सरकारी कार्यालय नागरिक बडापत्रविहीन

साझा बिसौनी संवाददाता
जुम्ला, २९ पुस । 
यहाँका एक दर्जनभन्दा बढी सरकारी कार्यालयमा सूचनापाटी तथा नागरिक बडापत्र राखिएको छैन । गत साउनमा भएको कर्णाली स्वायत्त प्रदेश मागको आन्दोलनका क्रममा जिल्लाका सरकारी कार्यालयमा राखिएका नागरिक बडापत्र तथा सूचनापाटी तोडफोड गरिएको थियो । 
कर्णाली आन्दोलन भएको छ महिना बितिसक्दा पनि जिल्लाका सरकारी कार्यालय सूचनापाटीविहीन हुनाले सेवाग्राहीलाई सेवा लिन कठिन भएको नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष बरमबहादुर महतले बताए । अध्यक्ष महतले भने,  ‘सेवाग्राहीलाई साइनबोर्डविहीन कार्यालय पहिचान गर्न गाह्रो भएको छ, त्यसका साथै नागरिक बडापत्र नहुँदा कुन सेवा कसरी, कोसँग, कहाँबाट, कतिबेला लिने भन्नेमा सर्वसाधारणलाई कठिनाइ भएको छ ।’
सूचनापाटी तथा नागरिक बडापत्रविहीन कार्यालयमा जिविस, हुलाक, भू–संरक्षण, भवन डिभिजन, शिक्षा, स्वास्थ्य, वन, कृषि, पशु लगायत कार्यालय छन् । प्रजिअ दीपेन्द्रराज पौडेलले कार्यालय प्रमुखलाई ती सामग्री राख्न निर्देशन दिइएको बताए । 
प्रकाशित मितिः   ३० पुष २०७२, बिहीबार १०:५८