किन हुने गर्दछन् महोत्सवहरू ?
बालकृष्ण सुनार |
हाम्रो नेपाली समाजमा विभिन्न प्रकारका सांस्कृतिक चाडपर्व र मेलाजात्राहरू रहेका छन् । हाम्रा पूर्वजहरूले पौराणिककालदेखि नै विभिन्न प्रकारका मेला, जात्रा, वा चाडपर्वहरूलाई विभिन्न स्वरूप दिएर मनाउँदै आइरहेका छन् । तिनीहरूलाई हामीले अहिले अलि गहिरिएर बुझ्यौ वा अध्ययन ग¥यौं भने, त्यसको आवश्यकता र उपयोगिताको विषयमा केही सकारात्मक दृश्यहरू हामी देख्न सक्दछौं । ती पर्वहरू निश्चित समय र स्थानहरूमा लाग्ने गर्दथे । ती कुनै देवी देवताका नाउँमा होस् वा कुनै दिन विशेषको अवसर पारेर होस् ती जात्रा वा मेलापर्वहरूलाई सबैले खास महŒव दिने गर्दथे । हाम्रो जस्तो भौगोलिक विकटता भएका क्षेत्रहरूमा सबैसँग सधैं भेटघाटको अवसर जुट्दैन थियो । अहिलेको जस्तो सञ्चारको सुविधा त्यसबेला थिएन । मानिसका शुभ–अशुभ कार्यहरूमा सञ्चारका साधन भनेको तीनै बाजागाजा, शंख, झ्याली र घण्टहरू हुने गर्दथे । जसको प्रयोगबाट एक ठाउँको सूचना अर्को ठाउँका मानिसहरूले तिनीहरूबाट निस्कने आवाज वा ध्वनीबाट थाहा पाउँथे ।
यहाँसम्म कि एक गाउँका मानिसहरू अर्को ठाउँका मानिसहरूका बीचमा द्वन्द्व वा लडाईं गर्न समेत ती बाजागाजाहरूको प्रयोग हुने गर्दथ्यो । ती बाजागाजा वा ताल र ध्वनी अनुसार नै दुई समूहका बीचमा घम्सा घम्सी लडार्इं हुने गर्दथे । लडाईंमा हाक दिने र लडाईं रोक्न समेत ती बाजाहरूको प्रयोग हुने गर्दथ्यो भनेर पूराना हाम्रा बुर्जुकहरू अहिले पनि बताउने गर्नु हुन्छ । चाहे युवा युवतीका बीचका माया प्रेमका विषय हुन वा एक आपसमा मित्रहरूका बीचमा मित्रत्रा गाँस्ने र विरोधी समूहका बीचमा शत्रूता साँध्ने र एक आपसमा भेटघाटमार्फत् हालखबर बुझ्ने र रमाइलो मनोरंञ्जन गर्ने, वा आफूले उत्पादन गरेका वस्तुहरूको बिक्री वितरण गर्ने र आफूलाई आवश्यक पर्ने सामग्रीहरू खरिद गरी लैजाने रूपमा ती जात्रा वा मेलाहरू लाग्ने गर्दथे । तर अहिले ती जात्रा र मेलाहरूका स्वरूपहरू बदलिएर तीनलाई अहिले कैयांै ठाउँ विशेषमा महोत्सवको नाउँ दिने गरिएको छ । विशेषतः देशमा लोकतन्त्रको आँगमन पश्चात देशभरी महोत्सव लगाउने होडबाजी अधिकांश जिल्ला वा क्षेत्रहरूमा व्यापक रूपले चल्दै आइरहेको छ । हाम्रै सुर्खेत जिल्लामा पनि कैयांै आयोजकहरूद्वारा आयोजना गरेर महोत्सव लागिसकेका छन्, भने अहिले पनि पर्यटन विकास मञ्च सुर्खेतको आयोजनामा यही पौष २३ देखि ‘हाम्रो शान, पर्यटनसँगै कृषि र लघुउद्यमको अभियान’ भन्ने नारासहित महोत्सव चलिरहेको छ र फेरि अर्काे महोत्सव सुर्खेत उद्योग वाणिज्य संघको आयोजनामा सायद अर्काे महिनातिर हुँदैछ रे भन्ने सुन्नमा आएको छ । आखिर यो महोत्सव भन्ने हो
के ? के यी महोत्सवहरूले यहाँको पर्यटन कृषि, उद्योग, व्यवसायमा टेवा पु¥याएका छन् ? वा विभिन्न समयमा सञ्चालन भएका महोत्सवहरूले उल्लेख गरेका नारा अनुसारको उद्देश्य हासिल गर्न सफल भएका छन् त ? यी अहिले चल्ने मेला महोत्सवहरूले राष्ट्र र जनताको अवस्थामा केही सकारात्मक परिवर्तन ल्याउने कार्यमा मद्दत गरेका
छन् ? के ती अहिलेसम्म चलेका महोत्सवहरूको आर्थिक हिसाब–किताब पारदर्शी ढङ्गले बाहिर आउने गरेका छन् ? भन्ने प्रश्न यहाँका सर्वसाधारणहरूले कहिलेकाही उठाउने गरेको सामान्य ढङ्गले सुन्न पाइन्छ ।
हामीले देखेका छौं कैयांै मन्त्रीहरूका काम त यिनै महोत्सवहरू उद्घाटन र समापन गर्नेरहेको छ भनेर जनताले सरकारलाई व्यङ्ग्य हान्दै यो देशमा विभिन्न कार्यक्रम उद्घाटन र समापन गर्नका लागि एउटा उद्घाटन तथा समापन मंन्त्रालय पनि गठन हुनु प¥यो भनेर हाँसोको विषय बनाउने पनि गरेका छन् । वास्तवमा एउटा परिवर्तित अवस्थाअनुसार हाम्रा संस्कार संस्कृतिहरूमा परिवर्तनहरू आउनुमा अन्यथा मान्न सकिदैन तर ती संस्कार र संस्कृतिहरू समाज विकासको नियमअनुसार राष्ट्र र जनतालाई अग्रगतितिर लैजाने मार्ग दर्शनको रूपमा काम गर्न सके त्यो सकारात्मक हुने थियो । तर अहिले चल्ने यी मेला महोत्सवहरू जनतालाई उर्जा दिने, देशको अर्थतन्त्रलाई माथि उठाउन मद्दत गर्ने, युवा युवतीहरूको युवा जोस र जागरलाई राष्ट्र निर्माणको लागि आत्मबोध गराउने, जनताको राष्ट्रियताको भावनालाई माथि उठाउने भन्दा पनि यो केही व्यक्ति र समूहहरूको राम्रो कमाउने व्यापार, व्यवसाय भएको कुरा पनि आम जनमानसमा चर्चाको विषय हुने गरेको छ । आज कैयांै महोत्सवहरूमा ठूलो धनराशी राज्यका विभिन्न निकायहरूबाट खर्च हुने गर्दछ त्यसको व्यवस्थापनमा के कति खर्च भयो, जनताको
तहबाट उठाइएको रकमको राम्रोसँग सदुपयोग हुन सक्यो वा सकेन भन्ने विषयमा राज्यका कुनै मेकानिजमहरूमा कुनै लेखाजोखा नै छैन । जसले जे गर्दे पनि हुने परिपाटीको विकास भएको छ ।
कसैले महोत्सव सञ्चालन गर्न कुनै दिन बार हेराउनु पर्दैन जुन समूहलाई मनमा महोत्सव आयोजना गर्ने लहड चल्यो उसले एउटा नारा बनाएर बेरोजगार जनताको भिडलाई ५०–६० को टिकट कटाउँदै खोरभित्र छिराएर लाखौं लाखको कारोबार गर्न सक्दछ । हामीले विगतदेखि देख्दै आएका
छांै । चाहे जुनसुकै आयोजक होस् उसले ब्यानरमा लगाइएको नारा भन्दा पनि स्टेजमा आएर नाच्ने र गाउने कलाकारको बढी विज्ञापन गर्ने गरेका छन् । ती सङ्कलित भएका रकमहरू पनि तीनै माया पिरतीका गीत गाउने र नाच्नेहरूका गोजीमा धेरै भन्दा धेरै जाने गरेको कुरा विगतका एकजना आयोजकमध्येका मित्रले यस पंक्तिकारलाई जानकारी गराएका थिए । यो हामी सबैलाई थाहा भएको विषय हो कि हामी नेपालीहरूलाई प्रकृतिले विभिन्न प्राकृतिक सम्पदाहरूको खानी नै दिएको छ ।
प्राकृतिक रूपले हामी सम्पन्न हुँदाहँुदै पनि हाम्रो देशका पराधिनतावादी सोच र चिन्तन भएका शासकहरूका कारण यति प्यारो जन्मभूमि छाडेर कैयांै युवायुवतीहरू विदेशका गल्लीहरूमा रोजगारीको निम्ति भौतारिनु पर्ने अवस्था छ । घरका चिसा चुला तताउन वा जहान परिवार पाल्न सात समुन्द्र पार गरेर जानुपर्ने विवशता कैयांै हामी नेपालीहरूको छ । कैयांै कमाउन भनेर गएका युवा युवतीहरूका जीवनलिला नै उही सक्एिर वाकसमा दैनिक जसो लाशहरू त्रिभुवन विमानस्थलबाट भित्रिएर गाउँघरसम्म आइपुग्दछन् । यस्तो कहाली लाग्दो र कारुणिक जीवन बाँचेका हामीलाई त्यसबाट मुक्तिको मार्ग देखाउने कला साहित्य र संस्कृतिको आवश्यकता छ । जसले हामीलाई जीवन जीउने कला र सीप दिन सकोस्, राष्ट्रलाई समृद्धितिर अग्रसर गराउने ज्ञान दिन सकोस्, राष्ट्रिय भावनाद्वारा ओतप्रोत भएका सन्देश प्रवाह गर्न सकोस्, बैरीहरूप्रति घृणा र मित्रहरूप्रति अगाध प्रेम दिन सक्ने सन्देस प्रवाह गर्न सकोस् त्यस्तो प्रकारका संस्कृति अहिलेको हाम्रो आवश्यकता हो ।
महोत्सवले सबै क्षेत्रका जनतालाई क्षणिक मनोरंञ्जन दिने भन्दा पनि त्यसले समाज र राष्ट्रलाई केही योगदान दिन सक्ने हुनु पर्दछ र त्यसको सञ्चालन र व्यवस्थापन केही मुनाफा कमाउन कस्सिएका समूह वा व्यक्तिले होइन राज्यकै नियमनकारी निकायले यसको सञ्चालन व्यवस्थापन र आयोजना निश्चित समय र ठाउँका गर्ने योजना बनाएर लाग्न सके महोत्सवको आवश्यकता र उपयोगिताको विषय अपरिहार्यता बन्न सक्ने थियो ।
साझा बिसौनी संवाददाता ।