पाँच सय योजना प्रभावित

साझा बिसौनी संवाददाता
बाँके, २९ पुस । 
अघोषित नाकाबन्दीका कारण मध्यपश्चिमाञ्चल क्षेत्रका करिब पाँच सय निर्माण सम्बन्धी योजना प्रत्यक्ष प्रभावित भएका छन् । लामो समयदेखिको नाकाबन्दीका कारण इन्धन अभाव हुँदा ती योजना प्रभावित भएका हुन् । 
सबै योजना प्रभावित भएपछि यस क्षेत्रका करिब तीन हजार भन्दा बढी निर्माण व्यवसायी र त्यसमा काम गर्ने करिब दुई लाख मजदुरको रोजीरोटी समेत गुमेको मध्यपश्चिम क्षेत्रीय निर्माण व्यवसायी सङ्घका अध्यक्ष मोहन प्रकाश आचार्यले बताए । नाकावन्दीका कारण सरिया (छड), सिमेन्ट तथा इन्धन अभावका कारण निर्माण व्यवसायी अप्ठ्यारोमा परेको उनले बताए । 
निर्माण सामग्रीको मूल्य आकासिएको, कालोबजारी फस्टाएको, योजना ठप्प भएको बेलामा बैंकमा किस्ता तिर्नुपर्ने, कर्मचारीलाई तलब खुवाउनुपर्ने लगायतको आर्थिक समस्या, साना निर्माण कार्यको म्याद थप र मूल्यवृद्धि गर्न नपाउने कानुनी प्रावधानका कारण साना निर्माण व्यवसायीको घरखेतसमेत लिलाम हुने अवस्थामा आएकाले साना निर्माण कार्य मूल्यवृद्धि गर्न पाउने गरी योजनाको म्याद थप हुनुपर्ने लगायत माग उनीहरूले पत्रकार सम्मेलनमार्फत् अघि सारेका छन् ।
प्रकाशित मितिः   ३० पुष २०७२, बिहीबार ११:११