बक्यौता उठाऊ
कर्णालीमा विद्युतको समस्या छ । सबै क्षेत्रमा राष्ट्रिय प्रसारण लाइन पुगेको छैन । राष्ट्रिय प्रसारण लाइन पुगेका क्षेत्रमा समेत अनियमित हुने समस्या छ । एकातर्फ अनियमित विद्युत आपूर्तिले नागरिक हैरानीमा छन् । अर्कोतर्फ एकातर्फ विद्युतको आफ्नै बक्यौता रकम असुल्न समस्या भइरहेको छ । निजी क्षेत्रदेखि सरकारी निकायसम्मले समयमै विद्युत महसुल नबुझाउँदा सुर्खेतमा मात्रै नौ करोड बढी बक्यौता पुगेको छ । नेपाल विद्युत प्राधिकरण सुर्खेत कार्यालयका अनुसार निजी क्षेत्र, घरायसी र सरकारी कार्यालयकै बक्यौता रकम उठ्न सकेको छैन । बक्यौता उठाउन कार्यालयले लाइन काट्ने तयारी समेत गरेको छ ।
सरकारले निश्चित अवधि पुगेपछि महसुल नतिर्ने ग्राहकको लाइन काटिदिन्छ । सामान्यतया मिटर रिडिङ भएको ६० दिन (दुई महिना) भित्र महसुल नतिरेमा नेपाल विद्युत प्राधिकरणले जुनसुकै बेला सिधै बिजुलीको लाइन काट्ने गरेको छ । महसुल संकलन नियमावलीअनुसार तोकिएको समयमा बिल नतिरेमा लाइन काट्ने गरिएको नेपाल विद्युत प्राधिकरण सुर्खेतले जनाएको छ । यति हुँदाहुँदै पनि कार्यालयलाई पुरानो बक्यौता उठाउनै हम्मे भइरहेको छ । पछिल्लो समय कार्यालयले सार्वजनिक सूचना नै जारी गर्नुपरेको छ । अब पनि अटेर गरेमा चार महिना भन्दा बढी तथा दश हजारभन्दा माथि बक्यौता रकम भएकाहरूको रकम र नाम नै सार्वजनिक गरिने जनाइएको छ । पटक–पटक सूचना जारी गर्दापनि रकम नतिरेपछि संस्था र व्यक्ति नै तोक्नेगरी सूचना जारी गर्ने तयारी भइरहेको हो । सरकारी कार्यालय, निजी क्षेत्र र घरायसी प्रयोजनको गरी चार महिनाभन्दा बढी र दश हजार भन्दा माथिको करिब नौ करोड बक्यौता रकम उठाउन बाँकी रहेको देखिएको छ । तिर्न बाँकी रहेको रकममा सबैभन्दा बढी वीरेन्द्रनगर नगरपालिकाको रहेको छ । नगरपालिकाले सुरुवातीदेखि जडान गरेका सडक बत्तीको बक्यौता रकम नतिरेको हो । नगरपालिकाको मात्र करिब ६ करोड बक्यौता रकम तिर्न बाँकी रहेको छ ।
एकातर्फ विद्युतको आफ्नै बक्यौता रकम असुल्न समस्या भइरहेको छ । अर्कोतर्फ अनियमित विद्युत आपूर्तिले नागरिक हैरानीमा छन् । कर्णाली प्रदेशमा विद्युतको समस्या चर्को छ । अनियमित लोडसेडिङको मारमा नागरिक छन् । गर्मीयामसँगै सुर्खेतसहित कर्णालीका जिल्लामा अघोषित विद्युत कटौती र भोल्टेज कम हुँदा उद्योग व्यवसाय सञ्चालनमा समेत समस्या हुन थालेको छ । विद्युत अनियमित हुँदा नागरिक मर्कामा छन् । पूर्वजानकारीविना नै विद्युत कटौती हुने गरेको छ । सुर्खेतसहित कर्णालीका अन्य जिल्लाहरूको विद्युत समस्या हल गर्न एकमात्र विकल्प ठानिएको कोहलपुर–सुर्खेत १३२ केभी विद्युत प्रसारण लाइन सञ्चालनमा आएको केही समयमा नै फेरि अवरुद्ध भएको छ ।
प्रकाशित मितिः १५ जेष्ठ २०८३, शुक्रबार ०५:०३
सम्पादकीय ।