हुलाकमार्फत घरदैलोमै राहदानी

सुर्खेत: सुर्खेतमा पनि सेवाग्राहीको घरदैलोमै पुगेर राहदानी वितरण गर्न थालिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले हुलाक निर्देशनालयका कर्मचारीमार्फत सेवाग्राहीकै दैलोमा राहदानी पु¥याउने व्यवस्था मिलाएको हो ।
राहदानी घरमै पु¥याउने सेवाका लागि जिल्ला प्रशासन कार्यालय र हुलाक निर्देशनालय सुर्खेतबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । जिल्ला प्रशासन कार्यालय, सुर्खेतका तर्फबाट प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्याय तथा हुलाक निर्देशनालय सुर्खेतका तर्फबाट हुलाक निर्देशक गोविन्दप्रसाद पाण्डेले शुक्रवारदेखि सेवा सुरु गर्नेगरी हस्ताक्षर गरेका छन् ।
नेपाल सरकारले अघि सारेको शासकीय सुधारका एक सय बुँदे सूचीमध्ये २७ नम्बर बुँदामा ‘घरमै राहदानी उपलब्ध गराउने’ घोषणा गरिएको थियो । सोही नीतिलाई कार्यान्वयन गर्दै बिहीवारदेखि सुर्खेतमा यो सेवाको सुरुआत गरिएको प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले बताए । ‘सरकारी सेवा घरमै उपलब्ध गराउने सरकारको नीतिअनुसार काम सुरु गरेका छौँ,’ उपाध्यायले भने ‘अब हुलाक निर्देशनालयमार्फत राहदानीलाई घरमै पुगेर उपलब्ध गराउने कामले निरन्तरता पाउनेछ ।’
सम्बन्धित लाभग्राहीले राहदानी बुझे बापत ५५ रूपैयाँ बुझाउनु पर्ने छ भने लाभग्राहीको तीन पुस्ते विवरण बुझेर मात्र उपलब्ध गराइने छ । राहदानी लिनका लागि सदरमुकाम आउनु पर्ने, आउजाउमा रूपैयाँ खर्चिनु पर्ने बाध्यता झेल्दै आएका स्थानीयले घरमै राहदानी पाउने भएपछि राहत महशुस गर्ने छन् ।
प्रशासन कार्यालयले राहदानी विभागबाट राहदानी प्राप्त भएपछि सेवाग्राहीको घरमा पु¥याउन सम्बन्धित व्यक्तिको नाम, ठेगाना र सम्पर्क नम्बर राखेर खामबन्दी गरी हुलाक निर्देशनालय सुर्खेतलाई हस्तान्तरण गर्नेछ । हुलाक निर्देशनालयले राहदानी वितरणको लागि एक सय थान खाममा हुलाक महसुल बापत लाग्ने टिकट टाँसेर जिल्ला प्रशासन कार्यालयको राहदानी शाखामा बुझाउने र राहदानी शाखाबाट घरमै राहदानी बुझ्न चाहने सेवाग्राहीबाट फाराम भरेर हुलाक महसुलको टिकट बापतको रकम असुल गर्नेछ । राहदानी विभागबाट राहदानी प्राप्त भइसकेपछी हुलाक निर्देशनालयले जिल्ला प्रशासन कार्यालयबाट सेवाग्राहीको घरदैलोमा वितरण गर्नेछ ।
प्रकाशित मितिः २५ बैशाख २०८३, शुक्रबार ०५:०१
साझा बिसौनी ।