शिक्षा सुधारका लागि सरकारको ध्यानाकर्षण
सुर्खेत: शिक्षा सुधारका लागि प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीई) कर्णाली प्रदेशले सामाजिक विकास मन्त्री घनश्याम भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
शिक्षा क्षेत्रमा पर्याप्त लगानी सुनिश्चित गर्न माग गर्दै ध्यानाकर्षण गराइएको छ । एनसीई कर्णाली प्रदेशका संयोजक भूपेन्द्र कँडेलले नेपालको संविधानले आधारभूत तथा माध्यमिक शिक्षा निःशुल्क र अनिवार्य बनाएको उल्लेख गर्दै त्यसको प्रभावकारी कार्यान्वयनका लागि पर्याप्त बजेट विनियोजन गर्नुपर्ने मागसहित ध्यानाकर्षण गरिएको बताए । पछिल्ला वर्षहरूमा शिक्षा क्षेत्रमा बजेट घट्दो क्रममा रहेको भन्दै लगानी बढाउन बढाउनुपर्ने एनसीईको माग छ ।
आर्थिक वर्ष २०६७/०६८ मा कुल राष्ट्रिय बजेटको १७ प्रतिशतभन्दा बढी शिक्षा क्षेत्रमा छुट्याइएकोमा हाल त्यो घटेर करिब १०.७५ प्रतिशतमा सीमित भएको उल्लेख छ । प्रदेश र स्थानीय तहमा पनि शिक्षा क्षेत्रमा अपेक्षित लगानी नभएको पाइएको छ । यो वर्ष पनि कर्णाली प्रदेश सरकारको कूल बजेटको तीन दशमलव एक प्रतिशत बजेट मात्र विनियोजन गरिएको छ ।
छुट्टयाएको बजेट पनि पूर्वाधार क्षेत्रमा कार्यान्वयन हुने गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । ध्यानाकर्षणपत्र बुझ्दै सामाजिक विकास मन्त्री भण्डारीले शिक्षालाई प्राथमिकतामा राखेर बजेट नीति तथा कार्यक्रम बनाइने उल्लेख गरे । उनले शिक्षा सुधारका लागि दश वर्षे रणनीति निर्माण गर्न लागिएको जानकारी दिए ।
प्रकाशित मितिः २५ बैशाख २०८३, शुक्रबार ०५:००
साझा बिसौनी ।