चर्चामा सीमित विमानस्थल
सुर्खेत: केही वर्षयता सुर्खेतमा प्रादेशिक विमानस्थल निर्माणको विषय सरकारको हरेकजसो नीति तथा कार्यक्रम र बजेटमा समेत छुट्दैन । नीति तथा कार्यक्रम र बजेटमा आइरहने यो आयोजनाले अहिलेसम्म पूर्णता पाउन भने सकेको छैन । यद्यपि, संघीय सरकारको आगामी बजेटमा पनि प्रादेशिक विमानस्थलको विषयले स्थान पाएको छ । संघीय सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमा सुर्खेतमा प्रादेशिक विमानस्थल विकास गरिने जनाइएको छ । तर संघीय सरकारले उल्लेख गरेको प्रादेशिक विमानस्थल वीरेन्द्रनगरस्थित विमानस्थलको कुरा हो या भेरीगंगामा प्रस्तावित विमानस्थल भन्नेमा अन्योल देखिन्छ ।
यसअघि भेरीगंगा नगरपालिकाको रामघाटमा प्रादेशिक प्रस्तावित विमानस्थलको अध्ययन भएको थियो । विमानस्थल निर्माणका लागि पूर्वसम्भाव्यता अध्ययन तथा वातावरणीय प्रभाव मूल्यांकन (इआईए) पनि गरिएको छ । तर, यसको काम अघि बढ्न सकेको छैन । हरेक वर्षजस्तो सुर्खेतमा प्रादेशिक विमानस्थल निर्माणको विषयले चर्चा पाइरहेको हुन्छ । वीरेन्द्रनगरमा रहेको सुर्खेत विमानस्थल विस्तार गरेर प्रादेशिक रूपमा सञ्चालन गर्ने वा प्रस्तावित भेरीगंगामा विमानस्थल बनाउने भन्ने विषय पेचिलो बन्दै गएको छ । कर्णाली प्रदेश सरकार भने सुर्खेत विमानस्थललाई विस्तार गरेर प्रादेशिक रूपमा सञ्चालन गर्ने योजनामा छ । तर संघीय सरकारले भेरीगंगाको विमानस्थललाई आफ्नो योजनामा समावेश गर्दै आएको छ । कर्णाली प्रदेशमा अहिलेसम्म पनि प्रादेशिक विमानस्थल बनेको छैन । विमानस्थल विकासको विषयमा राजनीतिकरण हुँदा यो आयोजनालले पूर्णता पाउन नसकेको हो ।
हाल सुर्खेत विमानस्थलमा बुद्ध एअर र श्री एअरका ७२ र ८० सिटका जहाजले दैनिक तीन उडान गर्दै आएका छन् । यहीबाट साना जहाजले कर्णालीका हिमाली जिल्लामा सामान ढुवानीको काम पनि गर्छन् । प्रदेशको राजधानी बनेपछि सुर्खेत विमानस्थलमा यात्रुको चाप बढेको छ । उडान पनि थपिएको छ । तर विमानस्थलको धावनमार्ग पर्याप्त छैन । ७२ सिट क्षमताको जहाज अवतरण र उडानका लागि एक हजार पाँच सय मिटर लामो धावनमार्ग अनिवार्य मानिन्छ । अहिलेको धावनमार्ग एक हजार दुई सय ५५ मिटर मात्र छ । अन्य उपकरण, टर्मिनल भवन, प्रतिक्षालयलगायतका संरचना विस्तार पनि आवश्यक रहेको बताइन्छ । विमानस्थल विस्तार र स्तरोन्नतिको चर्चा विगतदेखि चल्दै आएपनि अघि बढ्न सकेको छैन । त्यसमाथि सुर्खेत विमानस्थल विस्तार र स्तरोन्नति गर्ने वा सुर्खेतकै भेरीगंगामा प्रादेशिक विमानस्थल निर्माण अघि बढाउने भन्ने अन्योलता देखिएको छ । प्रदेश सरकारले सुर्खेत विमानस्थललाई नै विस्तार गर्ने योजना बनाएको प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल बताउँछन् । उनले प्रदेशकै विमानस्थल भएकाले संघीय सरकारसँग समन्वय गरेर काम गरिने जनाएका छन् ।
सुर्खेत विमानस्थल मात्र होइन कर्णालीका अन्य विमानस्थल पनि निर्माण होइन चर्चामा सीमित बनेका छन् । दैलेखमा विमानस्थल निर्माणको चर्चा हुन थालेको निकै अघिदेखि हो । महावु गाउँपालिका–२, मानन्चौरमा विमानस्थल निर्माणका लागि २०४८ सालमा नै पूर्वसम्भाव्यता अध्ययन गरिएको थियो तर त्यति बेला गरिएको अध्ययनको प्रतिवेदन हालसम्म पनि सार्वजनिक हुन सकेको छैन । महावुसहित जिल्लाका तीन स्थानीय तहका विभिन्न स्थानमा विमानस्थल निर्माणका लागि पहल थालिए पनि काम अघि बढेको छैन । नारायण नगरपालिकाको धिताहा, महावु गाउँपालिकाको मानन्चौर र दुल्लू नगरपालिकाको ठाडोलेखमा विमानस्थल निर्माण प्रारम्भिक अध्ययन र छलफल भएको थियो । यो विषय अहिले भने ओझेलमा परेको छ । पछिल्ला वर्षमा पनि दैलेखमा विमानस्थल बनाउनुपर्ने माग र चर्चा चलिरहन्छ ।
२०७३ सालमा दुल्लू नगरपालिका–५ को ठाडोलेखमा विमानस्थल बन्ने कुरा चर्चामा थियो । त्यतिबेला त्यहाँका नागरिक उत्साहित बने । अहिले उक्त कुरा चर्चा हुन समेत छोडेको छ । त्यति बेला नगरपालिकाका दुई÷तीन स्थानमा विमानस्थल निर्माणका लागि भनेर सम्भाव्यता अध्ययन गर्ने कुरा गरिए पनि काम अघि बढ्न सकेन ।
यस्तै, कर्णाली प्रदेशको अर्को जिल्ला जाजरकोटमा पनि विमानस्थल निर्माणको योजना चर्चामै सीमित हुँदै आएको छ । भेरी नगरपालिका वडा नं. १ वडालेखमा विमानस्थल निर्माण कुरा चलेको हो । अहिले उक्त विषय ओझेलमा परेको छ । विमानस्थल बनाउनुपर्ने चर्चा र छलफल भएपनि थप प्रक्रिया भने अघि बढ्न सकेन । कर्णालीका जिल्लाहरू पर्यटकीय हिसाबले महŒवपूर्ण छन् । नाजुक सडक, हवाई उडान नहुँदा पर्यटकको रोजाई बन्न सकिरहेको छैन ।
प्रकाशित मितिः २ जेष्ठ २०८३, शनिबार ०७:५८
रजनी याेगी ।