केन्द्रीय सदस्यसहित दर्जन नेता कारबाहीमा

                                                                                                                                                                                                                                                 फाइल फोटो

नेकपा (माओवादी केन्द्र) सुर्खेतले स्थानीय तहको निर्वाचनमा पार्टीले व्यहोरेको पराजयको समीक्षा गरेको छ । मंगलवार र बुधवार वीरेन्द्रनगरमा जिल्ला कमिटीको सचिवालय बैठक आयोजना गरी माओवादीले निर्वाचन परिणामबारे समीक्षा गरेको हो ।
माओवादीले निर्वाचनको समीक्षा गर्नुका साथै निर्वाचनमा पार्टीलाई असहयोग गर्ने केन्द्रीय सदस्यदेखि जिल्लातहका एक दर्जन भन्दा बढी नेताहरूलाई कारबाही गरेको छ । पार्टीको राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य गोपाल बिसी र केन्द्रीय सल्लाहकार समिति सदस्य टेकनारायण विकलाई कारबाहीका लागि सिफारिस गरिएको छ । निर्वाचनका क्रममा आफ्नो जिम्मेवारी पूरा नगरेको, पार्टीलाई नै असहयोग गरेको भन्दै माओवादीले उनीहरूलाई कारबाहीका लागि सिफारिस गरेको हो । अर्का एक जना केन्द्रीय सदस्यलाई पनि लिखित स्पष्टीकरण सोधिएको जनाइएको छ ।

त्यसैगरी पार्टीले जिल्लामा पराजय व्यहोरेपछि सुर्खेत जिल्ला इञ्चार्ज एवम् केन्द्रीय पोलिटब्यूरो सदस्य नरबहादुर विष्टले राजीनामा दिने घोषणा गरेका छन् । उनका साथै जिल्लाका करिब एक दर्जन राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्यहरूले समेत राजीनामा दिने घोषणा गरेका छन् । माओवादी केन्द्र स्रोतका अनुसार उनीहरूले राजीनामा दिने मौखिक घोषणा गरिसके पनि लिखित रूपमा भने दिइसकेका छैनन् । यद्यपि लिखित रूपमै राजीनामा दिने तयारी गरेको बुझिएको छ । केन्द्रीय सदस्यहरूले लिखित रूपमा राजीनामा दिएमा जिल्लाले स्वीकृतका लागि केन्द्रलाई सिफारिस गर्नेछ ।

केन्द्रीय सदस्यहरूले पार्टीले मनोनित गरेको जिम्मेवारीबाट नैतिकताका आधारमा राजीनामा घोषणा गरिरहँदा निर्वाचनमा पार्टीहित विपरित कार्य गरेको आरोपमा एक दर्जनभन्दा बढी जिल्ला कमिटी सदस्यहरू पनि कारबाहीमा परेका छन् । पार्टीकै उम्मेदवारविरुद्ध वागी उम्मेदवारी दिने, पार्टीलाई असहयोग गर्ने र पार्टीहित विपरितका कार्य गर्ने ११ जना जिल्ला कमिटी सदस्यहरूलाई पार्टीबाट निष्काशन नै गरिएको छ । त्यस्तै ती जना जिल्ला कमिटी सदस्यहरूलाई भने एक वर्षका लागि निलम्बन गर्ने निर्णय गरिएको नेकपा माओवादी केन्द्र सुर्खेतका एक नेताले जानकारी दिए । उनले पार्टीहित विपरित जानेहरूलाई कारबाही गर्ने निर्णय गरिएको बताए ।

पार्टीको महŒवपूर्ण जिम्मेवारीमा रहेर पनि जिम्मेवारी पूरा नगर्ने, आफ्नै उम्मेदवारहरूलाई हराउन भूमिका खेलेका, वागी उम्मेदवारी दिएका र पार्टीको विधि र विधान विपरित क्रियाकलाप गर्नेहरूलाई पार्टीले कारबाही गरेको र यसले आगामी दिनमा यस्ता गतिविधि नदोहोरिन सचेत गराउने निश्कर्ष पार्टीले निकालेको ति नेताले जानकारी दिए । जिम्मेवारी पाएका सबैले आफ्नो जिम्मेवारी पूरा गरिदिएको भए सुर्खेतमा पार्टीले सबै ठाउँमा पराजय व्यहोर्नु नपर्ने भन्दै उनले अब पार्टी संगठनलाई बलियो र मजबुत बनाउनका लागि लाग्ने निर्णय समते गरिएको जानकारी दिए ।

समीक्षाका क्रममा पराजय व्यहोर्नुको कारण पहिचान गर्नुका साथै आगामी दिनमा गर्नुपर्ने काम र योजनामाथि पनि छलफल भएको थियो । उक्त छलफलपछि अब जिल्लामा संगठन सुदृढीकरणका लागि अभियान सञ्चालन गर्ने, आगामी दिनमा हुने निर्वाचन लक्षित गतिविधि सञ्चालन गर्ने, पार्टीको संगठनात्मक गतिविधि बढाउने लगायतका निर्णय गरिएको छ ।

यसैबीच पार्टीको जिल्ला अधिवेशन आगामी भदौ महिनामा गर्ने निर्णय समेत गरिएको छ । स्थानीय तहको निर्वाचनका कारण जिल्ला अधिवेशन पछाडि सरेको भन्दै संयोजक जिसीले भदौ महिनामा अधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्ने जानकारी दिए । झण्डै एक वर्षदेखि सुर्खेतमा जिल्ला सम्मेलन आयोजक समितिले नै पार्टी सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मितिः   २५ जेष्ठ २०७४, बिहीबार १३:२९