प्रदेश समृद्धिको सपना जोडिएको ‘कर्णाली करिडोर’

सुर्खेत: कर्णाली करिडोरलाई प्रदेशको गौरवको योजनाको रूपमा हेरिएको छ । विकासका हरेक पक्षबाट पछाडि परेको कर्णाली प्रदेशको उन्नतिका लागि निर्माण सुरु गरिएको कर्णाली करिडोरलाई यहाँका बासिन्दाले आफ्नो भाग्य र भविष्यसँग जोड्ने गरेका छन् । ‘साउथ एन्ड नर्थ एक्सिस गोर्थ’ का रूपमा लिइएको कर्णाली करिडोरले नेपाल, चीन र भारत जोड्ने छ । तर यो आयोजना निर्माणमा ढिलाइ हुँदा विभिन्न आंशका पैदा भएका छन् ।

कर्णाली करिडोरको बाँकेको जमुनाहदेखि सुर्खेत, दैलेख, कालीकोट, बाजुरा हुँदै हुम्लाको सिमीकोटदेखि चीनको सीमा क्षेत्र हिल्सासम्मको दुरी ६ सय ८२ किलोमिटर छ । प्रदेशको राजधानी वीरेन्द्रनगरदेखि हुम्लाको हिल्सासम्म चार सय १० किलोमिटर रहेको छ । कर्णालीवासीको आशाको केन्द्रका रूपमा रहेको कर्णाली करिडोर कालीकोटको नरहरिनाथ गाउँपालिका–८ खुलालुदेखि हुम्लाको सलिसल्लासम्मको एक सय ९६ किलोमिटर सडकको ट्रयाक खोल्ने जिम्मा पाएको नेपाली सेनाले खोलिसकेको छ ।

 

नयाँ ठेक्का सम्झौता

आयोजनाअन्तर्गतको काम निर्माणका लागि नयाँ ठेक्का सम्झौता हुनेछ । सरकारले बहुचर्चित कर्णाली करिडोर (खुलालु–हिल्सा) सडकका लागि ६ अर्ब ११ करोड १७ लाख बजेटको स्रोत सुनिश्चित गर्दै ठेक्का लगाउन सडक विभागलाई सहमति दिएको छ । यसअघि ठेक्का लागेर काम भइरहेको सडक खण्डबाहेक कालीकोटको खुलालु–कोट, भुक्का खोला–पिलुचौर र हुम्लाको तुम्च–सल्लीसल्लासम्म ४१ किलोमिटरको स्तरोन्नतिका लागि तीन अर्ब १५ करोड एक लाख बजेट सुनिश्चित भएको हो ।

यस्तै उत्तर–दक्षिण हिल्सा–सिमकोट सडक आयोजना अन्तर्गत हुम्लाको खार्पुनाथदेखि खरिखेत र खरिखेतदेखि सल्लीसल्लासम्म १९ किलोमिटर लागि दुई अर्ब ३३ करोड ७३ लाख बजेटमा ६० किलोमिटर स्तरोन्नतिका लागि ठेक्का लगाउन अर्थ मन्त्रालयले सडक विभागलाई सहमति दिएको खुलालु–सल्लीसल्ला सडक आयोजना प्रमुख बिसुन्दास लामाले बताए ।

कर्णाली करिडोरलाई दुई लेनसहित कालोपत्र गर्न स्रोत सुनिश्चित गरेकोले छिट्टै ठेक्का लगाएर काम सुरु हुने उनले बताए । कालीकोटको खुलालुदेखि हुम्लासम्म विभिन्न खोलामा ६ वटा सडक पुलका लागि ६२ करोड ४३ लाख बजेट छ । पुल नहुँदा खोलाबाट जोखिमपूर्ण रूपमा सवारी र मालबाहक गाडी तार्नुपर्ने बाध्यता छ । करिडोरको रहगाड खुलालु खोला, सान्नीगाड, फूगाड, बाजुराको भुक्का खोला, क्वाडीलगायतका ठाउँमा पुल निर्माण हुने छन् ।

सडक विभागले यसअघि कर्णाली करिडोरको बाजुराको पिलुचौरदेखि हुम्लाको कुवाडी खोलासम्म ५० किलोमिटर स्तरोन्नतिका लागि चार अर्बको लागतमा ठेक्कामार्फत काम गरिरहेको छ । अर्थ मन्त्रालयले सडक विभागलाई स्रोत सुनिश्चिततासँगै कार्यक्रम कार्यान्वयनको लागि स्रोत सहमति दिएको हो । आगामी असारभित्र सडक विभागअन्तर्गतका सडक योजना कार्यालयले बहुवर्षीय ठेक्का लगाइ सक्नुपर्ने छ । आगामी दुई वर्षभित्र सबै काम सम्पन्न हुने गरी ठेक्का प्रक्रिया अघि बढाइने आयोजना प्रमुख लामाले बताए ।

सुदूरपश्चिमको बाजुरा र कर्णालीका बासिन्दाको लाइफ लाइन मानिएको कर्णाली करिडोर बजेट अभाव र कामको ढिलासुस्तीले ट्रयाक खुल्नै डेढ दशक लागेको थियो । करिडोरको कालीकोटको खुलालुदेखि हुम्लाको सल्लीसल्ला एक सय २३ र त्यसमाथिको चट्टानी भाग सात गरी एक सय ३० किलोमिटर सडक नेपाली सेनाले ट्रयाक खोलेको हो । त्यसभन्दा माथि हुम्ला हुँदै हिल्सासम्म एक सय ३९ किलोमिटरमा सडक विभागले ठेक्कामार्फत निर्माण गरेको बाजुरास्थित कर्णाली करिडोर सडक योजना कार्यालयले जनाएको छ ।

भारतको जमुनाहादेखि चीनको हिल्सासम्म कूल पाँच सय आठ किलोमिटर लम्बाईमध्ये खुलालुदेखि हिल्सासम्म तीन सय ४७ किलोमिटर सडक पर्छ । कर्णाली करिडोरमा पर्ने कालीकोटको फुगाड जलविद्युतको कारण हालको केही सडक डुबानमा पर्ने भएकाले फुगाड हाइड्रोले नयाँ ट्रयाकका लागि सर्वेक्षण सुरु गरेको छ । डुबान हुने ठाउँमा अर्को ट्रयाक नबनेसम्म मर्मत सम्भारको काम मात्र हुनेछ भने डुबान हुने क्षेत्र छाडेर स्तरोन्नतिका लागि ठेक्काको प्रक्रिया अघि बढाइने तयारी भइरहेको छ । २०५६ सालमा शिलान्यास गरिएको यो करिडोरको निर्माण २०६६ सालसम्म सडक विभाग आफैले गर्ने तयारी गरिरहेको थियो । तर कालीकोट र हुम्लाका अधिकांश भागमा ठूलठूला चट्टान र पहराका कारण २०७१ मा नेपाली सेनाले निर्माणको जिम्मा पाएको थियो । नेपाली सेनाले जिम्मा लिएसँगै कामले गति लिएको छ ।

प्रकाशित मितिः   ५ जेष्ठ २०८३, मंगलवार १०:२२