नतिजामा सुधार
कर्णालीको शैक्षिक नतिजा सुधार हुँदै गएको छ । विगतको भन्दा नतिजामा क्रमिक सुधार हुँदै गएको हो । २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा कर्णालीले अघिल्लो वर्षको तुलनामा ६ प्रतिशतले सुधार गरेको छ । २०८१ सालको एसईईमा कर्णालीमा उत्तीर्ण प्रतिशत ५६.७८ भएकोमा यस पटक ६ प्रतिशतले सुधार गरी ६५.९८ प्रतिशत भएको हो । जबकी २०८० सालको एसईईमा ४१.५३ प्रतिशत मात्रै उत्तीर्ण नतिजा आएको थियो । गत वर्ष १४ प्रतिशतले नतिजामा सुधार भएको थियो । यस वर्ष कर्णाली प्रदेशका १० जिल्लाबाट ३३ हजार तीन सय ३६ जना परीक्षार्थीले एसईई दिएका थिए । जसमध्ये १३ हजार दुई सय ४१ जना उत्तीर्ण भएका छन् ।
यसपटकको नतिजाको रोचक तथ्य के पनि छ भने कर्णालीमा सुगमभन्दा दुर्गमका विद्यालयले सुधार गरेको देखिएको छ । रुकुमपश्चिम, मुगु, जाजरकोट, सल्यान, कालीकोट, जुम्लाजस्ता दुर्गम जिल्लाको उत्तीर्ण प्रतिशत सुधार भएको छ भने सुगम मानिएका सुर्खेत, दैलेख पछाडि परेका छन् । १० जिल्लामध्ये सबैभन्दा बढी उत्तीर्ण प्रतिशत रुकुमपश्चिम जिल्लाको छ । रुकुमपश्चिममा ७९.३४ प्रतिशत विद्यार्थी उत्तीर्ण भइ प्रदेशकै सबैभन्दा बढी विद्यार्थी उत्तीर्ण गराउने जिल्ला भएको छ । रुकुमपश्चिमपछि दोस्रोमा मुगुको ७५.९० प्रतिशत र तेस्रोमा कालीकोटको ७३.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यसैगरी चौथोमा सल्यान र जुम्लाको करिब समान प्रतिशत रहेको छ । सल्यानको ६८.५२ तथा जुम्लाको ६८.१७ प्रतिशत परीक्षार्थी उत्तीर्ण हुँदा पाँचौमा रहेको सुर्खेतको ५८.१९ प्रतिशत, डोल्पाको ४६.६९ प्रतिशत र सबैभन्दा कम दैलेखको ३१.८२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
प्रदेश सरकारले समेत शैक्षिक गुणस्तरमा सुधार गर्ने नीति अबलम्वन गरेको छ । त्यसका लागि विभिन्न योजना कार्यान्वयनमा छन् । शिक्षण सिकाइमा प्रविधिको प्रयोगले पनि शिक्षा सुधार हुँदै गएको विश्लेषण सरोकारवालाहरूको छ । नतिजा सुधार हुनुमा विद्यालय, विद्यार्थी, शिक्षक, अभिभावकलगायत सरोकारवाला पक्षको योगदान रहन्छ । परीक्षा र शिक्षण सिकाइ विधिमा पनि सुधार आउनु, स्थानीय तह, प्रदेश तथा संघीय सरकारको अनुगमन, सुपरिवेक्षण प्रभावकारी देखिनु, पूर्वाधार र सूचना प्रविधिको प्रयोगमा वृद्धि हुनुलाई एसईईको नतिजामा सुधार आउने कारण मान्न सकिन्छ । यसका साथै कतिपय विद्यालयले आफ्ना कमजोर विद्यार्थीलाई अतिरिक्त कक्षा सञ्चालन गर्नु, विद्यालय व्यवस्थापन समितिले पनि नतिजा सुधारका लागि विभिन्न क्रियाकलाप गरी महङ्खवपूर्ण योगदान दिएको देखिन्छ । यद्यपि, कर्णाली प्रदेश सरकारले शिक्षा क्षेत्रमा पर्याप्त बजेट लगानी गर्न भने सकेको छैन । विगतका वर्षहरूमा पनि सरकारले न्यून बजेट विनियोजन गर्ने गरेको थियो । शिक्षाजस्तो महङ्खवपूर्ण क्षेत्रमा बजेट विनियोजन गर्दा समेत सरकारको ध्यान जान जरुरी देखिन्छ ।
प्रकाशित मितिः १ जेष्ठ २०८३, शुक्रबार ०५:०३
रजनी याेगी ।