२८ महिनापछि पहिलो जीत

साझा बिसौनी संवाददाता
काठमाडौं, २९ पुस । 
नेपालले बंगलादेशमा भइरहेको बंगबन्धुगोल्डकप २०१६ मा बुधवार श्रीलंकामाथि १–० को जीत रचेको छ । यो जीतपछि नेपालको सेमिफाइनल प्रवेशको सम्भावना पनि बलियो बनेको छ । नेपालका लागि निर्णायक गोल विमल घर्तीमगरले गरे । नेपाल प्रतियोगिताको समूह ‘ए’ मा रहेको छ र टिमको दुई खेलपछि चार अङ्क भएको छ । नेपालले यसअघि आफ्नो पहिलो खेलमा मलेसियाका प्रिमियर लिग क्लब फेल्डासँग गोलरहित बराबरी खेलेको थियो । नेपालको सेमिफाइनल प्रवेशको समीकरण मंगलवार नै बंगलादेश र फेल्डाबीच हुने दोस्रो खेलले तय गर्नेछ । बंगलादेशको तीन र फेल्डाको एक अङ्क छ ।
अन्तर्राष्ट्रिय फुटबलमा नेपालले लामो समययता बुधवार जीत निकाल्न सफल रहेको हो । नेपालले अन्तिम पटक सन् २०१३ को सेप्टेम्बर ५ मा भारतलाई काठमाडौंमा भएको साफ च्याम्पियनसीपमा २–१ ले हराएको थियो । त्यसयता नेपालले १२ खेलमा जीत निकाल्न सकेन । त्यसमध्ये दस खेलमा नेपालले कुनै गोल पनि गर्न सकेको थिएन् । त्रिवेन्द्रममा नेपालले भारतविरुद्धको ४–१ को हारमा गोलको खडेरी समाप्त पारेको थियो । त्यसमा पनि बिमलनै गोल गरेका थिए । नेपालले श्रीलंकाविरुद्ध प्रशिक्षक बालगोपाल महर्जनको नेतृत्वमा पहिलो पटक खेलेको हो ।
बिमलको गोल खेलको दोस्रो मिनेटमै सम्भव भएको हो । ओभर ल्यापिङमा निस्केका रविन श्रेष्ठको क्रसमा बिमलले नजिकको दूरीबाट गोल गरेका हुन् । नेपाली राष्ट्रिय टीमका लागि बिमलको यो तेस्रो व्यक्तिगत गोल हो । उनका अरु दुई गोल पाकिस्तान र भारतविरद्ध रहेका छन् । हालै दक्षिण भारतीय राज्य केरलाको त्रिवेन्द्रममा भएको साफ च्याम्पिनसीप २०१६ मा नेपाल श्रीलंकाको हातबाट १–० ले पराजित भएको थियो । इन्ज्युरी समयको अन्तिम मिनेटमा भएको गोलले श्रीलंका विजयी भएपछि साफ च्याम्पियनसीपमा नेपालको चुनौती समाप्त हुनुको प्रमुख कारण बनेको थियो ।
प्रकाशित मितिः   ३० पुष २०७२, बिहीबार ११:१३