‘कलाकारितासँगै समाज सेवा गर्छु’

स्मृति शाही
गायिका
स्मृति शाही नेपाली सङ्गीतका क्षेत्रमा अहिले चर्चाको शिखरमा छिन् । पिता भद्रबहादुर शाही र माता कमला शाहीको कोखबाट २०४६ सालमा सुर्खेतको वीरेन्द्रनगरमा जन्मिएकी स्मृति बाल्यकालदेखि नै गीत गाउने गर्थिन् । गीत गाउनु उनको सबैभन्दा ठूलो रुचि हो । आफ्नो रुचि अनुसारको पेसा रोजेकी उनले छोटो समयमा कलाकारिताको क्षेत्रमा आफूलाई स्थापित गरिसकेकी छिन् । पछिल्लो समय चर्चित आधुनिक गायिकाका रूपमा आफूलाई स्थापित समेत गराइसकेकी गायिका स्मृति शाहीसँग सहकर्मी गीता थापाले गरेको कुराकानी ः
सञ्चै हुनु हुन्छ ?
सञ्चै छु । 
हिजोआज के मा व्यस्त हुनुहुन्छ ? 
म सङ्गीतका क्षेत्रमा क्रियाशील छु, त्यसकारण पनि मेरो व्यस्तता बढी नै हुन्छ । हिजोआज पनि सङ्गीतकै क्षेत्रमा काम गरिरहेकी छु । यस्तै विभिन्न जिल्लाहरूमा मेला तथा महोत्सवहरू भइरहेका छन् । ती महोत्सवहरूमा प्रस्तुती दिन बोलाउनुहुन्छ । त्यसकारण पनि अहिले महोत्सवहरू मै बढी व्यस्त छु । 
गायन क्षेत्रमा कहिलेदेखि लाग्नु  भयो ? 
म बाल्यकालदेखि नै गीत गाउने गर्थे । विद्यालयमा हुने प्रायः कार्यक्रमहरूमा म गीत गाउथे । गायन मेरो बाल्यकालदेखिको नै रुचि हो । बाल्यकालदेखि नै गाउने भए पनि म औपचारिक रूपमा गायन क्षेत्रमा २०६४ सालदेखि प्रवेश गरेकी हुँ । त्यसपछि निरन्तर यसै क्षेत्रमा क्रियाशील छु ।
सङ्गीतभित्र पनि विभिन्न विधाहरू हुन्छन् तर, तपाईंले गायन नै किन रोज्नु भयो ?
हुन त सङ्गीत विधामा धेरै विधाहरू छन् । म चाहिँ गायन विधामा नै लाग्नुमा मेरो सानै देखिको रुचि पनि हो । मेरो सानैदेखिको रुचि भएका कारण म गायन क्षेत्रमा नै लागेको हो । फेरि सुर्खेतमा लोक गायक गायिकाहरू धेरै हुनुहुन्छ । त्यसमा पनि म सानैदेखि आधुनिक गीत बढी गाउने भएकाले पनि म आधुनिक गायनमा नै लागे । सानोमा मैले गीत गाउँदा धेरैले तिम्रो स्वर राम्रो छ भन्नुहुन्थ्यो । मलाई पनि म गीत गाउन सक्छु जस्तो लाग्थ्यो । त्यसैले गायन नै रोजेँ । पछिल्लो समय मैले आधुनिक गीत मात्र नभएर लोक, देउडा गीत पनि गाएको छु । 
गीत गाएर जीवन निर्वाह गर्न कतिको सम्भव छ ? 
नेपालको हिसाबमा हेर्ने हो भने गीत गायर नै बाँच्नलाई त अलि गाह्रो नै छ । तर, पनि त्यो आफूमा भरपर्ने कुरा पनि हो । नियमित रूपमा आफू लागेको क्षेत्रमा लगनशील भएर मेहेनत गरेमा यही क्षेत्रबाट पनि सहज रूपमा जीविकोपार्जन गर्न सकिन्छ । यो क्षेत्रमा टिक्न र बाँच्न पनि सकिन्छ । अन्य देशको तुलनामा नेपालमा कलाकारितामा लागेर बाँच्न गाह्रो नै देखिन्छ । त्यसमा पनि आफूमा आत्मविश्वास र मेहेनत भयो भने पक्कै बाँच्न सजिलो पनि हुन्छ । 
तपाईं त सुर्खेतमा जन्मिएको मान्छे राजधानीमा नै बस्नुहुन्छ सुर्खेतबाट काठमाडांै सम्म पुग्नको लागि कतिको चुनौती भोग्नु प¥यो ? 
हुन त एउटा स्थानीस्य स्तरको कलाकार राष्ट्रियस्तरसम्म पुग्नको लागि धेरै सङ्घर्ष गर्नुपर्छ । सुर्खेतदेखि काठमाडौंसम्म गएर आफूलाई स्थापित गराउन त धेरै चुनौतीको विषय नै हो । म चाहिँ राजधानीमा एउटा अवसर पाएर नै गएको थिएँ । एनेपी सङ्गीत सरगम भन्ने संस्थाले हरेक वर्ष ८ जनालाई म्युजिक सम्बन्धी तालिम दिने रहेछ । मैले पनि त्यो थाहा पाएर काठमाडांै गएँ । हामी चार जना केटी र चार जना केटा 
थियौं । त्यसमा पनि चार जना केटीमध्ये हामी दुई जना पढेका र दुई जना नपढेका केटी थियौं । त्यसमा म छनौट भएँ र तीन वर्षसम्म छात्रवृत्ति पाएर म्युजिक सिक्न पाएँ । उता म छनौटमा परेको र यता मेरो एसएलसी परीक्षा पनि नजिकै आइरहेको हुँदा मलाई घरबाट जान नदिने कुरा भएको थियो तर, मैले मानिँन र गएँ । त्यतिबेला मेरो लागि एकदमै चुनौती पनि थियो । तर, आटेंपछि नसकिने भन्ने कुरा केही रहेनछ । काठमाडांैमा कलाकारहरूको भीड नै हुन्छ त्यो भीडमा आफूलाई स्थापित कसरी गराउने भन्ने कुरा पनि अर्काे चुनौती हो । जति बाहिरबाट हेर्दा कलाकारिता क्षेत्र राम्रो र सहज देखिन्छ त्यसमा प्रवेश गरेर काम गर्न उति नै गाह्रो हुन्छ । 
हालसम्म कति वटा गीत गाइसक्नु भएको छ ?
मैले हालसम्म आधुनिक, लोक, देउडा र चलचित्रका गीत गरेर सात सय भन्दा धेरै गीत गाइसकेको छु । मैले गाएको पहिलो गीत राष्ट्रिय गीत ‘लाखौं प्रहार एकै साथ’ बोलको गीत हो । 
आफूले गाएको गीतमध्ये तपाईंलाई मनपर्ने गीत कुन हो ? 
हुन त आफूले गाएको सबै गीत मनपर्छ । छनौट गर्न अलि गाहै्र पर्छ । एउटा आमालाई आफ्ना सबै सन्तान प्यारो लागे जस्तै आफूले गाएको सबै गीतहरू मन पर्ने गर्छ । त्यसमा पनि मलाई सबै सामु चिनाएको र स्रोतले पनि धेरै मन पराउनु भएको गीत ‘म मरेर के भो म जस्तो हजार पाइहाल्छौं …।’ बोलको गीत मन पर्छ । यो गीत गाउँदा नै मलाई आशा थियो यो गीत स्रोताले मन पराउनु हुन्छ, नभन्दै स्रोताले मन पनि पराउनु भयो । यो गीतले नै मलाई चर्चामा पनि ल्यायो । 
विहेको बारेमा केही सोच्नु भएको छ ?
हा.हा.हा… विहेको बारेमा अहिले नै केही सोचेको छैन । हुन त छोरी भएर जन्मे पछि एक दिन विहे गर्नै पर्छ । फेरि केटी मान्छेलाई विहेपछि कलाकारिता क्षेत्रमा लाग्न अलि गाह्रो पनि हुन्छ । 
अहिलेसम्म कसैले प्रेम प्रस्ताव राखेका छैनन् ?
हा…हा..हा..हा… किन नआउनु नि आए । तर, कति आए भनेर त गन्नै पर्छ । 
मनपर्ने खाना र सहर कुन हो ? 
मलाई मनपर्ने खानामा साँधेको आलुको अचार एकदमै मनपर्छ । मनपर्ने सहर भने आफ्नै जन्मभूमि सुर्खेत र पोखरा मनपर्छ । 
गायन क्षेत्रमा लाग्नु तपाईंलाई कसले प्रेरणा दियो ? 
म सानैदेखि गीत गाउने भएकाले पनि मलाई सबैले सहयोग र हौसला दिनु हुन्थ्यो । विशेष गरेर मेरा आदणीय गुरुहरू, साथी र मेरो घरपरिवारले मलाई गीत गाउनमा हौसला र प्रेरणा दिनु भएको थियो । उहाँहरूले अझैसम्म मलाई साथ र हौसला दिइरहनु भएको छ । 
तपाईंको विचारमा जिन्दगी के हो ? 
मेरो विचारमा जिन्दगी सङ्घर्ष हो । मान्छे जन्मेदेखि उसको मृत्यु नहुने बेला सम्म सङ्घर्ष गरिरहेको हुन्छ । एउटा भर्खर जन्मेको बच्चाले त भोक लाग्दा दुध खान रोएर सङ्घर्ष गरिरहेको हुन्छ । त्यसकारण जिन्दगी सङ्घर्ष नै हो । 
तपाईंको भावी योजना के छ ? 
मेरो भावी योजना भनेको समाज सेवामा लाग्ने रहेको छ । दिन दुःखीहरूको सेवा गरेर उनीहरूलाई सहयोग गर्ने र म्युजिकलाई नै निरन्तरता दिनेछु । 
अन्त्यमा केही भन्न चाहनुहुन्छ ? 
अन्त्यमा मलाई माया गरेर यहाँसम्म आज स्मृति शाही भनेर चिनाउनु हुने सम्पूर्ण स्रोतालाई धेरै–धेरै धन्यवाद दिन चाहन्छु । मेरो पछिल्लो गीत चलचित्र प्रदेशीको ‘विछोडको करौतीले काट्नु मनै काट्यो, जाँदा जादै मूल बाटोको दुईटा पाटो पाट्यो…।’ बोलको गीतलाई पनि सबैले माया गरिदिनु होला । एकपटक सुन्नु होला र प्रतिक्रिया दिनुहोला र आगामी दिनहरूमा पनि मलाई यस्तै साथ र हौसला दिनुहोला भन्न चाहन्छु । 
प्रकाशित मितिः   ३० पुष २०७२, बिहीबार १०:५६