देउवा बने चौथो पटक प्रधानमन्त्री

काठमाडौं, २३ जेठ ।
कांग्रेस सभापति शेरबहादुर देउवा नेपालको ४० औं प्रधानमन्त्री बनेका छन् । मंगलवार अपरान्ह व्यवस्थापिका संसदमा भएको प्रधानमन्त्रीको निर्वाचनमा उनी तीन सय ८८ मत ल्याउँदै विजयी बनेका हुन् । देउवा गणतान्त्रिक व्यवस्थाको दसौं तथा आफ्नो जीवनमा चौथो पटक प्रधानमन्त्री बनेका हुन् ।
पाँच सय ५८ सांसद उपस्थित संसदमा देउवाको विपक्षमा एक सय ७० मत परेको छ । यसअघि उनी, वि.सं. २०५२, वि.सं. २०५८ र वि.सं. २०६१ सालमा प्रधानमन्त्री बनेका थिए । २०६१ साल माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले देउवालाई ‘कु’ गरेर प्रधानमन्त्रीबाट बर्खास्त गरेका थिए । त्यसको ठीक १२ वर्ष चार महिनापछि देउवा प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।
देउवालाई कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी नेपाल, नेपाल लोकतान्त्रिक पार्टी, अखण्ड नेपाल पार्टी, समाजवादी जनता पार्टी, नेकपा संयुक्त लगायत पार्टीका सांसदहरूले समर्थन गरेका थिए ।
को हुन् देउवा ?
देउवा वि.सं. २००३ साल जेठ ३१ गते डडेल्धुराको असीग्राममा जन्मिएका हुन् । उनका बुबा श्रीप्रसाद सिंह देउवा र आमा द्रोपदीदेवी हुन् । नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका देउवा नेविसंघका पहिलो अध्यक्ष हुन् । २०४६ सालबाट संसदमा प्रवेश गरेका देउवा प्रजातन्त्र स्थापनापछिका तीनवटै संसदीय निर्वाचन र २०६२÷०६३ पछि भएका दुई वटा संविधानसभा निर्वाचनसमेत लगातार विजयी भए ।
२०४८ मा गृहमन्त्रीको रूपमा सिंहदरवार प्रवेश गरेका देउवालाई २०५२ सालमा प्रधानमन्त्रीका रूपमा सिंहदरवार छिरे । २०५२ भदौ २७ गते पहिलो पटक प्रधानमन्त्री बनेका देउवाले प्रधानमन्त्रीको कार्यभार २०५३ फागुन २९ गतेसम्म सम्हाले । पाँच वर्षपछि उनी पुनः प्रधानमन्त्री भए । सत्ताको दोस्रो इनिङ्समा २०५८ साल साउन ११ गतेदेखि २०५९ असोज १८ गतेसम्म देउवा टिकेका थिए । उनको दोस्रो इनिङ्स निकै विवादास्पद बन्यो ।
२०५९ साल माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले संसद भङ्ग गरी देउवालाई प्रधानमन्त्रीबाट हटाएका थिए । संसद् विघटनको विषयमा कांग्रेसभित्र तीव्र आलोचना देउवाले खेप्नुपरेको थियो भने पार्टीभित्रै देउवाले प्रजातन्त्र राजालार्ई बुझाएको भन्दै विवादमा परेका थिए । पार्टीभित्र आन्तरिक द्वन्द्व बढ्दै गएपछि देउवाले २०५९ सालमा पार्टी फुटाए र नेपाली कांग्रेस ‘प्रजातान्त्रिक’ को गठन गरे ।
पार्टी फुटाए लगत्तै उनी फेरि प्रधानमन्त्री भए । राजा ज्ञानेन्द्रले सुरुमा ‘असक्षम’ घोषणा गरेका देउवालाई २०६१ सालमा फेरि प्रधानमन्त्री बनाए । प्रधानमन्त्रीको तेस्रो कार्यकाल उनले २०६१ जेठ २१ देखि २०६१ माघ १९ सम्म सम्हाले । शाही शासनकालमा तीन पटक प्रधानमन्त्री भएका देउवा गणतन्त्र स्थापनापछि १० औं प्रधानमन्त्रीका रूपमा पुनः सत्तामा पुनरागमन गरेका हुन् । मुलुकको ४० औं प्रधानमन्त्रीका रूपमा देउवाले सत्ताको चौथो इनिङ्स सम्हालेका छन् ।
कांग्रेस राजनीतिमा देउवा
शेरबहादुर देउवाले १० औं महाधिवेशनमा पार्टीको नेतृत्व सम्हाल्ने आकांक्षा व्यक्त गरे । गिरिजाप्रसाद कोइरालासँग भिडेका उनी सभापति हुन सकेनन् । २०५९ सालमा पार्टी फुटाएर नेपाली कांग्रेस प्रजातान्त्रिकको सभापति बने । ११ औं महाधिवेशनपछि पार्टी एकीकरण भएपछि उनले २०६४ सालमा कांग्रेसको वरिष्ठ नेताको जिम्मेवारी पाए ।
१२ औं महाधिवेशनमा सुशील कोइरालासँग लडेका उनी पुनः पराजित भए । १३ औं महाधिवेशनबाट उनी कांग्रेसको सभापतिमा उदाए । उनी सभापतिका अर्का प्रत्यासी रामचन्द्र पौडेललाई हराउँदै पहिलो पटक कांग्रेसको सभापति बन्न सफल बनेका हुन् । देउवाले १८ सय २२ मत ल्याए भने निकटतम प्रतिद्वन्द्वी पौडेलले १२ सय ९६ मत प्राप्त गरे । शेरबहादुर देउवाले राजनीतिक शास्त्रमा स्नातकोत्तर अध्ययन गरेका छन् भने व्यवस्थापनमा समेत स्नातकोत्तर गरेका छन् ।

प्रकाशित मितिः   २४ जेष्ठ २०७४, बुधबार १५:१९