जलवायुसँग जुध्ने नीति
कर्णाली प्रदेश जलवायु परिवर्तनको चपेटामा छ । जसको असर कृषि क्षेत्रमा देखिन थालेको छ । समयमा पानी नपर्नु, नयाँ–नयाँ रोगहरू कृषि क्षेत्रमा देखिनाले पछिल्लो समय उत्पादनभन्दा लागत खर्च बढी लाग्ने गरेको छ । नयाँ प्रजातिका वनस्पतिको फैलावट तथा रोग र किराको प्रकोपमा वृद्धिजस्ता समस्याहरू कृषिमा देखापर्दा कृषकहरू प्रत्यक्ष प्रभावित भएका छन् । एकातिर जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव कृषि उत्पादनमा परिराखेको छ भने अप्रत्यक्ष प्रभाव आय र अन्नको बढ्दो मूल्यसँग सम्बन्धित छ । जलवायु परिवर्तनका कारण कृषिमा बढी असर पर्दा कृषक चिन्तित बनेका छन् । पहिले जैविक मल मात्र प्रयोग गरेर पनि राम्रो उत्पादन हुने भए पनि पछिल्लो समय रासायनिक मल राखेर खेती गर्दा पनि लागतअनुसारको उत्पादन नहुने गरेको कृषकहरूको गुनासो छ ।
कृषिको उत्पादकत्व पूर्णरूपमा मौसम, जलवायु तथा पानीको उपलब्धतामा निर्भर हुन्छ । तर जलवायु परिवर्तनले त्यसमा असर पु¥याउँछ । त्यसैले प्रदेश सरकारले जलवायु अनुकुलन योजना निर्माण गरेर सोही किसिमका कार्यक्रम कार्यान्वयन गर्ने योजना बनाएको छ । आगामी आर्थिक वर्षबाट कार्यान्वयन हुनेगरी प्रत्येक मन्त्रालयले जलवायु परिवर्तनका असर न्यूनिकरणसँग जोडेर कार्यक्रम कार्यान्वयनको योजना बनाएका हुन् । अहिले रणनीति योजना निर्माणका लागि छलफल भइरहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ । कर्णाली प्रदेशको जलवायु परिवर्तन रणनीति तथा कार्यविधिको मस्यौदामाथि छलफल भइरहेको हो । रणनीति योजनाको सैद्धान्तिक सहमतिका लागि मन्त्रालयहरूमा फाइल पेस गरिएको छ । सरकारले चालु आर्थिक वर्षदेखि रणनीति योजना निर्माणको काम सुरु गरेको हो । जलवायु परिवर्तनको जोखिम दिनप्रतिदिन बढ्न थालेपछि सरकारले विशेष योजना निर्माण गरेर कार्यक्रम कार्यान्वयन गर्न लागेको हो । जलवायु परिवर्तनको सबैभन्दा बढी असर कृषि क्षेत्रमा देखिएको छ । कृषकहरूले समेत जलवायु अनुकुलनका कार्यक्रम कार्यान्वयन गर्न समेत माग गर्न थालेका छन् । सरकारले पनि सोही किसिमका कार्यक्रम कार्यान्वयन गर्नका लागि रणनीतिक योजना निर्माण गर्न लागेको छ ।
दश वर्षका लागि निर्माण गरिने रणनीतिक योजना निर्माणका लागि छ । रणनीति योजनाको मस्यौदा तयार भइसकेको छ । आगामी आर्थिक वर्षबाट कार्यान्वयन गर्नेगरी योजना निर्माण भएको हो । खेतियोग्य जमिनमा पूर्वाधार निर्माण गर्न रोक लगाउने नीतिसमेत सरकारले अबलम्वन गरेको छ । सोही नीति अनुरूप जलवायु अनुकुलनका कार्यक्रम सञ्चालन गरिने छ । प्रदेशका विभिन्न मन्त्रालय र मातहतका कार्यालयहरूबाट समेत जलवायु अनुकुलनका कार्यक्रम सञ्चालन गर्न लागिएको हो । जलवायु परिवर्तनको प्रभाव नियन्त्रण गर्न योजनावद्ध लगानी र कार्यक्रम अपरिहार्य मानिएको छ ।
प्रकाशित मितिः २८ बैशाख २०८३, सोमबार ०५:०३
सम्पादकीय ।