प्रदेश सरकार परिवर्तनको चर्चा
सुर्खेत: कर्णाली प्रदेश सरकार फेरबदलको चर्चा हुन थालेको छ । प्रदेशमा सत्तासाझेदार दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नै सरकार परिवर्तनको संकेत गरेका छन् ।
सोमवार वीरेन्द्रनगरमा आयोजित पार्टीको कर्णाली प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै थापाले प्रदेशमा सरकारको नेतृत्व परिवर्तन गर्नुपर्ने बेला भएको अभिव्यक्ति दिएका छन् । ‘नेकपा एमाले र हाम्राबीच भएको समझदारीको आधारमा कर्णाली प्रदेशमा हामीले नेतृत्व गरेर सरकार चलाउने बेला आएको छ,’ उनले भनेका थिए, ‘हाम्रो नेतृत्वमा हामी सरकार चलाउँछौँ ।’
सभापति थापाले अर्कोपटक सुर्खेत आउँदा कांग्रेस नेतृत्वको सरकार बन्नेतर्फ समेत संकेत गरे । ‘मैले सरकार फेरबदलको कुरा गर्दै गर्दा तपाईंहरूले थपडी बजाउनु भएको छ । फेरि आएको बेलामा हाम्रो नेतृत्वको कर्णाली सरकारले कर्णालीको हितमा यो–यो काम ग¥यो भनेर मुख्यमन्त्रीले बोल्दै गर्दा त्यहाँ बसेर मैले र विश्वप्रकाशले थपडी बजाउन पाउनुपर्छ ।’
सभापति थापाले कर्णाली प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बन्ने दोहोर्याउँदै आफूहरूलाई ‘डेलिभरी’ बाहेक केही पनि नचाहिएको बताए । ‘सरकार बन्ने कुरा हामीलाई छोडिदिनुस् । बन्छ,’ उनले भने, ‘तर, सरकार बनिसकेपछि हामीलाई डेलिभरी चाहियो । हामीलाई केही पनि चाहिँदैन ।’
कर्णालीमा कांग्रेस र एमालेबीच सत्तासमीकरण छ, जसअनुसार एमालेबाट यामलाल कँडेल मुख्यमन्त्री छन् । गत फागुनमा भएको निर्वाचनको नतिजापछि संघीय सरकार फेरबदल भएपनि प्रदेशमा भने कांग्रेस–एमाले गठबन्धन यथावत छ । यद्यपि पालैपालो सरकारको नेतृत्व गर्ने सहमतिअनुसार अब नेतृत्व बदल्ने चर्चा चलिरहेको छ ।


साझा बिसौनी ।