्षा आठमा जन माविमा पढिन् । बस्नेत डिलकुमारीलाई हेर्नको लागि उनको स्कुलमा नै गएका थिए । बस्नेतले डिलकुमारीलाई नजिकबाट चिनेका थिए । तर, डिलकुमारीले भने बस्नेतलाई देखिकी मात्र थिइन् चिनेकी थिइनन् ।
डिलकुमारीको हात माग्नको लागि बस्नेत डिलकुमारीको घरमा गए । डिलकुमारीको माइतीले पनि केटा मन पराए । त्यति बेला डिलकुमारी मावलीमा बस्थिन् । मावली घरबाट नै उनलाई बिहेको लागि सहमति भयो । बस्नेत र डिलकुमारीको घरपरिवारको सहमतिमा नै उनीहरूले २०४३ सालमा भागी विवाह गरे । विवाहपछि डिलकुमारीलाई छोरी र बुहारी हुँदाको अनुभव थाहा भयो । माइतीमा हुँदा बुबाआमासँग जस्तो व्यवहार गरे पनि हुने, जहाँ गए पनि हुने, स्वतन्त्र रूपमा घुम्न डुल्न पाइने तर, बिहेपछि घरमा हरेक काम गर्दा अरुको अनुमति लिएर मात्र गर्नुपर्ने अनुभव डिलकुमारीले लिइन् ।
बिहे अघिको छोरीको ठाउँमा बिहेपछि बुहारीको नयाँ नाता सम्बन्ध, बाबुआमाको ठाउँमा सासु ससुराको सम्बन्ध, दिदी बहिनीको ठाउँमा नन्द अमाजुको सम्बन्ध, दाइभाइको ठाउँमा जेठाजु देवरको सम्बन्ध निवाउनुपर्ने सबै छोरीहरूको लागि आइपर्ने कुरा नै हो । बुहारी भएपछि बिहानै उठ्नुपर्ने, दैलो कुच्चो गर्नुपर्ने बाध्यता नै हुन्छ । यस्ता बाध्यता डिलकुमारीले पनि पार गर्दै जिन्दगीसँग सम्झौता गर्दै आइन् ।
पिता पिलबहादुर भण्डारी र माता मीना भण्डारीको कोखबाट २०२५ सालमा सुर्खेतको लाटिकोइलीमा जन्मिएकी डिलकुमारीको बाल्यकाल सुखसँगै नै बित्यो । घरकी एक्ली छोरी सबैको माया ममतामा नै उनको बाल्यकाल बित्यो । बाल्यकालमा उनी अलि चञ्चले स्वभावकी थिइन् । उनले कक्षा एकदेखि ६ सम्म लाटीकोइलीको स्कुलमा पढिन् । कक्षा सातदेखि एसएलसी भने जन माविबाट दिएन् ।
विवाह गर्दा उनी भर्खर कक्षा आठमा पढ्दै थिइन् । कक्षा आठमा पढ्दापढ्दै उनको विवाह बस्नेतसँग भयो । बिहेपछि पनि उनले घरव्यवहार सम्हाल्दै एसएलसीसम्म दिइन् । एसएलसीपछि भने उनले आफ्नो पढाइलाई रोकिन् र घर व्यवहारमा नै लागिन् । घरकी जेठी बुहारी भएकाले पनि उनलाई अलि बढी नै जिम्मेवारी थपियो । त्यसै जिम्मेवारीलाई पूरा गर्नका लागि उनी सधैं घरपरिवारको सेवामा लागिन् । सुरुमा खुद्रा व्यापार गरेका यो जोडीले पछि नर्सरी फर्म सञ्चालन गरे । श्रीमान् श्रीमती भएपछि एकअर्काेमा भनाभन हुनु सामान्य कुरा भएको उनीहरू बताउँछन् । उनीहरू भन्छन्, ‘कहिलेकाहीं सामान्य झगडा हुन्छ तर, त्यो झगडाले कहिल्यै ठूलो रूपमा लिएको छैन ।’
एकआपसमा जति नै झगडा गरे पनि यो जोडी एकअर्काेको प्रशंसा भने खुलेरै गर्छन् । बस्नेतलाई डिलकुमारीको आफूलाई खान मन लागेको समयमा जे भन्यो त्यही बनाएर खुवाउने बानी मनपर्ने गर्छ । त्यस्तै डिलकुमारीलाई पनि बस्नेतको आफूलाई मन लागेको काम सहजै गर्न दिने वानी मनपर्छ । डिलकुमारीलाई बस्नेतको मन नपर्ने बानी कुनै छैनन् । त्यस्तै बस्नेतलाई पनि डिलकुमारीको सबै बानी मन पर्छ । बस्नेतले घरभित्रको काममा डिलकुमारीलाई सघाउने भन्दा पनि नर्सरीमा नै उनको दिन बित्ने गर्छ । डिलकुमारी पनि घरभित्रको काम सरसफाइ व्यस्त हुने भएकाले बस्नेत नर्सरीको काम र डिलकुमारी घरभित्रको काम सम्हाल्ने गर्छन् ।
यो जोडीका अनुसार दाम्पत्य सम्बन्ध सफल र दिगो बनाउनको लागि श्रीमान् श्रीमतीबीचको सम्बन्धमा विश्वास र समझदारी हुन आवश्यक छ । जबसम्म एकअर्काे प्रति विश्वास हुँदैन तबसम्म दाम्पत्य सम्बन्ध दिगो हुन सक्दैन । एकअर्काेको भावना बुझेर व्यवहार गर्नुपर्छ । यो जोडीले विवाहपछिका दिनमा अहिलेसम्म एकअर्काेको जन्म दिन र विवाह गरेको वर्ष मनाएका छैनन् । उनीहरू भन्छन्, ‘पहिलेको समयमा मनाउने चलन थिएन अब बुढेलकालमा मनले मान्दैन त्यसैले पनि मनाउँदैनौं ।’ यो जोडी मात्र होइन उनीहरूका दुई छोराहरू समेत जन्म दिन मनाउँदैनन् ।
बस्नेत २२ वर्षअघि बिरामी हुँदाको पल डिलकुमारीका लागि अविष्मणीय दुःखको क्षण हो । उनीहरूका अनुसार जीवन भनेको सुख दुःखको संगम हो । जीवनमा कसैको सुखैसुख हुन्छ त कसैको जीवनमा दुखै दुःख तर, मान्छेले आफ्नो जीवनलाई कसरी बिताउन चाहन्छ र कस्तो बनाउँछ त्यो स्वयम् व्यक्तिको हातमा भरपर्ने यो जोडीको भनाइ छ । जीवन दुःख र सुखसँगै गरिने संघर्ष पनि हो । उनीहरू भन्छन्, ‘जीवन साथी भनेको एकअर्काेको सुख दुःख बिसाउने चौतारी हो । जुन कुरा कसैसँग भन्न र खोल्न सकिदैंन त्यो कुरा जीवनसाथीसँग भन्न सकिन्छ । जीवनको हरेक क्षणमा साथ दिँद जीवनको अन्त्यसम्म साथमा रहने साथी भनेकै जीवनसाथी हो । छोराछोरी त आ–आफ्नै जीवनसाथीसँग हुन्छन् । जीवनको अन्त्यसम्म साथ दिने साथी जीवनसाथी हो ।
श्रीमान् श्रीमती भनेका एक रथका दुई पांग्रा हुन् । रथ चल्न दुई पांग्रा चाहिए जस्तै जीवन सञ्चालन गर्नका लागि पनि जीवनसाथीको आवश्यक हुन्छ । यो जोडी पनि एकअर्काेका परिपूरक हुन् । दुवै मिलेर समाजमा उदाहरणीय काम गरेर देखाउन सफल भएका छन् । बस्नेत र डिलकुमारी श्रीमान् श्रीमती मिले जस्तो सुकै काम पनि सफल बनाउन सकिन्छ भन्ने समाजका उदाहरणीय जोडीको पात्र बनेका छन् । श्रीमान् श्रीमतीको सम्बन्धलाई दिगोपना दिनको लागि एकअर्काेको विश्वास र साथ चाहिँदो रै’छ भन्ने उदाहरणको पात्र यो जोडी बनेका छन् ।
साझा बिसौनी संवाददाता ।