जडिबुटीको उपयोग
अनेकौँ किसिमका जडिबुटी उत्पादन हुनेभएकाले कर्णाली प्रदेशलाई जडिबुटीको राजधानीका रूपमा चिनिन्छ । सरकारले कर्णालीलाई जडिबुटीको क्षेत्र भनेर केही वर्षअघि नै घोषणा गरिसकेको भएपनि त्यसको उपयोग गर्नेतर्फ ठोस काम हुन सकेको छैन । कर्णालीमा एक सय ४७ जडिबुटी पाइन्छन् तर संकलन र प्रशोधन केन्द्र नहुँदा ती जडिबुटीको सदुपयोग हुन सकेको छैन । बजारीकरणमा पनि सरकारले बेवास्ता गरिरहेको छ । हिमाली जिल्लाबाट संकलन गरेर ल्याएको जडिबुटी स्थानीय सस्तोमै बिक्री गर्न बाध्य छन् । हिमाली जिल्लाबाट चर्को हवाई भाडा तिरेर जडिबुटी नेपालगञ्ज र सुर्खेत ल्याउनुपर्ने बाध्यता भएको कृषक बताउँछन् । जडिबुटी संकलन तथा भण्डारण केन्द्र नहुँदा संकलन गरेर ल्याएको जडिबुटी सड्ने र गुणस्तर कायम गर्न निकै चुनौती हुने व्यवसायीको गुनासो छ ।
जडिबुटीको प्रचूर सम्भावना बोकेको प्रदेश त्यसको उपयोग गर्न नसक्दा विकासको हरेक दृष्टिबाट पछाडि धकेलिएको छ । कर्णालीमा जडिबुटी प्रशोधन केन्द्रसमेत छैन । संघीयता कार्यान्वयन भएको दशक पुग्न लागिसक्दासम्म पनि प्रदेश सरकारले जडिबुटी प्रशोधन केन्द्र निर्माण गर्न सकेको छैन । प्रदेशमै जडिबुटी प्रशोधन केन्द्र नहुँदा कौडीका भरमा जडिबुटी बिक्री हुनेगरेको छ । चालु आर्थिक वर्षमा समेत जडिबुटी प्रशोधन केन्द्र निर्माणका लागि बजेट छुट्याइएको थियो । साझेदारीमा प्रशोधन केन्द्र निर्माण गर्नेयोजना बनाइएको भएपनि काम सुरु हुन सकेको छैन । जडिबुटी खेती प्रवद्र्धन गरेर कर्णालीमा उत्पादित जडिबुटीलाई व्यवस्थित रूपमा बिक्रीवितरण गर्न विभिन्न कार्यक्रम कार्यान्वयन भइरहेको छ । जडिबुटीबाटै कर्णालीको आर्थिक समृद्धि सम्भव रहेको भन्दै प्रशोधन केन्द्र निर्माण गरेर जडिबुटी संरक्षणका योजना राखिएको छ । तर बनेका योजना कार्यान्वयन हुन सकेका छैनन् । वनस्पति विज्ञहरूका अनुसार कर्णालीमा हावापानी तथा जलवायु राम्रो र मानवीय चाप कम भएकाले धेरै मात्रामा जडिबुटी उत्पादन हुने गरेका छन् । यहाँबाट ७९ प्रकारका जडिबुटी निर्यात गरिन्छ । कर्णालीमा एक सय ४७ जातको जडिबुटी पाइने अनुमान गरिए पनि प्रशोधन भण्डारणका लागि नेपालगञ्ज लैजानुपर्ने बाध्यता छ । प्रदेश सरकारले समयमा नै जडिबुटी प्रशोधन केन्द्र निर्माण गर्न सकेको छैन ।
कर्णालीका अधिकांश जडिबुटी बाह्य देशमा निर्यात हुँदै आएको छ । सरकारी तथ्यांकअनुसार वार्षिक रूपमा करिब १२ हजार मेट्रिक टन जडिबुटी कर्णालीबाट निर्यात हुँदै आएको छ । ती सबै जडिबुटी प्रशोधनबिना नै कच्चापदार्थका रूपमा निर्यात हुने गरेको कर्णाली प्रदेश वन निर्देशनालयले जनाएको छ । कच्चापदार्थका रूपमा मात्र बहुमूल्य जडिबुटी प्रदेशबाट बाहिर निर्यात हुँदा यसबाट जति लाभ लिन सक्नुपर्ने हो त्यसको निकै थारै मात्र प्राप्त भएको जनाइएको छ । प्रदेशमै कच्चापदार्थको प्रशोधन गरी तयारी सामग्री अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी मूल्यमा मात्र निर्यात गर्नसके आम्दानीको थप स्रोतसमेत प्राप्त हुन सक्दछ ।
प्रकाशित मितिः ३१ बैशाख २०८३, बिहीबार १०:१५
सम्पादकीय ।