‘न्यायका लागि कहिलेसम्म कुर्ने ?’

सुर्खेत, २६ जेठ ।
सशस्त्र द्वन्द्वका समयमा वेपत्ता पारिएकाहरूको आफन्तले राज्यको गैरजिम्मेवारीपनका कारण आफूहरूले न्यायपाउन नसकेको गुनासो गरेका छन् । द्वन्द्व सकिएको दशक बितिसक्दा पनि वेपत्ता पारिएका आफन्तहरूको कुनै एकीन जानकारी आफूहरूले पाउन नसकेको भन्दै उनीहरू सरकारसँग आक्रोशित बनेका हुन् ।
वेपत्ताका आफन्तहरूले कि लास त कि सास दिनमाग गरेका छन् । संक्रमणकालीन न्यायका लागि अन्तर्राष्ट्रिय केन्द्र आइसीटी जे र मार्टिन चौतारीले संयुक्त रूपमा शुक्रवार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको द्वन्द्व प्रभावितहरूसँगको छलफलमा उनीहरूले यस्तो माग गरेका हुन् । उनीहरूले हरेक प्रशासन र अदालतहरूमा न्यायको लागि गइसक्दा पनि आफन्तहरूको कुनै अत्तोपत्तो नलागेको बताएका छन् । बेपत्ताका आफन्त भन्छन्, ‘कहाँ गएपछि हामीले न्याय पाउँछौं ? न्यायका लागि कहिलेसम्म कुर्ने ?’
२० औ वर्षसम्म पनि आफूहरूले न्यायपाउन नसकेको भन्दै उनीहरूले आफूहरूका लागि न्याएको ढोका काहाँ छ ? देखाइ दिन आग्रह गरेका छन् । कार्यक्रममा बोल्दै सुर्खेत तातापानीकी द्वन्द्व प्रभावित शान्ति धमलाले १० वर्षसम्म मुद्दा लड्दा पनि न्यायनपाएको बताइन् । सत्य निरूपण तथा बेपत्ता आयोगमा जाँदा पनि आफूहरूले न्याय नपाएको भन्दै उनले मन्त्रालयमा धर्ना दिन जाँदा पनि उल्टै प्रहरीको लाठी खानुपरेको गुनासो गरिन् ।
अर्का सुर्खेतकै द्वन्द्व प्रभावित लक्षी शाहीले पनि आफूहरूले कुनै ठाउँमा न्याय पाउन नसकेको भन्दै सरकारले घाइते बाघलाई जिस्क्याउने काम गरेको बताए । यस्तै, बर्दिया जिल्लाकी द्वन्द्व प्रभावित लक्ष्मी भण्डारीले पनि आफूहरूले न्याय पाउने त आसै मारेर अब आफ्नो सुरक्षाको कुनै ग्यारेन्टी नभएकोले त्रासमा बाँच्नुपर्ने अवस्था आएको गुनासो गरिन् । पिडकहरू खुले आम आफ्नो अगाडिबाट हिँड्छन् तर कानुनले झन् ढाकछेप गर्ने गरेको उनले बताइन् ।
यस्तै गुनासा धेरैको छ, जो २० औं वर्षदेखि आफ्ना पीडा साथमा लिएर बाँचिरहेका छन् तर न्याय पाउन सकेका छैनन् ।
कार्यक्रममा सहभागी राजनीतिक विश्लेषक सी के लालले न्यायको अनुभूति भएन भने द्वन्द्व बल्झिने भएकोले पीडितले न्यायपाउनुपर्ने बताए । संक्रमण नबढोस् भन्नको लागि पीडितले न्यायपाउनुपर्ने लालको भनाइ छ । प्रमाण जुटाएर, त्यसको आधारमातर्क गरी सम्पूर्ण प्रक्रिया पूरा गरेपछि अवश्य पीडितलाई न्यायदिने कुरामा राज्यबाध्य हुने उनको भनाइ थियो ।