घाँस उत्पादक कृषक पुरस्कृत

सुर्खेत, २३ जेठ । (साबिस)
जिल्ला पशु सेवा कार्यालयले जिल्लाभित्रका उत्कृष्ट घाँस उत्पादक कृषक समूहलाई पुरस्कृत गरेको छ । लेकवेशी नगरपालिका वडा नं. १० सुर्खेतको दीपचन्द्र घाँस विकास समूह साटाखानी पुरस्कृत भएको हो ।
मंगलवार वीरेन्द्रनगरमा उक्त समूहलाई पुरस्कार प्रदान गरिएको हो । उक्त समूहका कृषकलाई नगद पुरस्कार प्रदान गरिएको छ । प्रथम हुन सफल चन्द्रप्रसाद आचार्यले नगद ३० हजार, द्वितीय हुने पर्शुराम भण्डारीले नगद २५ हजार र तृतीय यामप्रसाद आचार्यले नगद २० हजार रूपैयाँ पुरस्कार प्राप्त गरेका छन् । लेकवेशी नगरपालिकाका उपप्रमुख शान्तिकुमार छन्तेलले कृषकहरूलाई पुरस्कार प्रदान गरेकी हुन् ।
कार्यक्रमका अतिथि तथा जिल्ला पशु सेवा कार्यालयका पशु चिकित्सक नारायणप्रसाद न्यौपानेले उक्त समूहले लामो समयदेखि विभिन्न घाँसका बीऊहरू लगाइ यसक्षेत्रका विभिन्न जिल्लामा समेत बिक्रीवितरण गर्न सफल भएको जानकारी दिए । साथै घाँसमा आधारित पशुपालन गर्नुपर्छ भन्ने सन्देश दिन सफल भएकोले नै ठूलो धनराशीको पुरस्कार जित्न सफल भएको उनले बताए ।

प्रकाशित मितिः   २४ जेष्ठ २०७४, बुधबार १५:१५