चौकुने हरित गाउँपालिका बन्ने

सुर्खेत, २३ जेठ ।
पश्चिम सुर्खेतको चौकुने गाउँपालिकालाई हरित गाउँपालिकाको रूपमा विकास गरिने भएको छ । गाउँपालिका क्षेत्रभित्र रहेका खाली जमिनमा वृक्षारोपण गरी हरित गाउँपालिका गराउने गाउँपालिकाको पहिलो बैठकले निर्णय गरेको हो ।
बैठकमा काठ कटानी तथा निकासीमा रोक लगाउने, पुराना कानुनी प्रक्रिया पूरा गरी कटान भइ निकासीका लागि तयार भएको काठ छानविन गरी कानुनसम्मत् निकासी गर्ने तथा अन्यथा हुन गएमा जफत गर्नेसमेत जनाएको छ । गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष धिरबहादुर शाहीको अध्यक्षतमा बसेको बैठकले १३ वटा निर्णय गरेको छ ।
त्यसैगरी गाउँपालिकाको प्रत्येक वडाका बस्ती र टोलमा स्वच्छ खानेपानी उपलब्ध गराउने निर्णय पनि गरिएको छ । उक्त खानेपानीका लागि स्रोत र साधनको सम्भाव्यता अध्ययन गर्ने र आवश्यक प्रक्रिया अगाडि बढाउने जनाइएको छ । नेपाल सरकारले वितरण गर्दै आएको सामाजिक सुरक्षा भत्ता थप व्यवस्थित गरी घर टोल बस्तीमा नै वितरण गर्ने निर्णय पनि गरिएको छ ।
चौकुनेका विभिन्न वडाहरूमा जमिनको स्वामित्व नपाएका सम्बन्धित परिवार र जग्गाको अवस्था पत्ता लगाइ सम्बन्धित वडा कार्यालयमा प्रतिवेदन पेश गर्ने भएको छ । गाउँपालिकाभित्र सञ्चालनमा रहेका विभिन्न आयोजनालाई छिटो भन्दा छिटो सम्पन्न गर्न पहल गर्ने जनाइएको छ । त्यस्तै गाउँपालिकाको क्षेत्रभित्र रहेका खेतीयोग्य जमिनमा सिँचाइ कुलो पु¥याउन सम्भाव्यताको अध्ययन अनुसन्धान गर्ने र योजना बनाइ अघि बढ्ने, गाउँपालिकाको क्षेत्रभित्र रहेका सरकारी तथा गैरसरकारी संघ–संस्थाको अनुगमन गरी यथार्थ अवस्थाको प्रतिवेदन प्रत्येक वडा कार्यालयमा पेश गर्ने निर्णय समेत गरेको छ ।
नेपाल सरकारले बेतानमा कर्णाली जलविद्युत आयोजना सञ्चालन गर्ने निर्णय गरेको र उक्त आयोजनालाई यथाशीघ्र सञ्चालनमा ल्याउन आवश्यक पहल गर्ने र अन्य लघु जलविद्युत आयोजनाको सम्भाव्यता समेत अध्ययन गर्ने जनाइएको छ । गाउँपालिको प्रत्येक वडा कार्यालयको व्यवस्थापनका लागि अर्काे निर्णय नहुने बेलासम्म साविकको गाविस भवन र अन्य वडामा भाडाको घरमा कार्यालय व्यवस्थापन गर्ने भएको छ ।
गाउँपालिकाको विभिन्न स्थानको सुरक्षार्थको अवस्थालाई मध्यनजर गरी प्रहरीचौकी स्थापनाका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने जनाएको छ । त्यस्तै गाउँपालिकाको प्रत्येक वडामा माटो परीक्षण शिविरसमेत सञ्चालन गरिने भएको छ । गाउँपालिकाले विभिन्न वडामा सञ्चालन भइरहेका विभिन्न योजनाको अनुगमन र अवस्था बारे बुझी वडा कार्यालयले आवश्यक प्रक्रियाका लागि अगाडि बढाउनेसमेत निर्णय गरेको छ ।

प्रकाशित मितिः   २४ जेष्ठ २०७४, बुधबार १५:१६