‘गल्ती गर्नेले सूचना लुकाउँछ’
सुर्खेत, २५ जेठ ।
राष्ट्रिय सूचना आयोगकी आयुक्त यशोदा तिम्सिनाले सेवा प्रदायक निकायलाई सेवाग्राहीले माग गरेको सूचना यथाशीघ्र उपलब्ध गराउन अनुरोध गरेकी छिन् । राष्ट्रिय सूचना आयोगले बिहीवार वीरेन्द्रनरमा आयोजना गरेको सूचनाको हक सम्बन्धी अन्तरक्रियामा आयुक्त तिम्सिनाले यस्तो बताएकी हुन् ।
उनले सूचना माग्न आउने सेवाग्राहीलाई सहजताका साथमा सूचना नदिने गरेको गुनासो देशैभरीमा आउने गरेको भन्दै आवश्यक सूचना तुरुन्त दिनुपर्ने बताइन् । ‘सार्वजनिक चासोको विषयमा सूचना माग्न आउनेलाई सूचना सजिलै नदिने गरिएको छ,’ सरकारी कार्यालयका प्रमुखहरूलाई सुनाउँदै उनले भनिन्, ‘सरकारी सूचना दिँदा तपाईंहरूको सम्पत्ति जाँदैन, पारदर्शीताका लागि सूचना सार्वजनिक अपरिहार्य छ ।’
संविधानले सूचनाको हक सुरक्षित गर्दा पनि जनताले सहज तरिकाले सूचना नपाउनु विडम्बना भएको उनको भनाइ थियो । उनले उपस्थित सरकारी निकायका प्रमुखहरूलाई जनताको प्रत्यक्ष सरोकार सरकारी नियकासँग हुने भएकाले सेवा प्रवाहका साथै कार्यालयमा आउने कार्यक्रम तथा बजेटका बारेमा समेत खुलस्त पार्नु दायित्व भएको उल्लेख गरिन् । साथै सूचना माग्न आउने सेवाग्राहीलाई हप्काउने प्रवृत्ति पनि रहेकोले सभ्यता देखाउन समेत आग्रह गरिन् ।
‘सरकारले जनताका लागि प्रदान गरेका सूचना दिन किन अन्कनाउनुहुन्छ,’ उनले भनिन्, ‘कि तपाईंहरू आफूले गलत गरेको स्वीकार्नुहोस् नत्र भने खुरुक्क मागेको सूचना दिनुहोस् ।’ उनले हरेक तीन–तीन महिनामा सार्वजनिक सरोकार राख्ने निकायले सार्वजनिक सुनुवाइ गर्नुपर्ने भए पनि कार्यान्वयनमा आउन नसक्नु दुखदायी भएको बताइन् । हालसम्म १० प्रतिशतले मात्रै सूचनाको हक र त्यसको प्रयोजनका विषयमा जानकारी पाएकोले सबैमाझ फैलाउन मुख्य चुनौती रहेको आयुक्त तिम्सिनाको भनाइ थियो । यस्तै सूचना दिनका लागि तोकिएका सूचना अधिकारी नै सूचनाका बारेमा जानकार नभएकाले सबै कार्यालयहरूले जानकार व्यक्तिलाई उक्त पदमा राख्नुपर्ने सहभागीहरूको भनाइ थियो ।
कार्यक्रमा मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रशासक महेन्द्रप्रसाद गुरागाईंले सूचनाको हक सम्बन्धी अधिकारका बारेमा सबैलाई जानकारी नहुनुका साथै सूचना दिने दक्ष जनशक्ति नभएका कारण कार्यान्वयनमा अप्ठ्यारो परेको बताए ।
यस्तै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले वीरेन्द्रनगरका सर्वसाधारणलाई सूचना लुकाउनु गैरजिम्मेवारी भएको भन्दै सर्वसाधारणले पाउने सूचनाको हक सहज रूपमा प्रदान गर्नुपर्ने बताए ।
सूचना विज्ञ प्रतिक प्रधानले सूचना प्रणालीको इतिहास र वर्तमान वितरण अवस्थाको बारेमा जानकारी दिएका थिए । उनले लोकतन्त्र संस्थागत गर्न, पारदर्शीता र सुशासन कायम गर्नका लागि सूचना प्रवाहले महŒवपूर्ण भूमिका खेल्ने बताए ।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले स्थानीय निकायहरूमा सर्वसाधारणलाई सूचना प्रवाह गर्ने माध्यम वडापत्र राख्ने र सार्वजनिक सुनुवाइहरू पनि गर्ने कार्य भइरहेको बताए ।
सुर्खेतका ६१ कार्यालयमा सूचना अधिकारी
सुर्खेतका ६१ वटा सरकारी तथा गैरसरकारी कार्यालयमा सूचना अधिकारी तोकिएको छ । बिहीवारको अन्तरक्रियामा राष्ट्रिय सूचना आयोगकी आयुक्त यशोदा तिम्सिनाले सुर्खेतका सरकारी कार्यालयमा तोकिएका सूचना अधिकारीको नाम सार्वजनिक गरेकी हुन् । सूचना प्रणालीलाई व्यवस्थित गर्न र कार्यालयबाट प्रवाह हुने
सेवा सुविधालाई जनतालाई
सहज रूपमा उपलब्ध गराउनका लागि सूचना अधिकारी तोकिएको बताइएको छ ।
जसमा यसअघि नै जिल्लास्थित मुख्य सरकारी कार्यालयमा सूचना अधिकारी तोकिएको थियो । तर नौ वटा स्थानीय तहसहित जनतासँग सम्बन्धित सबै सरकारी कार्यालयमा सूचना अधिकारी तोकिएको यो पहिलो पटक हो ।
साझा बिसौनी संवाददाता ।