‘निर्वाचनको परिणाम अनपेक्षित आयो’

पहिलो चरण अन्तर्गत सुर्खेतमा गत वैशाख ३१ गते स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ । उक्त निर्वाचनबाट सुर्खेतका नौ वटा स्थानीय तहमध्ये ६ वटामा नेपाली कांग्रेसले जीत हासिल ग¥यो भने तीन वटाको नेतृत्व नेकपा एमालेले आफ्नो पक्षमा पा¥यो । मुलुकको तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) भने सुर्खेतमा केही वडामा सीमित हुन पुग्यो । नौं मध्ये कुनै पनि स्थानीय तहको नेतृत्व माओवादीले जित्न सकेन । निर्वाचनको परिणाम आइसकेपछि जिल्ला कमिटी सचिवालय समितिको बैठक बसेर माओवादी केन्द्रले निर्वाचन परिणामको समीक्षा समेत गरिसकेको छ । यसै सन्दर्भमा रहेर हामीले नेकपा (माओवादी केन्द्र) सुर्खेतका संयोजक कृष्ण जिसी ‘जितेन्द्र’ सँग कुराकानी गरेका छौं । प्रस्तुत छ, उक्त कुराकानीको सम्पादित अंशः

भर्खरै स्थानीय तहको निर्वाचन भयो । सुर्खेतको निर्वाचनको परिणामलाई माओवादी केन्द्रले कसरी मूल्यांकन ग¥यो ?
-सुर्खेतको निर्वाचनको परिणाम हाम्रा लागि अनपेक्षित रह्यो । जिल्लाका नौं वटा स्थानीय तहमध्ये केहीमा हामीले जित्ने सम्भावना थियो र जित्ने विश्वासमा थियौं तर परिणाम हाम्रो पक्षमा आएन । हामी लक्ष्यमा पुग्न सकेनौं ।

सुर्खेतमा माओवादी केन्द्रको संगठन त कमजोर नै रहेछ हैन ?
– होइन, संगठन नै कमजोर भएको होइन तर हाम्रा संगठनात्मक गतिविधि भने कम हुनु कमजोरी हो । माओवादी शान्तिप्रक्रियामा आइसकेपछि यसपटक हामीले सुर्खेतमा पार्टी संगठन र सदस्यतालाई व्यवस्थित गरेका छौं । बाहिर भ्रम फिजाइए जस्तो माओवादी केन्द्रको संगठन कमजोर भएको छैन ।

तपाईं आफै पार्टीको पोलिट्ब्यूरो सदस्य हुनुहुन्छ । सुर्खेतमा सबैभन्दा धेरै केन्द्रीयस्तरका नेताहरू भएको पार्टी पनि तपाईंहरूकै हो । तर पनि संगठन किन यति कमजोर भएको ?
-मैले अघि पनि भने हाम्रो संगठन नै कमजोर भएको होइन तर हाम्रा केही कमजोरी भने भए । सुर्खेतमा अधिकांश हाम्रा कार्यकर्ता बाहिर जिल्लाबाट बसाइँ सरेर आएका छन् । उनीहरूलाई समयमै संगठित गर्न चुक्यौं । हाम्रा राजनीतिक एजेण्डा र विषयवस्तु जनतामाझ प्रष्टसँग लैजान सकिएन । बारम्बार हुने पार्टी विभाजनले जनताको मनोविज्ञान पनि विभाजित गरायो । हाम्रो पार्टीविरुद्ध सुनियोजित रूपमा गलत प्रचार गरेर जनतामा भ्रम फैलाइयो । यी लगायत यावत कारणले गर्दा हामीले अपेक्षाकृत नतिजा प्राप्त गर्न नसकेका हौं ।

स्थानीय तहको निर्वाचनमा पराजय व्यहोर्नुभयो । अब हुने प्रदेश र केन्द्रको निर्वाचनमा दुई ठूला दल कांग्रेस र एमालेसँग कसरी प्रतिस्पर्धा गर्नुहुन्छ ?

-प्रदेश र केन्द्रको निर्वाचन स्थानीय तहको भन्दा फरक हुन्छ । र, स्थानीय निर्वाचनमा हामीले पराजय भोगे पनि प्रदेश र केन्द्रको निर्वाचनमा हामीले जित्छौं । स्थानीय निर्वाचनबाट जनताले जसलाई निर्वाचित गराएर पठाएका छन् उनीहरूको कार्यशैलीका कारण आफ्नो अधिकार क्षेत्र समेत बोध नभएकाहरूलाई छनौट गरेकोमा जनताले गल्ती गरेको महसुस पक्कै गर्नेछन् । अब हामी हाम्रो एजेण्डा जनतालाई घरघरमै पुगेर बुझाउँछौं र प्रदेश निर्वाचनमा कांग्रेस र एमालेसँग प्रतिस्पर्धा गर्ने मात्र होइन जित्छौं पनि ।

२०६४ मा एउटा क्षेत्र जित्नुभयो, अरु दुई क्षेत्रमा पनि मत राम्रै थियो । २०७० मा तीन वटै क्षेत्रमा मत आधा घट्यो । स्थानीय निर्वाचनको परिणाम अझ कमजोर देखियो । सुर्खेतमा माओवादी दिन प्रतिदिन कमजोर बन्दै गएको हो ?
-मलाई त्यस्तो लाग्दैन । मैले अघि पनि भनें यहाँका धेरै नेता कार्यकर्ता र शुभेच्छुकहरू बाहिर जिल्लाबाट बसाइँ सरेर आएका पाइयो । उनीहरूको मतदाता नामावली यहाँ रहेनछ । त्यसलाई व्यवस्थित गर्न सकिनए जुन हाम्रो कमजोरी हो । कतिपय ठाउँमा बागी उम्मेदवार बनिदिँदा पनि समस्या भयो भने जित्नसक्ने ठाउँमा समयमे उम्मेदवारको टुङ्गो लगाउन नसक्दा पनि समस्या निम्तियो । सबै जनतालाई माओवादीका राजनीतिक एजेण्डा र विषय बुझाउन नसक्दा थप समस्या भयो । यिनै कारणले गर्दा स्थानीय तहमा पराजय हुनुपरेको हो तर संगठन कमजोर हुँदै गएको होइन । हाम्रो पार्टी सदस्यता बरु दिनप्रति दिन वृद्धि भइरहेको छ ।

स्थानीय तहमा तपाईंहरूको प्रतिनिधित्व अत्यन्तै न्यून भयो । अब जिल्लाको विकास निर्माणका गतिविधिदेखि जनतासँग प्रत्यक्ष जोडिएर कसरी काम गर्नुहुन्छ ?
-हामी हिजो पनि जनतासँगै थियौं, आज पनि जनतासँगै छौं र भोलि पनि जनतासँगै हुनेछौं । हाम्रो एजेण्डा जनता केन्द्रित छन् । तिनै एजेण्डाहरू कार्यान्वयन गराउन लाग्छौं । निर्वाचित जनप्रतिनिधिहरूलाई रचनात्मक सहयोग गर्छौं । सल्लाह र सुझाव दिन्छौं । गल्ती गरेमो खबरदारी गर्छौं । जितेकाहरूसँग बहुमत भए पनि उनीहरूले अब सबैको निम्ती र सबैसाग मिलेर काम गर्नुपर्दछ । कसैले पनि कसैलाई बाहिर राखेर वा निश्चित पार्टीको झण्डा बोकेर स्थानीय तह सञ्चालन गर्न सक्दैन र पाउँदैन ।

अब हुने प्रदेश र केन्द्रको निर्वाचनबाट पार्टीको अवस्था कस्तो हुने आँकलन गर्नुभएको छ ?
-प्रदेश र केन्द्रको निर्वाचनमा स्थानीय तहको निर्वाचनमा जस्तो अवस्था रहँदैन । अझ प्रदेश नम्बर ६ को सन्दर्भमा भन्नुपर्दा माओवादी केन्द्र नै पहिलो दल हो । प्रदेश ६ का अधिकांश स्थानीय तहमा कांग्रेस र एमालेले सहकार्य गरेर माओवादीलाई पराजय गरेका छन् । हाम्रा उम्मेदवारले पराजय व्यहोरेको ठाउँमा पनि निकै कम मतको मात्र अन्तर छ । त्यसैले प्रदेश निर्वाचनमा हामीले सुर्खेतसहित प्रदेश ६ का अधिकांश स्थानमा जित्छौं ।

जिल्ला नेतृत्व कमजोर भयो, कार्यकर्ताहरूले धमाधम पार्टी छोडे । आफ्नै कार्यकर्ता जोगाउन सकेन भन्ने आरोप पनी जिल्ला नेतृत्वलाई लाग्ने गरेको सुनिन्छ । के भन्नुहुन्छ ?
-पक्कै पनि जिल्ला नेतृत्वको हैसियतले पार्टी पराजयको जिम्मेवारी मैले र नेतृत्वले लिनैपर्छ । जित्दाको सकारात्मक जस र हार्दाको नैतिक जिम्मेवारी नेतृत्वमा नै जान्छ । सुर्खेतमा पराजय हुनुको जिम्मेवारी लिन म तयार छु । साथै मैले के पनि भनेको छु भने अहिलेको भन्दा सक्षम नेतृत्व आउँछ भने जिल्लाको नेतृत्व बदल्न पनि म तयार छु । पार्टी र संगठनलाई बलियो बनाउन मेरो समर्पणका साथै त्याग पनि हुन्छ । तर पराजयका सबै कारण केलाएर त्यही अनुसार आगामी रणनीति बनाएर पार्टी अघि बढ्नुपर्दछ ।

अन्त्यमा, केही भन्नु छ ?
-स्थानीय तहको निर्वाचनमा पार्टीले अपेक्षाकृत नतिजा नल्याउँदा नेतृत्व तहमा निराशा छाए पनि कार्यकर्तामा भने त्यस्तो देखिएको छैन । कार्यकर्ताहरूले नै निर्वाचनमा सहभागी हुनु पनि संघर्षको एउटा पक्ष भएको भन्दै नेतृत्वलाई नै थप ऊर्जा र हौसला प्रदान गरिरहेको मैले पाएँ ।
कहिलेकाहीं असफल भइन्छ तर कमजोरी सुधार्दै गए सफलता प्राप्त हुन्छ । म सुर्खेतका सबै नेता तथा कार्यकर्तालाई निराश नहुनु र आगामी विजयका लागि लाग्न आग्रह गर्न चाहन्छु ।

प्रकाशित मितिः   २५ जेष्ठ २०७४, बिहीबार १३:१७